‘पावर शेयरिङ’मा नेकपा एसको ४ सूत्र- माधव नेपाल पनि प्रधानमन्त्री ५ वर्षभित्र – Nepal Press

‘पावर शेयरिङ’मा नेकपा एसको ४ सूत्र- माधव नेपाल पनि प्रधानमन्त्री ५ वर्षभित्र

पहिलो चरणमा प्रधानमन्त्री नदिए प्रचण्ड एमालेतिर लाग्ने आशंका, तर नेकपा एसले कांग्रेस नछाड्ने

काठमाडौं । मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभाको मत परिणाम अन्तिम चरणमा पुगेपछि दलहरू सरकार गठनतर्फ केन्द्रित भएका छन् । १६५ निर्वाचन क्षेत्रमध्ये दोलखा, बाजुरा र स्याङ्जा २ को मात्रै मत परिणाम आउन बाँकी छ ।

अहिलेसम्म प्रत्यक्षमा कांग्रेसले ५५, एमालेले ४४, माओवादीले १७, नेकपा एसले १०, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा र जसपाले ७/७, लोसपाले ४, जनमत पार्टी, राष्ट्रिय जनमोर्चा र नेमकिपाले ११ तथा स्वतन्त्रले ५ सीट जितेका छन् ।

सत्ता गठबन्धनको पक्षमा सीके राउत नेतृत्वको जनमत पार्टीलाई समेत सामेल गराएर बहुमतको सरकार गठनको गृहकार्य सुरू भइसकेको छ । प्रत्यक्षमा एक सीट जिते पनि समानुपातिकमा थ्रेसहोल्ड कटाउने निश्चित भएकाले जनमतको कम्तिमा ४ जना सांसद हुने देखिएको छ ।

गठबन्धनको पक्षमा बहुमत पुर्‍याउन शीर्ष नेताहरूले स्वतन्त्र जितेकाहरूको पनि समर्थन जुटाउने प्रयास गरिरहेका छन् । गठबन्धन दलका शीर्ष नेताहरूमा गठबन्धन सरकार बनाउने समझदारी बने पनि नेतृत्वको विषय टुंगिन सकेको छैन ।

गठबन्धन दलको सबैभन्दा ठूलो घटक कांग्रेसमा शेरबहादुुर देउवा, गगन थापासहित ६ जना मुख्य रूपमा दाबेदार देखिएका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि प्रधानमन्त्रीमा दाबी गरेका छन् ।

कांग्रेसले आफ्नै नेतृत्वको स्थिर सरकार बनाउने कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले बताउँदै आएका छन् । तर, गठबन्धन दलमा प्याकेजमा सहमति हुँदा देउवा आधा कार्यकाल प्रचण्डलाई प्रधानमन्त्री दिन लचक देखिन्छन् । चुनावी सरकारको नेतृत्व देउवाले गरेकाले अब बन्ने सरकारको नेतृत्वमा प्रचण्ड आउन खोजेका छन् ।

तर, ४६ सीटमा उम्मेदवारी दिएको माओवादी केन्द्रले निर्वाचनमा सोचेजस्तो परिणाम ल्याउन सकेन । त्यसो त गठबन्धनबाट आलोपालो सहमति हुँदा प्रचण्डको प्रधानमन्त्री हुुने सम्भावना रहेको महासचिव देव गुरूङले नेपालप्रेससँगको अन्तर्वार्तामा बताइसकेका छन् ।

प्रधानमन्त्रीमा माधवको पनि दाबी

प्रधानमन्त्रीसहित राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुखसहित मुख्य संवैधानिक पदमा नेकपा एसका अध्यक्ष माधव नेपालले पनि सम्मानजनक भाग खोज्ने तयारी गरेका छन् ।

कांग्रेस र माओवादीबीच आधाआधा कार्यकाल भागबन्डा हुने चर्चा चलिरहेको वेलामा प्रधानमन्त्रीमा अध्यक्ष नेपालले पनि दाबी गरेको उनी निकट एक नेताले बताए ।

ती नेताले नेपाल प्रेससँग भने, ‘गठबन्धन दलमा प्याकेजमा भागबन्डा हुने भए पनि उहाँ (माधवजी)को पनि प्रधानमन्त्रीमा दाबी स्वाभाविक रहन्छ । हामीले पाँच वर्षे कार्यकालमा कांग्रेस र माओवादीलाई दुई-दुई वर्ष र एक वर्ष हाम्रो दाबी रहन्छ ।’

केन्द्रमा मात्रै नभएर प्रदेशमा मुख्यमन्त्रीसहित सरकारमा आफ्नो पार्टीको सम्मानजनक उपस्थिति हुनुपर्ने ती नेताको तर्क छ ।

‘अरूका लागिमात्रै हामीले कति त्याग गर्ने ?’, ती नेताले प्रश्न गर्दै भने, ‘हामीले गरेको त्यागअनुसारको प्याकेजमा पावर शेयरिङमा हाम्रो जोड रहन्छ । हामीले गठबन्धन गरेकै कारणले अहिले कांग्रेस पहिलो दल बन्न सकेको छ । माओवादीलाई पनि केही हदसम्म फाइदा नै भएको छ ।’

नेकपा एसले प्रधानमन्त्रीसहित राष्ट्रपति र सभामुखमध्ये एक पद, एक मुख्यमन्त्रीसहित संवैधानिक र राजनीतिक पदमा प्याकेजमा भागबन्डा हुनुपर्ने अडान राखेको छ ।

प्रत्यक्षमा गठबन्धनको आडमा १० सीट जिते पनि नेकपा एस समानुपातिकतर्फ थ्रेसहोल्ड कटाएर राष्ट्रिय दल बन्ने सम्भावना न्यून छ ।

त्यसो त बिहीबार नै शहरी विकासमन्त्री एवम् नेकपा एसका नेता मेटमणि चौधरीले त्यसको संकेत गरेका थिए । उनले भनेका थिए, ‘गठबन्धनकै सरकार निर्माणको विषयमा छलफल भइरहेको छ । प्रधानमन्त्रीसहित राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुख सबै पद प्याकेजमै सहमति हुन्छ । अब पाँच वर्ष गठबन्धनकै सरकार बन्छ । त्यसमा कन्फ्युज हुनुपर्ने केही कुरा छैन ।’

कांग्रेसको साथ नछाड्ने

त्यसो त सरकार गठनको भागबन्डा नमिल्दा गठबन्धन टुटे पनि आफूहरूले कांग्रेसको साथ नछाड्ने ती नेताले प्रस्ट पारे । गठबन्धनमा प्रचण्डले प्रधानमन्त्री नपाएर एमालेसँग सहकार्य गर्न गएको अवस्थामा पनि उनले आफूहरूको कांग्रेसको साथ नछाड्ने प्रस्ट पारे ।

गठबन्धनको बलमा पहिलो दल बनेको कांग्रेसले प्रचण्डलाई प्रधानमन्त्री बनाउन अस्वीकार गरेको अवस्थामा उनले गठबन्धन छाड्नसक्ने चर्चा छ । तर, त्यो कुरा प्रचण्डले अहिलेसम्म अस्वीकार गर्दै आएका छन् ।

एमाले र माओवादीका दोस्रो तहका नेताहरूले भने वामपन्थी सरकार बनाउनुपर्ने भन्दै नेतृत्वलाई दबाब दिँदै आएका छन् । निर्वाचन परिणामअनुसार एमाले, राप्रपा र जसपामा माओवादी जोडिँदा सरकार बन्न पुग्ने अंकगणित भएकाले त्यो समीकरणलाई नर्कान नसकिने नेताहरूले बताउँदै आएका छन् ।

चुनावको परिणामले अस्थिर राजनीतिलाई मलजल गरेको भन्दै शेरबहादुर देउवा नेतृत्वको दक्षिणपन्थी गठबन्धन भत्काउनुपर्ने नेकपा एमालेका उपमहासचिव तथा प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरूङले बताए ।

प्रेस चौतारी नेपालले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘अब हामीले वाम सरकारका लागि अहिलेको दक्षिणपन्थी गठबन्धनलाई तोड्न प्रयास गर्नुपर्छ । नामले वाम भएकाहरू अहिले दक्षिणपन्थी गठबन्धनमा छन्, उनीहरूलाई पूर्वाग्रह नराखी गठबन्धनबाट बाहिर ल्याउने प्रयास गर्नुपर्छ ।’


प्रतिक्रिया

One thought on “‘पावर शेयरिङ’मा नेकपा एसको ४ सूत्र- माधव नेपाल पनि प्रधानमन्त्री ५ वर्षभित्र

  1. देश बनाउने बुँदा नै छैन । खाली पद पाउनुपर्छ भन्ने माग छ । किन? किनकी मुख्य उद्देश्य पदमा गएर लुटने हो । ठगबन्धनका लुटेराहरूको ५ वर्षे लुटतन्त्र शुरूहुनेभयो । निर्देशक भारत ।

Leave a Reply to ksp pyl Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर