महादेशीय कीर्तिमान मुखैबाट खोसेको उरुग्वेविरुद्ध बदला लिन आँतुर घाना – Nepal Press

महादेशीय कीर्तिमान मुखैबाट खोसेको उरुग्वेविरुद्ध बदला लिन आँतुर घाना

दोहा। कतारमा जारी विश्वकप फुटबलअन्तर्गत शुक्रबार हुने समूहको आफ्नो अन्तिम खेलमा उरुग्वेसँग बराबरी खेलेपनि घाना अगाडि बढ्न सक्ने छ। जित हात पारेको अवस्थामा नकआउट चरणमा स्थान पक्का गर्ने छ।

घानाको जित वा बराबरीमा दुईपटकको विजेता उरुग्वे भने पहिलो चरणबाटै घर फर्कने छ। यो खेल भइरहँदा सन् २०१० को विश्वकप क्वाटरफाइनलको स्मरण हुने छ। त्यतिबेला यी दुई टोलीबीच भएको क्वाटरफाइनलमा घाना ऐतिहासिक सफलतानजिक देखिएको थियो।

अतिरिक्त समयको खेल सकिन एक मिनेट मात्र बाँकी रहँदा घानाका खेलाडीले प्रहार गरेको बल उरुग्वेका स्ट्राइकर लुइस स्वारेजले गोल लाइनबाट हातले क्लियर गरेका थिए। त्यसपछि स्वारेजलाई रातो कार्ड देखाइयो भने घानाले पेनाल्टी पायो तर आसामोआ ज्ञानको प्रहार बारमा लागेर फर्कियो र खेल टाइब्रेकरमा पुग्यो। टाइब्रेकरमा उरुग्वे विजयी भएर सेमिफाइनल पुग्यो।

त्यसअघि अतिरिक्त समयको अन्तिम समयमा स्वारेजले त्यसरी हातले बल क्लियर नगरेको भए घाना विश्वकप इतिहासमा सेमिफाइनल पुग्ने पहिलो अफ्रिकी टोली बन्ने थियो। सन् १९९० को विश्वकपमा क्यामरुन र सन् २००२ को विश्वकपमा सेनेगल क्वाटरफाइनलसम्म पुगेर बाहिरिएका थिए।

‘जब विश्वकपको ड्र भयो र घाना रहेको समूहमा उरुग्वे पर्‍यो, मानिसको दिमागमा एउटै कुरा आएको थियो, बदला। घाना बदला लिन चाहन्छ। यो उसका लागि प्रोत्साहन हो ‘, आसामोआ ज्ञानले भनेका छन्। उनले समूहमा पोर्चुगल र दक्षिण कोरियताजस्ता टोली रहेको भएपनि घानाले उरुग्वेसँगको खेललाई नै महत्वपूर्ण मानेको बताए। ‘विश्वभरका मानिसलाई थाहा छ त्यतिबेला के भएको थियो। म पनि मानिस हुँ र त्यो कुरा सँधै मेरो दिमागमा रहने छ’, पेनाल्टीमा चुकेको स्मरण गर्दै ज्ञान भन्छन्।

३५ वर्षीय स्वारेजलाई घानामा निकै घृणा गरिने गरेको त्यहाँका स्पोर्ट्स ब्रोडकास्टर जुलियट बाउहाले बताए। ‘जब स्वारेज लिभरपुलका लागि खेलिरहेका हुन्थे, उनी घाइते हुन्, पहेलोँ कार्ड पाउन् या रातो कार्ड पाउन् वा फुटबल संघलाई उनलाई कारबाही गरोस् मानिसहरु खुसी हुन्थे। स्वारेजको नाम कसैले सुन्न चाहँदैन थियो’, बाउहा भन्छन्। स्वारेजले भने आफुले सहि काम गरेको भन्दै त्यो अवस्थामा सबै जना तयार हुने बताउँदै आएका छन्। स्वारेज जारी विश्वकप पनि खेलिरहेका छन्। उनी लयबाहिर देखिन्छन्।

घाना चौथोपटक विश्वकप खेलिरहेको छ। सन् २००६ मा पहिलोपटक विश्वकप खेलेको घाना त्यतिबेला प्रिक्वाटरफाइनलसम्म पुगेको थियो। सन् २०१४ मा पहिलो चरणबाटै बाहिरिएको घाना गत संस्करणमा भने छनोट भएको थिएन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *