वडाध्यक्ष तण्डुकारको गुनासो : सुकुम्बासी र हुकुम्बासी छुट्याउन सकिएन – Nepal Press

वडाध्यक्ष तण्डुकारको गुनासो : सुकुम्बासी र हुकुम्बासी छुट्याउन सकिएन

‘इचंगुनारायणको अपार्टमेन्टमा सर्न नमान्ने वास्तविक सुकुम्बासी होइनन्’

काठमाडौं । वागमती विकास सभ्यता एकीकृत विकास समिति र काठमाडौं महानगरपालिका सोमबार संयुक्तरुपमा थापाथलिस्थित सुकुम्बासी बस्ती हटाउन डोजर लिएर पुग्यो । यसपछि सिंगो बस्तीले नै प्रतिकार गरेपछि टहरा नभत्काई डोजर फिर्यो । यसपछि सुकुम्बासी समस्या अहिले राष्ट्रिय चर्चाको विषय बनेको छ ।

वागमती सभ्यता एकीकृत विकास समितिको ०७३ को प्रतिवेदन अनुसार काठमाडौंमा एक हजार ४६५ परिवार सुकुम्बासी छन् । एडिबीको ठूलो आर्थिक सहयोगमा वागमति किनारका बस्ती हटाएर सफा वागमती बनाउने अभियानमा समितिले लामो समयदेखि काम गरिहरेको छ । थापाथलीको यो बस्तीमा ०६९ सालमा तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको सरकारले पनि डोजर चलाएको थियो ।

थापाथलीको यो सुकुम्बासी बस्ती काठमाडौं महानगरपालिकाको वडा नम्बर ११ मा पर्छ । उक्त वडाका वडाध्यक्ष हिरालाल तण्डुकार छन् । कांग्रेसबाट निर्वाचित वडाध्यक्ष तण्डुकार सुकुम्बासीका नाममा हुकुम्बासीले समस्या उत्पन्न गरेको बताउँछन् ।

प्रस्तुत छ, वडाध्यक्ष तण्डुकारसँग् गरिएको संक्षिप्त कुराकानी:

थापाथलीस्थित सुकुम्बासी बस्तीमा महानगरले डोजर लगाउन जाँदा झडपको स्थिति बन्यो । तपाईंको आफ्नै वडाअन्तर्गत परेकाले यस अवस्थालाई कसरी हेर्नुभएको छ ?

मैले हेर्ने भन्दा पनि स्थानीय सरकारलाई वागमती सभ्यता एकीकृत विकास समितिले सहयोग गर भनेकाले हामीले डोजर एक्सन लिएको मात्रै हो । हामीले त्यहाँ भएका सबै सुकुम्बासीलाई अन्याय गर्न खोजेको होइन । उहाँहरु वागमतीमा बस्नुभएको छ । त्यहाँ बस्न पाइँदैन भनेर पटकपटक सूचना पनि जारी गरिएकै हो ।

तर, हामीले सही सुकुम्बासी को हो भनेर सही तथ्यांक दिन सक्दैनौं । उहाँहरुका लागि इचंगुनारायणमा घर बनेको छ । त्यहाँ व्यवस्थापन गर्न सकिन्छ भनेर पनि भनेकै हो । उहाँहरुले मान्नुभएन । इचंगुमा घर बनाइदिँदा पनि उहाँहरु सर्न मान्नुभएन । बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा पनि सम्झाएकै हो । प्रचण्ड प्रधानमन्त्री हुँदा पनि सम्झाएकै हो । व्यवस्थापन गर्न सक्छौं भनेर पनि भनिएकै हो । तर, उहाँहरु नै मान्नुहुन्न । अनि हामी खास सुकुमबासी र हुकुमबासी खुट्याउन पनि सक्दैनौं ।

उहाँहरु इचंगुनारायणमा सर्न नमान्नुको कारण चाहिँ के हो ?

त्यहाँ जान नमान्ने वास्तविक सुकुम्बासीहरु होइनन् । हुकुमबासीहरु हुन् । उनीहरुले नै अरुलाई उक्साएका हुन् त्यहाँ नजानका लागि । तथापि सुकुमबासी र हुकुमबासी को को हो भनेर यकिनका साथ हामी भन्न सक्दैनौं । तर, सुकुमबासीका नाममा बसेका हुकुमबासीका कारण यस्तो अप्ठ्यारो आएको हो ।

हुकुमबासी भनेका चाहीँ को हुन् ?

त्यहाँ विभिन्न थरीथरीका स्वार्थ भएका मान्छे छन् । त्यहाँ छाप्रो बनाएर बहालमा दिएर आफू बाहिर बसेका मान्छे छन् । तर, हामीसँग ठोस प्रमाण छैन । त्यहाँ पहिला आएर बसेर अर्कैलाई लालपूर्जाबिनाको जमिन बेचेर जाने मान्छे पनि छन् रे । तर, हामीले सबै प्रमाण जुटाउन सकिरहेका छैनौं ।

थापाथलीका सुकुम्बासीलाई स्थानान्तरण गर्न नसकिनुका खास जड के हो ?

अहिले त्यहाँ जति बसेका छन्, उनीहरुलाई त्यहीँ व्यवस्थापन गर्न पर्यो रे ! त्यही ठाउँको नाममा लालपूर्जा दिनुपर्यो रे ! उता पहाड, तराईतिर बसेजस्तो सुकुम्बासी छैनन् यहाँ । जग्गाको लालपूर्जा दिनलाई काठमाडौंमा जग्गा छैन । वागमती किनार नै लालपूर्जा दिँदै भागवण्डा गर्न पनि सक्दैन नेपाल सरकारले ।

यसको दीर्घकालीन समाधान डोजरले भत्काउने नै हो त ?

हामीले सुकुम्बासी हौ भनेर भूमि आयोगमा दर्ता गर्न आउनु भनेकै छौं । त्यसो भन्दा आउँदैनन् । काठमाडौंमा भएका सबै सुकुम्बासीलाई जग्गा दिएर पनि साध्य छैन । मैले मेरो क्षेत्रमा के भनिरहेको छु भने सही सुकुम्बासीले हामीलाई समाधानको बाटो दिए हुन्छ नि ! मेरै क्षेत्र भएकाले धेरथोर मलाई पनि थाहा होला । भन्छन् नि, सर्पको खुट्टा सर्पले मात्रै देख्छ ।

त्यहाँ त सबैले आफूलाई सुकुम्बासी भन्दिन्छन् । सुकुम्बासी भनेर घर बनाएर छोडेर गएको छ । त्यो बेचेर गएको छ । गोप्य रुपमा हामीलाई तपाईंले विवरण दिनुस्, नाम उपलब्ध गराइदिनुस्, कहाँ व्यवस्था गर्न सकिन्छ, हामी गर्छौं भनेकै छौं । उहाँहरु नै मान्नुहुन्न ।

अनि चुनावअघिसम्म शान्त, चुनाव सकिनसाथ डोजर पुग्नुको केही राजनीतिक अर्थ छ र ?

त्यहाँ खाली गराउने भनेर अगाडि नै भनेको थियो । पछि मंसिर ५ गते गर्ने भनियो । त्यसपछि १२ गते सर्यो । हामीले निरन्तर समय दिइरहेकै छौं । अन्य राजनीतिक अर्थ त म देख्दिनँ ।

उता इचंगुनारायणमा पनि नागार्जुन नगरपालिकाका जनप्रतिनिधिले वागमती किनारतिरका सुकुम्बासीलाई आउनै नदिने बताइरहेका रहेछन् नि ?

पहिलै बस्न गएको भए सबैकुरा सकिन्थ्यो । पहिला होलो पनि थियो । तर, उहाँहरु नै ढिपी गरेर बसिरहनुभएको कारण अवस्था जटिल बन्दै गएको हो । अहिले पनि सुकुम्बासीको सही डाटा लिन जाँदा पाइँदैन । हामीले डाटा दिनुस् भनिरहेकै छौ, उहाँहरुले मानिरहनुभएकै छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *