मौन अवधिमा खसी-राँगा काटेर मलाई चुनाव हराए : लालबाबु पण्डित – Nepal Press
नेपाल टक

मौन अवधिमा खसी-राँगा काटेर मलाई चुनाव हराए : लालबाबु पण्डित

शेखर कोइरालाले प्रधानमन्त्री बन्छु भनेर भोट मागे, अब बनेर देखाउन्

काठमाडौं । एमाले नेता लालबाबु पण्डितले मोरङ–६ बाट भारी मतान्तरले चुनाव हारे । कांग्रेस हस्ति शेखर कोइरालालाई २०७४ सालको नतिजा उल्टाउँदै पण्डितलाई पन्छाएर सांसद निर्वाचित भएका छन् ।

कुनै समय देशकै लोकप्रिय राजनीतिकर्मीको सूचीमा पर्ने पण्डित यो चुनावी नतिजाबाट स्तब्ध छन् । अघिल्लो चुनावमा कोइरालालाई ६ सय ७५ मतले हराएका उनका लागि १२ हजारभन्दा बढीको मतान्तर अकल्पनीय हो । नेपाल प्रेससँग कुरा गर्दै उनले मतदातालाई भ्रममा पारेर तथा सत्ता र शक्तिको दुरुपयोग गरेर आफूलाई हराइएको गुनासो गरे ।

विगतमा श्रममन्त्री हुँदा लालबाबुले केही राम्रा काम गर्दै लोकप्रियता आर्जन गरेका थिए । तर, पछिल्लो समय उनको लोकप्रियतामा ह्रास आएको छ । एमालेको पछिल्लो महाधिवेशनमा उनी उपाध्यक्षका आकांक्षी थिए । तर, उनी सफल भएनन् । पछि अध्यक्ष केपी ओलीले उनलाई केन्द्रीय सदस्यमा मनोनीत गरे । तर, लालबाबुले आफू केन्द्रीय समितिमा नरहने भन्दै सो पद त्याग गर्ने घोषणा गरे । यद्यपि, पार्टीले उनलाई अहिले स्थायी कमिटीमा समेटेको छ ।

उनै लालबाबुसँग गरिएको चुनाव केन्द्रीत कुराकानी :

आफ्नो चुनावी पराजयलाई कसरी लिनुभएको छ ?

केही सत्ताको प्रभाव हो, गठबन्धनको प्रभाव हो । केही दुरुपयोग पनि हो । केही आर्थिक चलखेल पनि हो ।

विकासलाई भन्दा सस्तो लोकप्रिय नारालाई जनताले प्राथमिकता दिएको पनि देखियो । मेरो क्षेत्रमा प्रधानमन्त्रीको उम्मेदवार हुँ भनेर भोट मागिएको हो । प्रधानमन्त्री हुन्छन् या हुँदैनन् त्यो चाहिँ उनीहरूकै कुरा हो ।

प्रधानमन्त्री बन्छु भन्दा मतदाताले पत्याए ?

जनताको बीचमा अल्लि भ्रम छरियो । अर्को कुरा, अलिअलि पहिला नै हाम्रो पार्टीको नेताहरूसँग (शेखर कोइरालाको) सहकार्यको कुराले पनि अलिअलि असर गर्‍यो । शीर्ष तहमा नै सहकार्यको कुरा आएपछि साँच्चै त्यही हो कि भन्ने बुझाइ भयो ।

तपाईँको आफ्नो तर्फबाट चाहिँ केही पनि कमीकमजोरी भएको छैन ?

आफ्नो तर्फबाट त के कमी–कमजोरी भन्नु । कमी भन्ने हो भने पैसाको भयो होला । आफूले त निर्वाचन आयोगको आचारसंहिता पालन गरेर जनताको बीचमा भोट मागेको हो । कतिपय जनताको बीचमा अरूको आर्थिक पक्ष पनि सबल भइदिँदो रहेछ । मेरो त्यसमा कमजोरी भयो । तर, जुन परिणाम आएको छ, मैले नकार्ने कुरा भएन । जसरी आयो, परिणाम आयो ।

यति ठूलो मतान्तरले हार्छु भन्ने त थिएन होला ?

कल्पना पनि गरेको थिइनँ । त्यो चाहिँ अन्तिम रातमा प्रशासन, पैसाको चलखेल भयो । एक किसिमले भन्ने हो भने कतिपय ठाउँमा नेताहरू नै किन्दिए ।

एमालेका नेताहरू बिके ?

एमालेका अलिअलि, अलिअलि एमालेलाई माया गर्नेहरूलाई किन्दिए ।

चुनावको प्रचारप्रसारमा तपाईँले खुलेर खर्च गर्न सक्नुभएन ?

मैले त कुनै एउटा विज्ञापन पनि दिइनँ । आफूसँग पैसा पनि थिएन । सामान्य प्रतिवद्धतापत्र निकालेको हो । अर्को कुरा भन्ने हो भने चुनाव चिन्ह भएको १० वटा झण्डाले काम चलाइयो । ठूला सभाहरू गरिएन । कोणसभा र घरदैलो गरियो ।

सकेसम्म जनताको बीचमा काम पनि गर्‍या हो । तर, मतदातालाई चाहिँ विकासभन्दा पनि अन्तिम दिनको निकास चाहिएको रहेछ ।

अलिकति बुझिने गरी भन्दिनुस् न । के हो अन्तिम रातको निकास भनेको ?

मौन अवधि हुन्छ नि ४८ घण्टा । त्यो बेलामा कहाँ खसी काट्या छ, कहाँ राँगा काट्या छ, कहाँ कुखुरा काट्या छ । ट्रकका ट्रक चामलहरू कब्जा गरेर भिडियोसहित पुलिसकहाँ हामीले नै पुर्यायौं । हजारौँको संख्यामा टेबल–कुर्सी बाँड्या छन् । कहीँ एक ट्रक गिटी खसाइदियो । त्यति गरेपछि विकास त भइगो । होइन ? यस्तै यस्तै त हो नि । चुनावका विकृत पक्षहरू सबै त्यहाँ देखा परे ।

तपाईँलाई अघिल्लो चुनावमा जनताले सुम्पेको अभिभारा राम्ररी वहन गर्न नसकेर पो कम मत आएको हो कि ? यसरी चाहिँ सोच्नुभएको छैन ?

मैले त करिब–करिब ५ अर्बको विकास पुर्‍याएको हो । हरेक गाउँ टोलमा विकास पुगेको छ । कहीँ कालो पिच भयो भने भन्छन्– नाला त बनेन नि । नालासहितको पिच भयो भने ढक्कन त हालेन नि भन्छन् । २२ वटा सामुदायिक भवन बनाइयो । तर, यो बनेन, त्यो बनेन भन्छन् । बनेको चाहिँ नदेख्ने । सरकारी स्कुलका भवनहरू बनाइद्या छ । त्यो भवन बनाएर के अर्थ ? मेरो बच्चा त त्यहाँ पढ्दैन भन्छन् । चारवटा झोलुंगे पुल, ठूला पक्की पुलहरू बनाएको छ । त्यो त ठीक छ, तर मलाई के फाइदा भयो ? भन्छन् । त्यसलाई के जवाफ दिने ?

हातमा पैसा नराखेसम्म त उनीहरूले आफ्नो फाइदा देख्दैनन् । आफूले प्रयोग गरेको बाटो, सामुदायिक भवन, पुल, सडक देख्दैन । आफ्नो हातमा आएको पैसालाई मात्रै फाइदा देख्छन् । एक दिन मासु भात र दारु पानी खाएकोलाई फाइदा देख्छन् । यस्तो बँधुवा विचार बोक्नेसँग त के भन्न सकिन्छ र ?

एक समय त तपाईँ एकदमै पपुलर हुनुहुन्थ्यो । धरैले आदर्श नेता मान्थे । तर पछि विभिन्न आरोपहरू लागे । साइकलमा तेल हालेको भनेर ट्रोल भयो । यस्ता कुराहरूले पनि तपाईँलाई असर गरेको हो कि ?

त्यो के हुन्छ भने केही चाहिँ नक्कली कुरा सिर्जना गरेर के अर्थ हुन्छ र ? मैले सार्वजनिकै भन्या हुनि त । मेरो निजी साधन साइकल हो । तर, मैले चुनाव जितिसकेर सात दिन लगाएर साइकलमा काठमाडौं आउने, सात दिन लगाएर काठमाडौंबाट फर्किने, देश भ्रमण गर्ने, मन्त्रालय जाने त होइन नि । मन्त्री भएपछि त सरकारी गाडी नै प्रयोग गरेको हो । सरकारी गाडी भएपछि त सरकारी तेलै प्रयोग हुन्छ । होइन ? कि के ?

तर, जनता त यस्तै कुराहरूबाट भ्रमित हुन्छन् नि ?

यसबाट त्यति भ्रमित भएनन् । बरु पत्रम् पुष्पमबाट भ्रमित भएका छन् ।

तपाईँले चुनावमा कति खर्च गर्नुभयो त ?

मैले १५ लाख जति खर्च भएको भनेर पेशै गरिसक्या छु ।

सबै आफ्नै पैसा हो कि सरसहयोग जुटाउनुभयो ?

अलिअलि सरसहयोग पनि दिन्छन् । यसपालि सरसहयोग पनि कमै आयो । अलिअलि आफ्नो अलिअलि सरसहयोग हो ।

चुनाव हारेपछि अब पार्टी राजनीतिमै केन्द्रीय हुने कि अरू केही योजना पनि छ ?

अब त पार्टी राजनीति नै हो । म व्यवसायिक मान्छे होइन । व्यवसायमा कहीँ लगानी छैन । आफ्नो व्यवसाय सञ्चालन पनि गरेको छैन । त्यसैले गर्दाखेरि… म त झण्डै ४० वर्ष भएछ फुल टाइम राजनीति गर्न थालेको । चाहे पदमा रहँदा होस वा नरहँदा । त्यस कारणले गर्दाखेरि फेरि पनि राजनीतिक–सामाजिक जीवन नै बिताउने हो ।

नेकपा एमालेले चुनावमा ल्याएको रिजल्टका बारेमा तपाईँको के विश्लेषण छ ?

नेकपा एमालेले चौतर्फी घेराबन्दी बीचमा आएको परिणाममा मतको आधारमा हामी पहिलो पार्टी र सिट संख्याको आधारमा दोस्रो पार्टी भएका छौँ । जुन रुपमा भए पनि एमालेले घाटा व्यवहोरेकै छ । यसबाट सन्तुष्ट हुने कुरा त भएन । थप काम गर्नुपर्ने भयो जनताको बीचमा ।

एमालेलाई जुन विगतमा सकस थियो, जुन घेराबन्दी थियो र छ, भविष्यमा पनि रहन्छ । त्यसलाई चिर्नका निम्ति एकतावद्ध र थप उत्साहित भएर चाहिँ काम गर्नु नै आजको विकल्प हो ।

एमाले सरकारमा जानुपर्छ या प्रतिपक्षमा बस्नु ठिक हुन्छ ?

मलाई व्यक्तिगत रुपमा भन्नुहुन्छ भने अहिले जुन खिचडी तरिकाको परिणाम आएको छ, यसले राम्रो सन्देश दिएको छैन । न त निकास दिएको छ । त्यस कारणले गर्दाखेरि एमालेले अहिले सरकार बनाएर अनि चाहिँ खिचडी सरकारको नेतृत्व गर्नु त्यति उपयुक्त मलाई लाग्या छैन ।

यदि तपाईँलाई पराजित गर्ने कांग्रेस नेता प्रधानमन्त्री बन्नुभयो भने तपाईँ खुशी बन्नुहुन्छ कि दुखी ?

जनतामा जे नारा दिनुभएको थियो, पूरा गरेर देखाउनुस् । मेरो शुभकामना छ ।

उहाँ प्रधानमन्त्री बन्ने सम्भावना देख्नुहुन्छ ?

त्यस्तो सम्भावना एक प्रतिशत पनि देख्या छैन ।

शेखर कोइरालालाई चुनाव परिणामपछि औपचारिक बधाई दिनुभयो ?

उहाँसँग भेट पनि भएको छैन । विगतको चुनावमा त्यस्तो बधाई साटासाट भएन । यस पटक पनि बधाई साटासाट भएको छैन । भेट भयो भने बधाई दिन्छु ।


प्रतिक्रिया

One thought on “मौन अवधिमा खसी-राँगा काटेर मलाई चुनाव हराए : लालबाबु पण्डित

  1. एकदम सहि र यथार्थ कुरा लोकतन्त्रको चुनावको सम्बन्धमा । थप मिहेनत गरेर मध्यावधीमा जित्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर