सहकारीको समस्या समाधान गर्न उपसमिति गठन – Nepal Press

सहकारीको समस्या समाधान गर्न उपसमिति गठन

काठमाडौं । सहकारी क्षेत्रमा देखिएको समस्या समाधानको अधिकतम पहल गर्नका लागि राष्ट्रिय सहकारी महासंघले उपसमिति गठन गरेको छ ।

महासंघको मंसिर १५ गते बसेको २०२ औँ बोर्ड बैठकले महासंघका सञ्चालक तथा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केवी उप्रेतीको संयोजकत्वमा उपसमिति गठन गरेको हो । सो समितिले समस्या उन्मुख संस्थाहरूको स्थलगत अध्ययन, विश्लेषण, समन्वय गर्ने जिम्मेवारी समेत पाएको छ ।

बैठकमा सहकारी क्षेत्रको वर्तमान अवस्थाको विषयमा सरकार गम्भीर नभएको भन्दै असन्तुष्ट व्यक्त भएको महासंघका महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बाले बताइन ।

उप समितिको सदस्यहरूमा महासंघका संचालकद्वय डिवी बस्नेत, राजेन्द्र पौडेल, नेफ्स्कून, नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघ, बागमती प्रदेश सहकारी संघका प्रतिनिधि रहने उल्लेख छ । साथै सो उपसमितिको सदस्यसचिवमा महासंघका महाप्रबन्धक रहने निर्णय भएको छ ।

सहकारी ऐन २०७४ मा नै व्यवस्था भएको कर्जा सूचना केन्द्र, कर्जा असुली न्यायाधिकरण, निक्षेप तथा बचत सुरक्षण कोष समयभित्र नै कार्यान्वयन गर्न सरकार चुकेका कारण सहकारीमा चुनौती वृद्धि भएको बताइएको छ ।

महासंघले सहकारी क्षेत्रको प्रवर्द्धनमा सहयोग पुग्ने ऐनमा व्यवस्था भएको प्रावधान कार्यान्वयनका लागि ठोस कदम चाल्न सरकारलाई आग्रह गर्ने भएको छ ।

साथै महासंघले स्वनियम र स्वमूल्यांकनको विधिलाई मजबुत बनाउनका लागि समितिको स्वमूल्याङ्कन फारम तयार गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर