प्रिक्वाटरफाइनल पुग्ने अन्तिम दुई टोलीको टुंगो आज, ब्राजिल र पोर्चुगललाई अपराजित रहने चुनौती – Nepal Press

प्रिक्वाटरफाइनल पुग्ने अन्तिम दुई टोलीको टुंगो आज, ब्राजिल र पोर्चुगललाई अपराजित रहने चुनौती

दोहा। कतारमा जारी विश्वकप फुटबलअन्तर्गत शुक्रबारदेखि समूहगत चरणका खेलहरु सकिँदैछन्।

समूहगत चरणको अन्तिम दिन  प्रिक्वाटरफाइनल पुग्ने अन्तिम दुई टोलीको टुंगो लाग्ने छ। समूह जीअन्तर्गत ब्राजिलले क्यामरुन र स्वीट्जरल्यान्डले सर्बियासँग खेल्दै छ। यस्तै समूह एचमा पोर्चुगलले दक्षिण कोरिया तथा उरुग्वेले घानासँग प्रतिस्पर्धा गर्ने छ।

ब्राजिल र पोर्चुगल अघिल्ला दुवै खेल जितेर नकआउट चरण पुग्ने पक्का भइसकेको छ। समूह जीमा ब्राजिल  ६ अंकसहित शीर्षस्थानमा छ। स्वीट्जरल्यान्डको ३ तथा सर्बिया र क्यामरुनको एक एक अंक छ। यो समूहबाट स्वीट्जरल्यान्ड, सर्बिया र क्यामरुनमध्ये एक टोली अगाडि बढ्नेछन्। ब्राजिललाई पराजित गरेको अवस्थामा क्यामरुन अगाडि बढ्न सक्छ तर त्यसका लागि स्वीट्जरल्यान्डले सर्बियासँग हार ब्यहोर्नुपर्ने छ।

यस्तै स्वीट्जरल्यान्डलाई पराजित गरेको अवस्थामा सर्बिया पनि अगाडि बढ्न सक्छ तर त्यसका लागि ब्राजिलले क्यामरुनलाई हराउनुपर्ने छ। क्यामरुन र सर्बिया दुवैले जित हात पारेको अवस्थामा यी दुईमध्ये एक टोली गोलअन्तरका आधारमा अगाडी बढ्नेछन्। ब्राजिलले क्यामरुनलाई पराजित गरेको अवस्थामा आफ्नो खेल कम्तिमा बराबरी खेलेपनि स्वीट्जरल्यान्ड अगाडी बढ्ने छ।

पाँचपटकको विजेता ब्राजिल अपराजित रहँदै अगाडि बढ्ने प्रयाशमा छ। विश्वकप इतिहासका ८ विजेतामध्ये ७ टोली जारी विश्वकपमा सहभागी भएकामा ५ ले पहिलो चरणमा कम्तिमा एउटा हार ब्यहोरेका छन्।

समूह एचमा २ खेलपछि पोर्चुगलको ६, घानाको ३ तथा दक्षिण कोरिया र उरुग्वेको एक एक अंक छ। उरुग्वेसँग बराबरी खेलेको अवस्थामा पनि घाना अगाडि बढ्न सक्ने छ। यस्तै अगाडि पुग्ने सम्भावना कायम राख्न दुईपटकको विजेता उरुग्वेलाई जितको विकल्प छैन।

यस्तै पोर्चुगललाई पराजित गरेको अवस्थामा दक्षिण कोरिया पनि अगाडि बढ्न सक्ने सम्भावना छ, त्यसका लागि उरुग्वे र घानाबीचको खेल बढीमा बराबरी हुनुपर्ने छ। उरुग्वे अन्तिमपटक सन् २००२ को विश्वकपमा समूहगत चरणबाटै बाहिरिएको थियो। पोर्चुगलले बराबरी खेलेपनि समूह विजेता बन्ने छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर