आइएमई कम्पनीले आइपीओ निष्काशन गर्ने – Nepal Press

आइएमई कम्पनीले आइपीओ निष्काशन गर्ने

आइएमई बन्यो नेपालको पहिलो पब्लिक रेमिटेन्स कम्पनी

काठमाडौं । आइएमई कम्पनीलाई आइपीओमा लैजाने प्रस्ताव पारित भएको छ । कम्पनीको २२औँ साधारण सभाले यस्तो प्रस्ताव पारित गरेको हो ।

नेपालको पहिलो एवम् नेतृत्वदायी रेमिटेन्स कम्पनी आइएमईले शुक्रबार काठमाडौँको लाजिम्पाटस्थित होटल ले हिमालयमा सम्पन्न गरेको २२औँ साधारण सभाले उक्त प्रस्ताव पारित गरेको हो । योसंगै आइएमईलाई नेपालको पहिलो पब्लिक रेमिटेन्स कम्पनीको परिचय पनि थपिएको छ ।

साधारण सभामा संक्षिप्त मन्तब्य दिँदै आइएमई ग्रुपका अध्यक्ष एवम् संस्थापक चन्द्रप्रसाद ढकालले आजभन्दा २३ वर्ष अघि निजी क्षेत्रबाट विदेशी मुद्रा नेपाल भित्र्याउने कार्य अत्यन्तै कठीन र चुनौतीपूर्ण छ भन्ने धेरै शुभचिन्तकहरुको सुझाव र सल्लाहकै बाबजुद एउटा सानो स्केलमा आइएमई स्थापना भएको स्मरण गरे ।

अध्यक्ष ढकालले आम सेवाग्राहीबीच आइपीओसहित पहिलो पब्लिक रेमिटेन्स कम्पनीको रूपमा आउन पाउँदा अत्यन्तै खुशी लागेको बताउँदै आइएमईको आजसम्मको व्यवसायिक यात्रामा सहयोग गर्ने सबैलाई धन्यवाद दिए ।

त्यसै गरी कार्यक्रमलाई सम्बोधन गर्दै आइएमईका सहसंस्थापक एवम् प्रबन्ध निर्देशक हेमराज ढकालले विश्व अहिले डिजिटल यूगमा प्रवेश गरेको औल्याउँदै प्रतिस्पर्धी बजारमा कम्पनीलाई अझै उर्जावान, पारदर्शी र व्यवसायिक दयारा फराकिलो बनाउन पब्लिकमा लगिएको बताए ।

अब नेपालको सबैभन्दा ठूलो रेमिट्यान्स कम्पनी आइएमई लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले शीघ्र आइपीओ निष्कासन गर्ने आइएमईका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले बताए ।
यो प्रकृयाका लागि कम्पनीले सेयर निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरि नियामक धितोपत्र बोर्डमा निवेदन दिनेछ । सम्बन्धित नियामक निकायबाट स्वीकृत प्राप्त हुनासाथ यो प्रकृया अगाडि बढ्नेछ ।

रेमिटेन्स समाधान प्रदायकहरू मध्येको अग्रणी आइएमई स्थापना भएको दुई दशकभन्दा बढी भइसकेको छ । आइएमईले विश्वभर विश्व–स्तरीय मनी ट्रान्सफर सेवाहरू प्रदान गर्दछ । आइएमईको विश्वव्यापी पहुँचका कारण विश्वका दुई सयभन्दा बढी देशहरूबाट मुलुकमा विप्रेषण भित्रिने गर्छ ।

नेपालको केन्द्रीय बैंक नेपाल राष्ट्र बैंक र बैंक नेगारा मलेसियाबाट इजाजत प्राप्त आइएमई सन् २००१ मा आजकै दिन स्थापना भएको हो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर