पुरातत्वविद रामनिवास पाण्डेयलाई यसरी सम्झिए विज्ञहरुले – Nepal Press

पुरातत्वविद रामनिवास पाण्डेयलाई यसरी सम्झिए विज्ञहरुले

काठमाडौं । कपिलवस्तुका पुरातात्विक सम्पदाको अध्ययन र अनुसन्धानमा संस्कृति एवम् पुरातत्व विषयका अध्येता रामनिवास पाण्डेयको महत्वपूर्ण योगदान रहेकामा जोड दिइएको छ ।

नेपाल प्रज्ञा-प्रतिष्ठानद्वारा वरिष्ठ पुरातत्वविद् प्रा.डा. रामनिवास पाण्डेयको १९ औँ स्मृति दिवसका अवसरमा वुधबार आयोजना गरिएको ‘कपिलवस्तुका पुरातात्विक उपलब्धिहरू’ विषयक विचार-गोष्ठीका वक्ताहरूले पाण्डेयले त्रिभुवन विश्वविद्यालयको संस्कृति विभागमा प्रमुख हुँदा पुर्याएको योगदानसमेत स्मरण गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि नेपाल प्रज्ञा-प्रतिष्ठानका निवर्तमान कुलपति गङ्गाप्रसाद उप्रेतीले पाण्डेयले अवधी भाषा र संस्कृतिको प्रवर्दनमा पाण्डेयको भूमिका महत्वपूर्ण रहेको बताए । उनले नेपालले विश्वलाई दर्शन र सभ्यता दिएपनि प्रचार प्रसार गर्न नसक्दा ती दक्षिण एसियाका भनी स्थापित भएकाले अब यस्ता विषयमा ध्यान दिनुपर्नेमा जोड दिए । ‘हिमवत्खण्डले विश्वमा नेपालको आकर्षण बढ्यो, धेरै विदेशी आए, पुरातात्विक अन्वेषण सुरु भयो, नेपालको गरिमाका विषयमा विश्वको ध्यानाकर्षण भयो’, निवर्तमान कुलपति उप्रेतीले भने ।

सभाका अध्यक्ष एवम् निमित्त कुलपति डा. जगमान गुरुङले त्रिभुवन विश्वविद्यालयको संस्कृति विभागसँग मिलेर पाण्डेयका विषयमा अझै अध्ययन अनुसन्धान गरिने प्रतिबद्धता जनाए । प्रमाणका आधारमा प्राचीन कपिलवस्तु तिलौराकोटमै रहेको भन्ने प्रमाणित भएको र त्यसमा पाण्डेयको भूमिका महत्वपूर्ण रहेको उनको भनाइ थियो । इसापूर्व एक हजार ३०० वर्ष पहिलेको अवशेष कपिलवस्तुको उत्खनन्का बेला फेला परेकाले यसलाई पुष्टि गर्ने निमित्त कुलपति गुरुङले बताए ।

निमित्त सदस्य सचिव प्रा.डा. हेमनाथ पौडेलले पुरातत्व उत्खनन्, अध्ययन, अनुसन्धान, चिन्तन र मनन्को विषय भएको बताए । उनले यस क्षेत्रमा धेरै काम गर्न बाँकी रहेको बताए ।

त्रिभुवन विश्वविद्यालय नेपाली इतिहास, संस्कृति र पुरातत्व केन्द्रीय विभागका प्रमुख प्रा डा. सोमप्रसाद खतिवडाले पाण्डेयले स्थापना गरेको विभागको सङ्ग्रहालय लथालिङ्ग भएको जानकारी गराए । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त विभागको भवन स्रोतको अभावमा पुनःनिर्माण हुन नसकेको उनको दुःखेसो छ । जसका कारण भवनमा पानी चुहिने समस्या छ ।

त्रिभुवन विश्वविद्यालयमा बौद्ध दर्शन अध्ययनको सुरुवात् पनि पाण्डेयले नै गराउनुभएको खतिवडाले स्मरण गरे । विभागमा गुणस्तरीयता कायम नगरे विघटनको खतरा रहेकाले पनि यसतर्फ सरोकार भएकाको ध्यान जानुपर्नेमा उनले ध्यानाकर्षण गराए ।

त्रिवि संस्कृति विभागका पूर्व प्रमुख प्रा.डा. प्रेमकुमार खत्रीले पाण्डेयले अनुसन्धानलाई अध्ययनमा जोडेकाले पुरातत्व एवम् संस्कृतिको महत्व बढेर गएको सुनाए । पाण्डेय जुनसुकै पुरातात्विक स्थलमा पुग्दा पनि त्यससँग सम्बन्धित सामग्री सङ्कलन गरेर ल्याए । ती सामग्री एवम् कागजातलाई उनी छुट्टाछुट्टै पोका बनाएर राखे । एउटा पोकाबाट एउटा पुस्तक बन्ने आफूलाई पाण्डेयले सुनाएको पनि खत्रीले कार्यक्रममा जानकारी गराए ।

पुरातत्व विभागका प्रमुख पुरातत्व अधिकृत रामबहादुर कुँवरले ‘कपिलवस्तुका पुरातात्विक उपलब्धिहरु’ विषयमा प्रस्तुति गर्नुहुँदै सन् १९६२ देखि २०२२ सम्म कपिलवस्तु क्षेत्रमा भएका अध्ययन, अनुसन्धान र उत्खनन्का उपलब्धिहरुका बारेमा प्रकाश पारेका थिए ।

भारतीय पुरातत्वविद् पूर्णचन्द्र मुखर्जीले सन् १९०१ मा कपिलवस्तु र लुम्बिनी क्षेत्रमा अध्ययन गरेर प्रकाशित गरेको प्रतिवेदनमा पनि तिलौराकोट नै प्राचीन कपिलवस्तु उल्लेख गरिएको सो अवसरमा उनले जानकारी गराए । तिलौराकोटमा सन् १९६२ देखि २०१० सम्म धेरै अनुसन्धान भएका थिए । तिलौराकोटलाई सम्भावित विश्व सम्पदा क्षेत्रका रुपमा राखी विभागले पूर्वाधार निर्माणका काम गरिरहेको जनाइएको छ ।

सन् २०१५ को उत्खनन्ले तिलौराकोटमा ठुलो पोखरी भेटिएको छ । यही पोखरीबाट प्रभावित भएर राजधानी काठमाडौँमा पनि पोखरी र ढुङ्गेधारा निर्माण भएको हुनसक्ने अनुमान गरिएको प्रमुख पुरातत्व अधिकृत कुँवरले जानकारी गराए । उत्खनन्का क्रममा तिलौराकोटमा मौर्यकालका मुद्रा पनि भेटिएको थियो । विभागले तिलौराकोट क्षेत्रमा उत्खनन्सँगै संरक्षणको काम पनि गरिरहेको छ ।

अवधी सांस्कृतिक विकास परिषद्का सचिव विक्रममणि त्रिपाठीले पाण्डेय पुरातत्व विषयका नेपालमै पहिलो स्नातकोत्तर भएको उल्लेख गरे । नेपालका दशनामी सन्यासी, नेपालको पौराणिक इतिहासलगायत पुस्तक पाण्डेयले लेखेको पनि उनले जानकारी गराए ।

तस्बिरः ध्रुव खनाल


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर