जर्मनीलाई घर फर्काउने जापानको विवादित गोल- के बल आउट भइसकेको थियो ? – Nepal Press

जर्मनीलाई घर फर्काउने जापानको विवादित गोल- के बल आउट भइसकेको थियो ?

काठमाडौं । अप्रत्याशित नतिजा र रोमाञ्चकारी प्रतिस्पर्धाहरूको प्याकेज बनिरहेको छ, कतारमा जारी विश्वकप फुटबल । उपाधिका दाबेदारहरुलाई कम आँकिएका टिमहरूले कडा चुनौती मात्रै दिएका छैनन्, पराजितसमेत गरिरहेका छन् ।

यस विश्वकपको पहिलो चरणमा कुनै देश सबैभन्दा ठूलो ‘डार्क हर्स’ बनेको छ भने त्यो हो, एसियाको जापान । नकआउटमा जानेसमेत अपेक्षा नगरिएको जापानले पहिलो चरणमा दुई महाशक्तिलाई हराउँदै समूह विजेता बनेर इतिहास रच्यो । जापानले पहिलो म्याचमा चार पटकको विश्व विजेता जर्मनीलाई र तेस्रो म्याचमा उपाधि दाबेदार स्पेनलाई परास्त गरेको हो ।

यस विश्वकपकै एउटा सनसनीपूर्ण खेलमा हिजो राति जापानले स्पेनविरुद्ध अप्रत्याशित जित निकाल्यो । स्पेनले सुरुमै लिएको अग्रतालाई उल्टाउँदै जापानले २–१ ले खेल आफ्नो पक्षमा पार्.यो । जापानको यो साहसिक विजयले जर्मनी घर फर्किन बाध्य भएको छ ।

ठूला टिमहरूलाई मात दिएको जापान यति बेला विश्वभर प्रशंसित बनिरहेको छ । तर हिजोको म्याचमा जापानले गरेको एउटा गोल भने तिव्र विवादमा परेको छ । जर्मनीविरुद्ध बराबरी गोल गरेको १४२ सेकेन्डमा जापानले अर्को गोल थपेर अग्रता लिएको थियो ।

जापानको दोस्रो गोललाई सुरुमा अम्पायरले मान्यता दिएका थिएनन् । टचलाइन बाहिर गइसकेको बललाई जापानका काओरु मितोमाले भित्र खिँचेपछि आओ तानाकाले हेड गर्दै बललाई पोस्टभित्र छिराएको खुला आँखाले देखिएको थियो । तर, जापानले गोल अपिल गरेपछि अम्पायरले भिएआर चेक गरे ।

लामो भिएआर चेकपश्चात् अम्पायर भिक्टर गोम्सले गोल सदर गरे र जापानी क्याम्पसमा अभूतपूर्व खुशी छायो । यही गोलले जापानलाई समूह विजेता बनाउँदै दोस्रो चरणमा पुर्‍याएको छ । तर, यति बेला इन्टरनेटमा यो गोलमाथि व्यापक वादविवाद चलिरहेको छ । उक्त म्याचको भिडियो फुटेजलाई जुम गर्दै धेरैले अम्पायरको निर्णयमाथि प्रश्न उठाइरहेका छन् । के वास्तवमै जापानलाई अम्पायरले अभयदान दिएका हुन् त ?

फुटबलको कानूनले भन्छ, ‘बलको गोलाइ यदि लाइनमाथि छ भने त्यो बाहिर गएको मानिँदैन ।’ यसको मतलब बलले भौतिकरुपमा टचलाइनलाई छोएको हुनुपर्दैन । यदि बलले टचलाइन छोएको छैन तर बलको गोलो हिस्सा लाइनभन्दा माथि परेको छ भने त्यो बल आउट हुँदैन । यही आधारमा अम्पायरले निर्णय गरेका हुन् ।

जुन एंगलबाट दर्शकहरूले हेरे, बल टचलाइनबाट बाहिर गएको नै देखिन्छ । कमेन्टेटरले पनि बल आउट भएको प्रारम्भिक प्रतिक्रिया दिएका थिए । तर, भीएआरमा अम्पायरले माथिको एंगलबाट हेर्दै यसलाई सदर गरिदिए । आज फिफाले यही एंगलको तस्बिर सार्वजनिक गरेको छ । यसले बलको सानो हिस्सा टचलाइनको ठिक माथि परेको देखिन्छ । जे भए पनि यो विश्वकप इतिहासमै एउटा कठिन र संवेदनशील निर्णय थियो ।

जापानको यो गोलको बहुआयामिक प्रभाव पर्‍यो । एउटै समयमा अर्को म्याचमा जर्मनी कोस्टारिकासँग भिडिरहेको थियो । जापानले दोस्रो गोल गरेको खबरसँगै स्टेडियममा जर्मनीका समर्थकहरू हताश बने । लगत्तै कोस्टारिकाले जर्मनीविरुद्ध बराबरी गोल हान्यो ।

कोस्टारिकाले अर्को गोल थप्दै जर्मनीविरुद्ध अग्रता लिँदा उता जापानसँग भिडिरहेको स्पेन घर फर्किने खतरा देखियो । तर जर्मनले बराबरी गोल गरेसँगै स्पेन सुरक्षित बन्यो ।

यदि जापानले दोस्रो गोल नगरेको भए स्पेन र जर्मनी दोस्रो चरणमा जाने थियो भने जापान घर फर्किने थियो । मध्यान्तरको समीकरण यस्तै थियो । तर, मध्यान्तरपछि ५१ औँ र ५२ औँ मिनेटमा लगातार गोल गर्दै जापानले विश्वकपकै रोमाञ्चकारी परिणाम दिएको छ । स्पेन–जापानको खेलमा ८२.९ प्रतिशत समय बल स्पेनको नियन्त्रणमा थियो । तर, फुटबलमा गोल नै सबैथोक हो ।


प्रतिक्रिया

One thought on “जर्मनीलाई घर फर्काउने जापानको विवादित गोल- के बल आउट भइसकेको थियो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर