माओवादी उपमहासचिव पुन आज चीन जाने – Nepal Press

माओवादी उपमहासचिव पुन आज चीन जाने

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन फलोअप उपचारका लागि आज चीन जाने भएका छन् ।

जण्डिसले नेता पुनको स्वास्थ्यमा फेरि समस्या आएपछि यसअघि उपचार गरिएको चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पताल जान लागेका हुन् । यसअघि २०७८ मंसिरमा करिब एक महिना बसेर पुनले सो अस्पतालमा उपचार गराएका थिए ।

पूर्वअर्थ तथा ऊर्जामन्त्रीसमेत रहेका उपमहासचिव पुन अहिले नेपाल-चीन नियमित उडान नभएकाले आज साँझ ७ बजे इमिरेन्टस उडानबाट दुबई, ग्वान्झाओ हुँदै सेनजेन जान लागेको सचिवालयले जानकारी दिएको छ ।

पुनसँगै उपचारका लागि पूर्वसभामुख तथा पत्नी ओनसरी घर्ती र छोरी शीला पनि जाँदैछिन् ।

काठमाडौंमा रगत, ब्लड प्रेसर, मुटुको चाल, बिलरुविनको मात्रा जस्ता परीक्षण गरेर थर्ड पिपुल्स अस्पतालका चिकित्सकसँग नियमित सम्पर्कमा रहेका पुनलाई चिकित्सकले फलोअपमा अस्पताल नै आउन सल्लाह दिएपछि आज चीन जान लागेका हुन् ।

चीन जानुअघि उपमहासचिव पुनले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री शेरबहादुर देउवासँगसमेत परामर्श गरिसकेका छन् । माओवादीमा चीनको विश्वासिलो पात्रका रुपमा स्थापित भएका पुनको चुनावलगत्तै हुन लागेको चीन भ्रमणलाई राजनीतिक रुपमा पनि हेरिएको छ । उनी नेकपा एमालेसँग सहकार्य गर्नुपर्ने पक्षमा छन् ।

चुनावअघि पनि उनी कांग्रेससँग भन्दा एमालेसँग गठबन्धन गर्नुपर्ने पक्षमा थिए । पारिवारिक स्रोतले भने उनको भ्रमण राजनीतिक उद्देश्यप्रेरित नरहेको प्रष्ट्याएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर