नाडाले सरकार र राष्ट्र बैंकविरुद्ध सुरु गर्‍यो आन्दोलन (भिडिओ) – Nepal Press

नाडाले सरकार र राष्ट्र बैंकविरुद्ध सुरु गर्‍यो आन्दोलन (भिडिओ)

काठमाडौं । अटोमोबाइल्स डिलर्स एसोसियसन अफ नेपाल (नाडा) ले सरकार र नेपाल राष्ट्र बैंकको विरुद्धमा आन्दोलन सुरु गरेको छ । सरकारले विगत ८ महिनादेखि पेट्रोलियम पदार्थबाट सञ्चालन हुने गाडी आयात बन्द गरेकोले अटो व्यवसायीहरू आफ्नो व्यापार नै बन्द गर्नु पर्ने अवस्था आएको भन्दै आन्दोलनमा उत्रिएका हुन् ।

आज नाडाले विभिन्न १० बुँदे माग राख्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । आजबाट सुरु भएको आन्दोलन चरणवद्ध अगाडि बढ्ने नाडाले बताएको छ ।

यी हुन् आन्दोलनका कार्यक्रमहरू

१. नाडाद्वारा तय गरिएका नाराहरु सबै व्यवसायीले फेसबुक, इन्स्टाग्राम र टुइटरमा प्रोफाइल पिक्चर बनाउने ।

२. हामिले तय गरेको नाराहरू सबै व्यवसायीले चढ्ने गाडीमा आजै बाट अगाडी पछाडि टाँसेर हिँड्ने ।

३. नाराहरूलाई ब्यानर बनाएर आफ्नो सोरुममा टाँस्ने ।

४. विरोध कार्यक्रममा सहभागी हुन नेपाल उद्योग वाणिज्य महासंघमा आबद्ध वस्तुगत संगठन र जिल्ला नगर उद्योग वाणिज्य सङ्घहरू, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्सलाई समेत औपचारिक पत्रमार्फत सहयोग माग्ने ।

५. २०७९/०८/२२ गते बिहीबारका दिन सम्पूर्ण व्यवसायी साथीहरू कालो पहिरन लगाइ, प्लेकार्ड बोकी बिहानको ११ बजे देखि २ बजेसम्म काठमाण्डौको माइतीघर मण्डलामा धर्ना दिने र साथै सातै प्रदेशमा एकै पटक धर्ना कार्यक्रममा बस्ने ।

६. सोही दिन हाम्रा औपचारिक नाराहरू काठमाडौं लगायत हाम्रा सातै प्रदेशमा रहेका संगठन मार्फत सार्वजनिक गर्ने र नेपाल भरका सम्पूर्ण सदस्यहरुलाई एकै पटक परिचालन गर्ने।

७. मंसिर २२ गतेसम्म पनि मागको सम्बोधन नभएमा पहिलो चरणको कार्यक्रम २२ गते समापन गरी दोस्रो चरणको आन्दोलनको कार्यक्रम पुनः सार्वजनिक गर्ने ।

यस्ता छन् नाडाले राखेका १० बुँदे माग

१. विगत ८ महिना देखि निजी प्रयोजनका कार, जीप भ्यान तथा १५० सि.सि माथिका दुई पाङ्ग्रे सवारी साधनहरूको आयातमा लागेको प्रतिबन्ध तत्काल खोल्नु पर्ने ।

२. नेपाल राष्ट्र बैंकद्वारा जारी चालु पूँजी कर्जा मार्गदर्शन, २०७९ तत्कालका लागि स्थगित गर्दै अनुकूल समयमा आवश्यक परिमार्जन सहित व्यवसायीहरूको सल्लाहमा लागु गरिनु पर्ने ।

३. शतप्रतिशत नगद मार्जिन र पचास प्रतिशत नगद मार्जिन राखेर प्रतीत पत्र खोल्नु पर्ने व्यवस्थालाई पहिलेकै अवस्थामा ल्याउनु पर्ने ।

४. नेपालको वित्तीय निकायहरूले यही २०७९ साल कार्तिक १ गते देखि लागु हुने गरी कर्जा प्रवाहमा व्याज बढाउने निर्णय गरेको छ । यसले नेपालको अटोमोवाइल क्षेत्र लगायत समग्र उद्योग व्यवसाय नै गम्भीर रूपले प्रभावित भएको कारण व्यवसायीहरूले व्याज नै तिर्न नसक्ने अवस्था आउने देखिएको छ । हालको व्याज तथा प्रिमियम दर लाई तत्कालै नियन्त्रणमा राख्नको लागि आवश्यक व्यवस्था गर्नु पर्ने ।

५. अटोलोन / हायर पर्चेज कर्जामा जोखिम भारलाई १५० प्रतिशतबाट पुरानै अवस्थामा ल्याउनु पर्ने अर्थात् ७५ प्रतिशत नै कायम गरिनु पर्ने ।

६. बैंकहरुको तरलता अभावलाई सहज बनाउन CD Ratioलाई पुनरावलोकन गर्नु पर्ने ।

७. बैंकहरुबाट सवारी साधनको Hire Purchase Loan स्वीकृत भए पश्चात जारी गरिने Delivery Order (DO) बापतको भुक्तानी समयावधि सवारी साधन बैंकको नाममा नामसारी भएको एक हप्ताभित्र गरिनु पर्ने ।

८. त्यस्तै बैकहरुबाट निजी सवारी साधनको Hire Purchase Loan प्रवाह गर्ने प्रकियामा Loan to Value Ratio को हालको सीमा पचास प्रतिशतबाट वृद्धि गरी सत्तरी प्रतिशत कायम गर्नु पर्ने ।

९. पूर्नकर्जा नवीकरण गर्ने म्याद एक वर्षको लागि थप गरिनु पर्ने ।

१०. कोभिड तथा आयात प्रतिबन्धका कारण लामो समय देखि थला परेको अटोमोवाइल व्यवसायको पुनरुत्थानका लागि कर्जामा पुनर्तालिकीकरण तथा ब्याजदरमा विशेष सहुलियतको व्यवस्था गरिनु पर्ने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर