गुल्मी १ मा कसरी फिक्का भयाे प्रदीप ज्ञवालीको प्रभाव ? – Nepal Press
टिप्पणी

गुल्मी १ मा कसरी फिक्का भयाे प्रदीप ज्ञवालीको प्रभाव ?

रुपन्देही । २०७० मा बाहेक एमालेले २०५१ सालदेखि निरन्तर चुनाव जितिरहेको क्षेत्र हो गुल्मी क्षेत्र नं १ । त्यही २०७० बाहेक २०५६ सालदेखि निर्वाचन जित्दैआएका एमालेका उपमहासचिव प्रदीप ज्ञवाली यसपटक पराजित भए ।

सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीसँग थोरै मतान्तरले ज्ञवाली पराजित भए । ज्ञवाली भण्डारीसँग १५ सय मतान्तरले पराजित भएका हुन् । यहाँ एमाले एउटा प्रदेशमा मात्रै सीमित भयो ।

ज्ञवाली पराजित भएपछि एमालेले हारका आन्तरिक कारणहरु खोतल्न थालेको छ । ज्ञवालीको पराजयको मुख्य कारण सत्ता गठबन्धनलाई मात्रै देखाएर अन्य आन्तरिक समस्यालाई ढाकछोप गर्न नहुने भन्दै एमाले पंक्तिबाटै पार्टीमा दबाब बढाइएको छ । ज्ञवालीको हारले गुल्मी र सिङ्गो पार्टीलाई क्षति पुर्‍याएको भन्दै उनीहरुले गठबन्धनमात्रै मुख्य कारण नभएकोतर्फ संकेत गरेका छन् ।

गुल्मीबाट निर्वाचित भएका वेला ज्ञवाली जिल्लामा राष्ट्रिय गौरवका आयोजनाहरु ल्याउन सफल भएका थिए । रेसुङ्गा विमानस्थल, कालीगण्डकी करिडोर, जिल्ला अस्पताल भवन, थुप्रै पक्की पुल र उत्तिकै संख्यामा सडक आयोजनाका काम भए पनि निर्वाचनमा पराजय भोग्नुको कारण खोज्नै पर्नेमा एमाले नेता जंग नेपालीले जोड दिए ।

ज्ञवाली विजयी नहुनुको पीडा उनलाई भन्दा गुल्मीवासीलाई महसुस हुने एमाले लुम्बिनीका सल्लाहकार देवराज खनाल बताउँछन् । उनका अनुसार विकास निर्माणसँगै पार्टीभित्र र बाहिरका विषयमा समन्वय गर्ने क्षमताले परिचित ज्ञवाली एमालेमा मात्रै होइन बाहिर पनि रुचाइएका नेतामा पर्दछन् । गुल्मीमा सामानुपातिकतर्फ एमाले पहिलो दल बनेको छ । तर, प्रत्यक्षतर्फ शत प्रतिशत उम्मेदवार विजयी हुन सकेन ।

चन्द्र भण्डारी २०७४ सालमा एमाले-माओवादी तालमेल हुँदा ज्ञवालीसँग ५ हजार बढी मतान्तरले पराजित भएका थिए । यो क्षेत्रमा २०५१ सालदेखि कम्युनिष्टले जित्दै आएको छ । कम्युनिष्टहरुको सरकार हुँदा २०७० सालको निर्वाचनमा भने कांग्रेसका भण्डारीले नै विजयी झण्डा गाडेका थिए । २०७४ मा दुई कम्युनिष्ट एकै ठाउँमा भएर कांग्रेसका भण्डारीलाई ज्ञवालीले नै पराजित गरेका थिए । तर, यसपटक ज्ञवालीले सत्ता गठबन्धनका कारणले हार व्यहोर्नुपर्‍यो ।

ज्ञवालीले अथक प्रयासका बाबजुद अभियान सफल हुन नसकेको र विश्वासलाई मत परिणाममा बदल्न नसकेकोमा क्षमा मागेका छन् । उनले सामाजिक सञ्जालमा भनेका छन्, ‘प्रतिकूल परिणामको जिम्मेवारी म मेरै काँधमा लिन्छु, कहाँ कमीहरु रहन गए, समय क्रममा समीक्षा हुने नै छ ।’

यी हुन् पराजयका कारण

सत्ता गठबन्धनको कारण भण्डारीविरुद्ध ज्ञवालीलाई जीत निकाल्न चुनौती नै थियो । ज्ञवालीले हार्नुमा मुख्य कारण सत्ता गठबन्धन भए पनि केही आन्तरिक कारण पनि रहेको निष्कर्ष एमालेले निकालेको छ ।

एमाले कार्यकर्ताले यहाँका पार्टी नेताहरुको नामै तोकेर नेतृत्वलाई कारबाहीका लागि दबाब दिन थालेका छन् । एमाले बलियो मानिएको छत्रकोट र सत्यवतीबाट ज्ञवालीलाई कम मत आउनु नै हारको अर्को कारण हो । यहाँ एमालेकै नेताहरुबाट गम्भीर अन्तर्घात भएको स्थानीय नेताहरुले आरोप लगाएका छन् ।

छत्रकोटमा एमालेका पूर्वजिल्ला अध्यक्ष तथा पूर्वपालिका अध्यक्ष मधुकृष्ण पन्त प्रदेश सांसदका आकांक्षी थिए । तर, उनले टिकट पाएनन् । त्यसैले असन्तुष्ट बनेको र उनलाई पूर्वउपाध्यक्ष नर्मदा भण्डारी, चिरञ्जीवी पन्तलगायतले पूर्ण असहयोग गरेको उजुरी नेतृत्वमा आइसकेको छ । स्थानीय जिम्मेवारीमा रहेका चिरञ्जीवीलाई पार्टीले कारबाही गरिसकेको छ । अन्यलाई कारबाहीको तयारी भएको एमाले गुल्मीले जनाएको छ ।

एमालेका नेताहरुले नीलकण्ठ गौतम, कमलराज श्रेष्ठलगायतले पनि खुलेर सहयोग नगरेको भन्दै उनीहरुमाथि पनि छानबिनको माग गरेका छन् । एमाले जिल्ला अध्यक्ष बालसिंह काउछाले पार्टी हित विपरीतका गम्भीर अपराधमा संलग्नलाई पार्टीमा बस्ने अधिकार नभएको र कारबाही गरिने बताए ।

स्थानीय तहमा निर्वाचित उम्मेदवारले पाएको मतका आधारमा यस क्षेत्रमा एमाले पहिलो र नेपाली कांग्रेस दोसो शक्ति हुन् । स्थानीय निर्वाचनमा एमालेले ३५ हजार ७०१ मत पाउँदा कांग्रेसले ३१ हजार मत ल्याएको थियो । यस क्षेत्रमा रहेका ६ वटा स्थानीय तहमध्ये २ वटामा प्रमुख उपप्रमुख र २ वटामा उपप्रमुख एमालेले जितेको थियो ।

तर आमनिर्वाचनमा ज्ञवालीले ३२ हजार १५२ मात्रै पाए । स्थानीय तहमा भन्दा ३ हजार ५०० मत कसरी कम आयो भन्ने विषय अहिले यहाँको एमालेलाई टाउको दुखाइ भएको छ । यही मतले पनि एमालेले जीत हात पार्न नसकेकाले आन्तरिक समीक्षा गर्नुपर्ने दबाब स्थानीय पार्टी नेताहरुलाई परेको छ ।

स्थानीय तहमा पाएको मतमात्रै एमालेले आफ्नो पक्षमा पारेको भए जित्ने देखिएको एमाले लुम्बिनीका सल्लाहकार खनालको भनाइ छ । उनले एमालेभित्रैको अन्तर्घात, नेता ज्ञवालीको सचिवालयले नेता-कार्यकर्ताप्रति गरेको बेवास्ता र एमालेविरुद्धको गठबन्धन नै पराजयको मुख्य कारण रहेको बताए ।

प्रदेशसभा उम्मेदवार छनोटमा देखिएका असन्तुष्टिले पनि ज्ञवालीको हारमा केही काम गरेको एकथरि नेताहरुको विश्लेषण छ । स्थानीय भूगोलबाट भन्दा बाहिरबाट उम्मेदवार बनाएको कारणले पनि आन्तरिक असन्तुष्टि बढेको उनीहरुको भनाइ छ । उम्मेदवार पाउने आशामा रहेका जिल्लाका केही नेताहरु पनि खुलेर ज्ञवालीलाई जिताउन नलाग्नु हारको अर्को कारण बनेको उनीहरुको तर्क छ ।

अर्को कारणमा भण्डारी निर्वाचनमा पराजित भए पनि नियमित आफ्नो क्षेत्रमा क्रियाशील भएकाले मत थपिएको छ । उनीसँगै प्रदेशसभा (२) मा निर्वाचित धनेन्द्र कार्की पनि अघिल्लो पटक पराजित उम्मेदवार हुन् ।

त्यस्तै ज्ञवाली परराष्ट्रमन्त्री हुँदा चीनका लागि नेपाली राजदूत रहेका सोही क्षेत्रका लीलामणि पौडेललाई तत्कालीन सरकारले फिर्ता बोलाएको थियो । माओवादीका नेता रहेका पौडेल यस निर्वाचनमा ज्ञवालीको विपक्षमा खुलेरै लागेका थिए । पौडेल टिकटको दाबी गर्दै निर्वाचन घोषणा हुनुअघि नै यस क्षेत्रका गाउँगाउँमा पुगेका थिए ।

अर्को कारणमा ज्ञवालीको सचिवालयमा स्थानीय नेता तथा कार्यकर्ताहरुको पहुँच नपुगेको र साँघुरो बन्दै गएकाले एकथरि कार्यकर्ता तह असन्तुष्ट देखिएको थियो । गठबन्धनबाहेकको शक्तिसँग ज्ञवाली र उनको पार्टीले कुनै समन्वयको पहल गरेन । यसले गर्दा तटस्थ मत आकर्षित नभएको बताइन्छ ।

ज्ञवालीले अथक प्रयासका बाबजुद अभियान सफल हुन नसकेको र विश्वासलाई मत परिणाममा बदल्न नसकेकोमा क्षमा मागेका छन् । उनले सामाजिक सञ्जालमा भनेका छन्, ‘प्रतिकूल परिणामको जिम्मेवारी म मेरै काँधमा लिन्छु, कहाँ कमीहरु रहन गए, समय क्रममा समीक्षा हुने नै छ ।’

उनले थप भनेका छन्, ‘ओराली र उकाली यात्राका अभिन्न अङ्ग हुन् भने सफलता र विफलता जिन्दगीका अविभाज्य हिस्सा, म संसद भवनभित्र पुग्न नसके पनि मुलुक र आन्दोलनको उज्ज्वल भविष्यप्रति ममा कुनै सन्देह छैन । वैधानिक रुपमा जनप्रतिनिधिको भूमिकामा नरहे पनि तपाईंको मनको प्रतिनिधिका रुपमा दुःखसुखका हरेक पलमा तपाईंहरुले मलाई आफ्नो साथमा पाउनु हुनेछ । मेरो सिङ्गो जीवन राष्ट्र र जनताको हित, जिल्लाको समग्र विकास र जिल्लावासीहरुको सेवामा समर्पित हुनेछ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर