आनन्द पोखरेल भन्छन्- बागमतीमा एमाले ‘स्ट्रोङ अपोजिशन’ हुन्छ, दलको नेतामा थपलियाको सम्भावना – Nepal Press

आनन्द पोखरेल भन्छन्- बागमतीमा एमाले ‘स्ट्रोङ अपोजिशन’ हुन्छ, दलको नेतामा थपलियाको सम्भावना

हेटौँडा । नेकपा एमालेका केन्द्रीय सदस्य आनन्द पोखरेलले बागमती प्रदेशमा एमालेले सरकार गठनको कुनै तयारी नगरेको बताएका छन् ।

एमाले बागमती प्रदेश कमिटी पूर्व अध्यक्ष समेत रहेका पोखरेलले प्रत्यक्ष र समानुपातिकमा पाएको मतले एमाले प्रमुख प्रतिपक्षको भूमिकामा रहने स्पष्ट भएको बताए ।

उनले भने ‘हामी विरुद्ध गठबन्धन भएर उठेका राजनीतिक दलहरूले यो प्रदेशमा बहुमत ल्याइसकेका छन्, तसर्थ हामीले सरकार गठनबारे सोच निर्माण गरेका छैनौँ, बहुमत प्राप्त दल या गठबन्धनलाई सरकार निर्माण गर्न दिएर हामीहरू ‘स्ट्रोङ अपोजिसन’ मा रहन्छौँ ।’

आफूहरूको बहुमत नआएकोले कुनै पनि राजनीतिक दलसँग सरकार गठनबारे छलफल नगरेको भन्दै पोखरेलले बहुमत ल्याएका दलहरूले आपसमा छलफल गरेर सरकार बनाउने सम्भावना रहेको बताए ।

बाम एकताको हल्ला छ नि भन्ने नेपाल प्रेसको प्रश्नमा पोखरेलले आफूलाई अहिले त्यो विषयमा कुनै जानकारी नआएको बताए । राजनीतिमा जुनसुकै पनि सम्भावना रहने भएकोले केन्द्रीय तहमा हुने निर्णय नै प्रदेश तहमा लागू हुने उनको भनाई छ ।

पोखरेलले एमाले संसदीय दलको नेता कसलाई बनाउने भन्ने विषय स्थायी कमिटीको बैठकले निर्णय गर्ने भन्दै आफूहरूले सो विषयमा सहजीकरण गर्ने बताए ।

उनले भने ‘प्रदेशसभामा प्रत्यक्षमा विजयी भएका सिनियर नेतालाई संसदीय दलको नेता बनाउने कुरा भएको छ सोही अनुसार हुन्छ ।’

प्रत्यक्षमा विजयी भएका नेताहरुमध्ये चितवनबाट विजयी भएका जगन्नाथ थपलिया सबैभन्दा सिनियर रहेकोको कारण उहाँ नै नेता हुने पनि संभावना रहेको पोखरेलले बताए ।

पाँच दलीय गठबन्धन विरुद्ध एक्लै निर्वाचनमा होमिएको एमालेले सम्मानजनक परिणाम ल्याएको भन्दै पोखरेलले एमालेप्रति देशैभर जनलहर रहेको यो निर्वाचनले पुष्टि गरेको बताए ।

देशभरमा पपुलर मतमा एमाले रहनु भनेको एमालेको अजेण्डा विजयी भएको र देशले एमालेको नेतृत्वको सरकार खोजेको प्रष्ट भएको पोखरेलको भनाई रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर