अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा भारत र अर्जेन्टिनाको नाटक, रङ्गमञ्च समीक्षामा अन्तरक्रिया – Nepal Press

अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा भारत र अर्जेन्टिनाको नाटक, रङ्गमञ्च समीक्षामा अन्तरक्रिया

काठमाडौं । ‘सामाजिक रुपान्तरणका लागि रङ्गमञ्चः विविधताको उत्सव’ भन्ने नारामा साथ भइरहेको नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२) अन्त्यतिर आइपुगेको छ । नौ दिवसीय महोत्सवको आठौं दिन शुक्रबार भारत र अर्जेन्टिनाको नाटक तथा विविध कार्यक्रम हुँदैछ ।

शुक्रबार राजेश सिंह निर्देशित भारतको नाटक ‘ब्ल्याकबोर्ड ल्याण्ड’ मञ्चन हुँदैछ । ९० मिनेट लामो नाटक युद्धको समयमा कुनै एकान्त ठाँउमा भेटिएका तीन व्यक्तिहरुको वरिपरि घुम्दछ । कथा अगाडि बढ्दै जाँदा, उनीहरुबीचको मतभेद र भिन्नताहरुले द्वन्द निम्त्याउँछ, फलस्वरुप उनीहरु शारीरिक हिंसामा उत्रन्छन् । ‘ब्ल्याकबोर्ड ल्याण्ड’ मध्यान्ह १२ बजे र दिउँसो ४ बजे मञ्चन हुँदैछ ।

त्यस्तै साँझ ६ बजे कस्ट्यान्जा विटअफ निर्देशित अर्जेन्टिनी नाटक ‘नोम्याड’ मञ्चन हुँदैछ । यो सांगितिक तथा शारिरीक शैलीको नाटकले सामाजिक परिवर्तनका अभियान र त्यसको गतिलाई प्रस्तुत गर्नेछ ।

किन चाहिन्छ रङ्गमञ्च समीक्षा ?

शुक्रबार प्यानल डिसकसनको विषयमा रङ्गमञ्चको समीक्षा रहेको छ । रङ्गमञ्चको समीक्षाको आवश्यकता, यसको प्रभाव, वर्तमान समीक्षा परिपाटी लगायतका विषयमा अन्तरक्रिया हुनेछ । रङ्गकर्मी र समीक्षकहरुबीचको अन्तरक्रिया कार्यक्रम दिउँसो १ बजे हुँदैछ ।

चौतारी नाटक र साङ्गितिक कविता

शुक्रबार नै नेपाल र भारतको कलाकारहरु मिलेर चौतारी नाटक ‘प्लेब्याक थिएटर’ पनि हुँदैछ । यसमा दर्शकहरुले आफ्ना जीवनमा भोगेका, देखेका वा सुनेका घटना र अनुभूतिलाई कलाकारमाझ सुनाउनेछन् । दर्शकले सुनाएका सन्दर्भलाई कलाकारहरुले तत्काल विभिन्न विधि प्रयोग गरेर नाटकीय स्वरुपमा ढालेर प्रस्तुत हुनेछन् ।

त्यस्तै साँझ ७ः३० बजे विभिन्न युवा कवि तथा संगीतवाधको कविता र संगीतको संगम हुनेछ । शुक्रबारै बिहान ८ बजेदेखि ‘सुजुकी एण्ड भिउप्वाइन्ट’ शीर्षकमा कार्यशाला सुरु भइसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *