पाँच पूर्व विश्व च्याम्पियन पहिलो चरणमै ढले, जर्मनी उठ्न सकेन – Nepal Press

पाँच पूर्व विश्व च्याम्पियन पहिलो चरणमै ढले, जर्मनी उठ्न सकेन

काठमाडौं । कतारमा जारी विश्वकप फुटबलमा पाँच पूर्व च्याम्पियनले पहिलो चरणमै कम्तिमा एउटा हार ब्यहोरेका छन्। यीमध्ये जर्मनी दोस्रो चरण नपुग्ने पक्का भइसकेको छ।

जर्मनीसहित फ्रान्स, स्पेन, अर्जेन्टिना र उरुग्वेले पहिलो चरणमै हार ब्यहारेका हुन्। स्पेन र फ्रान्स समुहगत चरणको अन्तिम खेलमा पराजित भए।तरपनि यी दुवै टोली अगाडि बढेका छन्। पहिलो खेलमा पराजित भएको अर्जेन्टिना पनि अगाडि बढिसकेको छ। उरुग्वेले समूहमा अन्तिम खेल खेल्न बाँकी छ।

विश्वकप इतिहासमा हालसम्म ८ टोलीले उपाधि जितेका छन्। तीमध्ये चारपटकको विजेता इटाली यसपटक छनोट भएको थिएन। इंल्यान्ड दुई जित र एक बराबरीको नतिजासहित अपराजित रहेर दोस्रो चरण पुगिसकेको छ। सुरुका दुई खेल जितेर अगाडि बढ्ने पक्का गरेको ब्राजिलले समूहमा अन्तिम खेल खेल्न बाँकी छ।

चरपटकको विजेता जर्मनी पहिलो खेलमा जापानसँग पराजित भएपछि संकटमा परेको थियो। दोस्रो खेलमा स्पेनसँग बराबरीमा रोकिएको जर्मनीले बिहीबार राति कोस्टारिकालाई ४–२ गोलले हराएपनि अगाडि बढ्न सकेन।

समान अंक भएको स्पेनसँग गोलअन्तरमा पछाडि रहेर अगाडि बढ्न नसकेको हो। सन् २०१४ को विश्व च्याम्पियन जर्मनी चार वर्षअघि आयोजित पछिल्लो संस्करणमा पनि पहिलो चरणबाटै बाहिरिएको थियो।

यता पहिलो खेलमा कोस्टारिकालाई ७–० गोलले हराएको स्पेन दोस्रो खेलमा जर्मनीसँग बराबरीमा रोकियो भने तेस्रो खेलमा जापानसँग २–१ गोलले पराजित भयो। स्पेन सन् २०१० को विश्व च्याम्पियन हो। यसपटक स्पेन समूह उपविजेताका रुपमा अगाडि बढेको छ। जापान समूह विजेता बन्दै अगाडि बढेको छ।

पहिलो खेलमा साउदी अरबसँग स्तब्ध भएको अर्जेन्टिना त्यसपछिका लगातार दुई खेल जित्दै समूह विजेताका रुपमा प्रिक्वार्टरफाइनलमा पुगेको छ। सन् १९७४ र १९८६ को विश्व विजेता अर्जेन्टिना सन् २०१४ को संस्करणमा फाइनलसम्म पुगेको थियो। साउदी अरब भने पहिलो चरणबाटै बाहिरिएको छ।

त्यस्तै अघिल्ला दुवै खेल जितेको फ्रान्स अन्तिम खेलमा ट्युनिसियासँग १–० गोलले पराजित भयो। साविक विजेतासमेत रहेको फ्रान्स हारका बाबजुत समूह विजेता हुनबाट रोकिएन। फ्रान्सलाई हराएको ट्युनिसिया अगाडि बढ्न भने सकेन।

दुईपटकको विश्व विजेता फ्रान्सले सन् १९९८ मा पनि उपाधि जितेको थियो। दुईपटकको विश्व विजेता उरुग्वेले पोर्चुगलसँग हार ब्यहोरेपछि संकटमा छ। शुक्रबार हुने खेलमा जित हात पारेपनि उरुग्वे अगाडि बढ्ने पक्का छैन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *