जनमतका सचिव यादव भन्छन्: हामी सरकारमा जान्छौं, दुवै गठबन्धनबाट निमन्त्रणा आएको छ – Nepal Press
नेपाल टक

जनमतका सचिव यादव भन्छन्: हामी सरकारमा जान्छौं, दुवै गठबन्धनबाट निमन्त्रणा आएको छ

जनकपुरधाम । मधेस प्रदेशमा प्रत्यक्षतर्फ ६ सीट जितेर जनमत पार्टी उदाएको छ । जनमतबाट मधेसको प्रदेशसभा यात्रा निश्चित गरेकामध्ये एक नवनिर्वाचित प्रदेश सांसद हुन् ३२ वर्षीय सञ्जय यादव । जनमत पार्टीका केन्द्रीय सचिवसमेत रहेका यादव सिरहा २ (१) प्रदेशसभामा जनता समाजवादी पार्टीका उम्मेदवार एवं मधेसका कृषिमन्त्री विजय यादवलाई हराएर एकाएक चर्चामा आएका छन् ।

स्थानीय तह चुनावमा उनले औरही गाउँपालिका अध्यक्ष हारेका थिए । यस क्षेत्रमा जनमत पार्टीको संगठन पनि त्यति बलियो भइसकेको छैन । तर, सञ्जय अकल्पनीय जीत हासिल गर्न सफल भए । निर्वाचनको परिणाम हेर्दा मधेसमा सरकार बनाउन जनमत पार्टी निर्णायक देखिन्छ ।

यसै सन्दर्भमा निर्वाचन परिणाम, पार्टी सरकारमा जान्छ कि जाँदैन र पार्टीको भावी रणनीतिलगायतबारे उनै जनमत पार्टीका सचिव एवं नवनिर्वाचित प्रदेश सांसद सञ्जय यादवसँग गरिएको कुराकानीः

– तपाईं अकल्पनीय ढंगले विजय प्राप्त गर्नुभयो । यो कसरी सम्भव भयो ?

म जहिल्यै जनताको सम्पर्कमा बसें । साधारण जनता, जसलाई राजनीतिमा धेरै आँकलन गरिँदैन । मैले आम किसान र मजदुरहरुसँग सम्पर्क बनाएँ । विश्वास त्यहीबाट भयो कि हामी चुनाव जित्छौं । सबै जनताको आशीर्वाद प्राप्त भयो । मलाई साइलेन्ट रुपमा धेरै जनताले भोट दिएर सपोर्ट गर्नुभो, मैले चुनाव जिते ।

– यो प्रदेशमा जनमत पार्टीको संगठन पनि मजबुत थिएन । स्थानीय तह निर्वाचनमै तपाईं औरही गाउँपालिका अध्यक्षमा हार्नुभएको थियो । अहिले प्रदेश मन्त्रीलाई नै पराजित गर्नुभयो नि !

होइन, यो अकल्पनीय होइन । पालिकामा पनि मलाई सम्मानजनक नै मत आएको थियो । गाउँपालिकामा लड्दा मेरोबारेमा धेरैले जानेको पनि थिएन । मेरो परिचय पनि धेरैले बुझेको थिएन । त्यतिवेला म राजनीतिक रुपमा स्कीनमा आए । त्यसपछि मेरो बारेमा धेरैले बुझ्न पायो । दिग्गज नेतासँग लड्दा पनि सम्मानजनक मत ल्यायो, यो मान्छे ठीकै छन् भन्ने प्रदेशसम्म प्रचार भयो ।

स्थानीय तह निर्वाचनमा सबै वडामा हामीले उम्मेदवार खडा गरेका थियौं । संगठन कमजोर भए पनि सबै ठाउँमा फैलिसकेको थियो । स्थानीय निर्वाचनपछि संगठन विस्तारमा ध्यान दियौं । संगठनमा युवाहरु जोडिँदै गए । उनीहरु अब युवालाई नेतृत्व तहमा ल्याउनुपर्छ, त्यसपछि बदलाव आउँछ भनेर क्रियाशील भए । मलाई नेतृत्व तहमा पुयाए ।

स्वास्थ्य, शिक्षा, रोजगारका विषयमा प्रस्ट रुपमै भन्यौं कि हामी जहाँ स्थान पाउँछौं, त्यहीबाट कामको सुरुवात गर्छौं । जनताको जीवनसँग जोडिएको स्वास्थ्य, शिक्षा, रोजगारहरुको विषयमा प्रखर रुपमा अगाडि बढ्नेछौं ।

– चुनावी माहोल आफ्नो पक्षमा कसरी बनाउनुभयो ?

लोकतन्त्रमा पनि नेताहरुले जुन तरिकाले ठेकेदारी रुपमा राजनीतिलाई लग्दै थियो । राज्य हाम्रै छ भन्ने नेताहरुले धेरै दम्भ देखाए । अब जनताराज ल्याउनुपर्छ भन्ने कुरा हाम्रो पार्टीले अगाडि ल्यायो । भन्नुको मतलव नेताको राज चल्दैन, अब जनताराज हुनुपर्छ, जनविकास अगाडि बढ्नुपर्छ ।

अर्को, हामीले मूल रुपमा के ल्यायौं भने देशमा लोकतन्त्र र संघीयता आए पनि जनताको जीवनमा बदलाव आएको छैन । सुविधाहरुमा बदलाव आएको छैन । त्यही भएर हामीले सुलभ सुविधालाई कसरी अवलम्बन गर्न सकिन्छ भन्ने कुराहरु अगाडि ल्यायौं । स्वास्थ्य, शिक्षा, रोजगारका विषयमा प्रस्ट रुपमै भन्यौं कि हामी जहाँ स्थान पाउँछौं, त्यहीबाट कामको सुरुवात गर्छौं । जनताको जीवनसँग जोडिएको स्वास्थ्य, शिक्षा, रोजगारहरुको विषयमा प्रखर रुपमा अगाडि बढ्नेछौं ।

विगतमा सरकारमा बसेका दलका हाम्रा मित्रहरुले जुन तरिकाले बजेटको दुरुपयोग गरे, अब त्यो बजेट कसरी जनताको जीवनमा र सामाजिक क्षेत्रमा सदुपयोग गर्ने भन्नेबारे हामीले आफ्ना कुराहरु स्पष्ट रुपमा राख्दै जाँदा जनताले पनि ठीकै छ यो पालि मौका दिनुपर्छ भन्ने खालको वातावरण तयार पार्न सफल भयौं । यसले पनि चुनाव जित्न सहज भयो ।

– चुनावमा एक घर एक रोजगार, भ्रष्टाचारको अन्त्य, किसानको समस्या समाधान गर्ने जस्ता मुद्दा जोडतोडले उठाउनुभयो । अब जनतालाई बाँडेको यो सपना कसरी पूरा गर्नुहुन्छ ?

राष्ट्रिय रुपमै हाम्रो पहिलो एजेण्डा के हो भने देशलाई व्यवस्थित गर्नुछ भने पहिले हरेक घरमा एउटा रोजगारीको प्रावधान ल्याउनुपर्छ । समृद्ध देशहरु हेर्नुस्, त्यहाँ किन जनता सुखी हुन्छन् ? राज्यको हरेक सुविधा सहज रुपमा पाउँछन् त्यसैले जनता सुखी हुन्छन् । हाम्रो देशमा के भएको छ भने हुनेखानेको एउटै परिवारमा चार जनाले रोजगारी पाएका हुन्छन् । जसको पहुँच छैन, तिनीहरुले रोजगारी पाउँदैन । त्यसैले सबैको घरमा कम्तिमा एकजना रोजगार होस् भन्ने खालको अलगै कानून बन्नुपर्छ । यो काम हामी गर्छौं ।

कुरा रह्यो एक घर एक रोजगारको । यो हाम्रो अभियान हो । यो तत्कालै पूरा हुँदैन । यसका लागि लडाइँ जारी छ । हामी सडकमा लड्दै थियौं, सबैको परिवारमा कम्तिमा एउटा रोजगारको लागि । अब सदनमा लड्छौं ।

किसानका मुद्दा पनि हामीले उठाएका छौं । महिनौंसम्म आन्दोलन नै गर्‍यौं । किसानको मुद्दा सम्बोधन नहुनुमा नीतिगत समस्या पनि छ । अर्को, व्यवहारिक त्रुटिहरु पनि छन् । यहाँ नीति र नियत नै ठीक छैन । नेतृत्व तहमा पुग्नेहरुको नीति एउटा र नियत फरक हुन्छ । किसानको समस्या सम्बोधन सहज रुपले गर्न सकिन्छ । किसानहरुले कम लगानीमा बढी उत्पादन गर्न सक्छन् । अहिलेसम्म हामीले उठाएको किसानको मुद्दा सडकमा थियो । अब सरकारमा सहभागी हुँदै किसानको मुद्दाहरु सम्बोधन गराउन अघि बढ्छौं ।

कुरा रह्यो एक घर एक रोजगारको । यो हाम्रो अभियान हो । यो तत्कालै पूरा हुँदैन । यसका लागि लडाइँ जारी छ । हामी सडकमा लड्दै थियौं, सबैको परिवारमा कम्तिमा एउटा रोजगारको लागि । अब सदनमा लड्छौं । अवसर पाएपछि तत्कालै रोजगारी दिने कार्यक्रम अगाडि बढाउँछौं । यसमा हामी प्रतिबद्ध छौं ।

– रोजगारीका लागि त दक्षता पनि हुनुपर्छ । घरका हरेक मानिस त दक्ष हुँदैन । अनि रोजगारी कसरी दिने ?

रोजगारी भनेको दक्षताको मात्रै कुरा होइन । मानौं, जसको घरमा पढेलेखेको छैन । के उसको घरको मान्छे रोजगार हुनु हुँदैन ? के उसले कर तिरिरहेको छैन ? पढे लेखेरमात्र दक्ष भइदैन । फैक्ट्रीहरु खोल्यौं भने त नपढेका मानिसले पनि रोजगारी पाउन सक्छन् । दक्षताको कुरा ल्याएर रोजगारीबाट बञ्चित गर्न मिल्दैन । लेबर नै किन नहोस् । तर, रोजगार स्थायी हुनुपर्छ । महिनामा १५ हजार नै कमाओस् । तर, हरेक महिना ती व्यक्तिले पारिश्रमिक पाउनुपर्छ । जसले जे काम गर्न सक्छन्, त्यससँगै सम्बन्धित रोजगारी सृजना गर्न सक्नुपर्छ ।

जो तीन भाई डाक्टर छन् वा इञ्जिनियर छन् भने उनीहरुले त सबै काम पाउँछन् नै । तर, जसको घरमा पढेलेखेका छैनन्, ती व्यक्तिलाई पनि कुनै न कुनै सीप सिकाएर रोजगारी दिनुपर्छ । मतलब पढेलेखेकालाई मात्र होइन, किसान, गरिब, दलितका छोराछोरी सबैले रोजगारी पाउनुपर्छ भन्ने हाम्रो भनाइ छ ।

हामी सरकारमा जान्छौं नै । तर, अहिले नै कता लाग्ने निर्णयमा पुगिसकेका छैनौं । यद्यपि सत्ता गठबन्धनको नजिक हामी छौं । उहाँहरुसँगै सरकारमा जाने सम्भावना पनि छ । दुई/तीन दिनपछि कता जाने कुरा स्पष्ट भइहाल्छ ।

– तपाईं पार्टीको केन्द्रीय सचिव पनि हुनुहुन्छ । अहिलेको चुनावी परिणाम हेर्दा सत्ता गठबन्धन र एमाले–जसपा गठबन्धनले बहुमत प्राप्त गरेको छैन । सरकार बनाउन जनमत पार्टी निर्णायक बनेको अवस्थामा तपाईंहरु के गर्नुहुन्छ ?

सरकारमा जाने विषयमा पार्टीमा सकारात्मक कुरा भएको छ । तर, कता जाने भन्ने कुरा छलफलको विषय हो । हाम्रा अध्यक्षज्यू काठमाडौं जानुभएको छ । सत्ता गठबन्धन र एमाले-जसपा गठबन्धन दुबैबाट आमन्त्रण आएको छ सरकार बनाउने विषयमा । हामी सरकारमा जान्छौं नै । तर, अहिले नै कता लाग्ने निर्णयमा पुगिसकेका छैनौं । यद्यपि सत्ता गठबन्धनको नजिक हामी छौं । उहाँहरुसँगै सरकारमा जाने सम्भावना पनि छ । दुई/तीन दिनपछि कता जाने कुरा स्पष्ट भइहाल्छ ।

– मधेस प्रदेशमा जनमत पार्टीले मुख्यमन्त्री माग्यो भन्ने चर्चा पनि चलेको छ । तपाईं मुख्यमन्त्रीको दावेदार हो र ?

अहिले पार्टीले यो विषयमा स्पष्ट धारणा बनाएको छैन । पार्टीको कार्यकारिणी कमिटीबाट मैलेमात्र प्रदेशमा प्रत्यक्ष चुनाव जितेको छु । त्यही भएर मलाई अगाडि सार्ने कुरा आउन सक्छ । हुन त केही पदाधिकारी समानुपातिकबाट पनि आउनुहुन्छ । त्यसैले अहिले नै स्पष्ट रुपमा भन्न सक्दिनँ ।

– प्रदेशमा सरकार बनाउनुपर्छ भनेर ठूला दलबाट अफर आएको छ कि छैन ?

स्पष्ट रुपमा आइसकेको छ । दुवै गठबन्धनका साथीहरु सम्पर्कमा हुनुहुन्छ । उहाँहरुले सरकार मिलेर बनाउनुपर्छ भन्नुभएको छ । सरकारमा त जान्छौं । तर, अहिले पार्टीभित्र छलफल चल्दैछ । त्यसैले केही समय पर्खिन हामीले भनेका छौं ।

– तपाईले अघि सत्ता गठबन्धनसँग नजिक छौं भन्नुभयो । मतलब मुख्यमन्त्री नदिए पनि सत्ता गठबन्धनसँगै मन्त्री लिएर जाने सम्भावना छ ?

मधेस प्रदेशको नेतृत्व लिने चाहना हाम्रो छ । कतातिर नेतृत्व दिन्छ, उतै जाने भन्ने पार्टीमा एउटा धार छ । अर्को धार भनेको नेतृत्व नभए पनि अलि पकड बनाएर सरकारमा जाने पनि छ । यो विषयमा पार्टीको निर्णय जे हुन्छ, हामी सबैले मान्छौं ।

देश समृद्ध बनाउनुपर्छ । समानता ल्याउनुपर्छ । समावेशीताका कुरालाई तटस्थ रुपमा अगाडि बढाउनुपर्छ । यसका लागि अन्य दलका साथीहरुलाई पनि कन्भिन्स गर्छौं । उहाँहरुले सहयोग गर्नुहुन्छ भन्ने विश्वास छ । सबै दल मिल्यौं भने असम्भव केही छैन ।

– सरकारमा गएर जनतालाई बाँडेका सबै सपना पूरा गर्न सक्छौं जस्तो लाग्छ तपाईंलाई ?

असम्भव त केही छँदै छैन । हामीले बनाएको धारणामा सबै दललाई पनि सहमत गराउन प्रयास गर्छौं । देश समृद्ध बनाउनुपर्छ । समानता ल्याउनुपर्छ । समावेशीताका कुरालाई तटस्थ रुपमा अगाडि बढाउनुपर्छ । यसका लागि अन्य दलका साथीहरुलाई पनि कन्भिन्स गर्छौं । उहाँहरुले सहयोग गर्नुहुन्छ भन्ने विश्वास छ । सबै दल मिल्यौं भने असम्भव केही छैन । चुनावमा जनतासँग गरिएका वाचाहरु पूरा गर्न हरसम्भव प्रयास गर्छु ।

– तपाईंले मन्त्री भएर के के काम गर्ने सोच छ ?

मन्त्री बन्ने/नबने निश्चित छैन । यो विषयमा पार्टीले निर्णय गर्छ । तर, पार्टीले मलाई जिम्मेदवारी दियो भने विगतमा सरकारमा रहेका साथीहरुभन्दा केही नौलो काम गरेर देखाउँछु । जसले जनताको जीवनमा परिवर्तन ल्याउँछ । स्वास्थ्य र शिक्षामा नयाँ वातावरण बनाउँछु । म छिट्टै स्वास्थ्य र शिक्षा क्षेत्रको सुधार कसरी गर्न सकिन्छ भन्ने एउटा धारणा सार्वजनिक गर्छु । खासगरी शिक्षाविद्हरुसँग यो विषयमा अन्तरक्रिया गर्ने पनि योजना बनाएको छु । स्थानीय सरकारहरुको पनि सहयोग पाए भने शिक्षा र स्वास्थ्य क्षेत्रमा बदलाव ल्याएर देखाउँछु ।

– अन्तिममा, चुनावमा उम्मेदवारहरुबीच खर्च गर्ने प्रतिस्पर्धा पनि चल्यो । चुनाव जित्न तपाईंले कति खर्च गर्नुभयो ?

यो त जनतालाई थाहै होला (हाँस्दै) । मैले त वडाध्यक्ष जतिको पनि खर्च गरेको छैन । १० देखि १५ लाखभित्रै खर्च भएको छ । खर्च त धेरै गरेनौं । परिश्रम धेरै गर्‍यौं । नेता, कार्यकर्ता र जनता दिनरात खट्नुभएको छ ।


प्रतिक्रिया

One thought on “जनमतका सचिव यादव भन्छन्: हामी सरकारमा जान्छौं, दुवै गठबन्धनबाट निमन्त्रणा आएको छ

  1. सरकारमा जाने, मन्त्री खाने, कमाउने । यहि गर्नलाई त तिमीहरू जन्मेका । भारतका दलालहरूलाई उसले सरकारमा जा भनिरहेको छ । र एजेण्टहरू उसको आदेशको पालना गरिरहेका छन् ।

Leave a Reply to ksp pyl Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर