पानीमा बेइमानी: उपभोक्ता महँगो मूल्य तिर्न बाध्य – Nepal Press

पानीमा बेइमानी: उपभोक्ता महँगो मूल्य तिर्न बाध्य

काठमााडौं । सरकारले पानीको मूल्य घटाएको लामो समय भइसक्यो । सरकारले असोज २६ गते पानीको मूल्य घटाउने निर्णय गरेको हाे । वस्तुको मूल्य निर्धारण गर्ने निकाय वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक लिटरको मिनरल वाटर प्रतिबोतलकाे १६ रुपैयाँ मूल्य तोकेको छ । त्यस्तै २० लिटरको जारको पानीकाे ४७ रुपैयाँ नयाँ मूल्य तोकिएको छ ।

तर, उक्त निर्णय अहिलेसम्म कार्यान्वयनमा आउन सकेको छैन । बजारमा १६ रुपैयाँ पर्ने एक लिटर बोतलको पानीलाई उपभोक्तासँग २० रुपैयाँ लिइँदै आएको छ । त्यस्तै ४७ रुपैयाँ पर्ने २० लिटरको जारको पानीलाई ५० रुपैयाँ असुल्दै आएको छ ।

उद्योगले बोतलमै खुद्रा मूल्य (एमआरपी) १६ रुपैयाँ कायम गरे पनि उपभोक्ता कम्तीमा २० रुपैयाँ तिर्न बाध्य छन् । यसरी उपभोक्ताहरु ठगिँदा पनि सरकार तथा उपभोक्तावादी संघसंस्थाहरु मौन छन् । उपभोक्ताहरुले बजार अनुगमन गरी तोकिएभन्दा बढी मूल्य असुल्नेलाई कारबाही गर्नुपर्नेमा जोड दिए ।

उपभोक्ता सुरज कार्कीले बोतलमै उल्लेख मूल्यभन्दा बढी रकम लिएको गुनासो गरे । ‘बोतलमै १६ रुपैयाँ मूल्य उल्लेख छ । तर, पसलेले २० रुपैयाँ नै लिई छाड्यो’, उनले भने, ‘२० रुपैयाँ दिएर एक बोतल पानी लिएपछि बाँकी ४ रुपैयाँ माग्दा पसलेले उल्टै पानी फिर्ता माग्यो ।’

पानीको मूल्यमा उपभोक्ता ठगिँदा पनि सरकार र उपभोक्तावादी संघसंस्थाले ध्यान नदिएकोमा उनले आक्रोश पोखे ।

उपभोक्ता ठगिएकोबारे उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योति बानियाँले विभागले मूल्य घटाए पनि कार्यान्वयनमा नआउनु दुःखद भएको बताए । विभागले तोकेको नयाँ मूल्य प्राविधिक हिसाबले ठीक नभएको उनको भनाइ छ ।

‘मूल्य अझै कम गर्न सकिन्थ्यो । तर, त्यो प्रयास विभागले गरेन’, बानियाँले भने, ‘नयाँ कायम गरेको मूल्यसमेत लागू गर्न विभाग चुकेको छ, लागू हुन सकेको छैन ।’

उनका अनुसार उद्योगले ९ रुपैयाँमा उत्पादन गरेर बजार पठाउने मिनिरल वाटरको मूल्य १६ रुपैयाँ नै धेरै हो । उनले संसदीय समितिले दिएको निर्देशनको आधारमा मूल्य घटाउन सुझाव दिए ।

‘सरकारले चाहेमा ९ रुपैयाँ उद्योग लागत रहेको मिनिरल वाटरको मूल्य अझै घटाउन सकिन्छ’, उनले भने ।

विभागले गरेको निर्णयानुसार उद्योगहरुले बजारमा घटेको मूल्यमा जार तथा बोटलको पानी पठाइसकेका छन् । तर, व्यापारी तथा व्यवसायीहरुले उपभोक्तासँग पहिलेकै बढी मूल्य असुलिरहेका छन् ।

कालिमाटीका किराना पसल सञ्चालक किरण देवकोटाले उपभोक्ताले नै बढी मूल्य तिर्ने गरेको प्रतिक्रिया दिए । उनले खुद्रा मूल्य १६ रुपैयाँ भए पनि ग्राहकसँग २० रुपैयाँ लिँदै आएका छन् ।

‘ग्राहकले नै २० रुपैयाँ दिने गरेका छन्’, पसले देवकोटाले भने, ‘सप्लार्यसले नै हामीसँग १५ रुपैयाँ लिन्छ । एक रुपैयाँमात्रै नाफा खाएर पानी बिक्री गर्न सकिँदैन । त्यसैले मूल्य घटेर आए पनि २० रुपैयाँमै बिक्री गरिरहेका छौं ।’

उनका अनुसार जारको पानी पनि ५० रुपैयाँमा नै बिक्री भइरहेको छ । तर, कुनै कुनै ग्राहकले तोकिएभन्दा बढी मूल्य किन तिर्ने भनेर झगडा गर्ने गरेको उनको भनाइ छ ।

विभागका अनुसार तोकेको मूल्यभन्दा बढी रकम लिन पाइँदैन । तर, बजारमा मूल्य नियन्त्रण गर्ने कसले ?

विभागको निर्णयानुसार काठमाडौं उपत्यकामा एक लिटर बोतलको १६ रुपैयाँ र काठमाडौं बाहिर २० रुपैयाँसम्ममा बिक्री वितरण गर्न पाइन्छ । तर, काठमाडौं उपत्यकामै मूल्यमा एकरुपता छैन । यहाँ २० देखि ३० रुपैयाँभन्दा बढी मूल्यसमेत मिनरल वाटर बिक्री भइरहेको छ । काठमाडौं उपत्यकाबाहिर पनि यही स्थिति छ ।

पानीको नयाँ मूल्य तोकेको विभागले कार्यान्वयनमा ध्यान दिएको छैन । विभाग नयाँ मूल्यभन्दा महँगोमा पानी बिक्री गरेमा विक्रेतालाई कारबाही हुने बताउँछ । तर, अहिलेसम्म कारबाही भएको खोइ त ?

विभाग​का महानिर्देश महेश भट्टराई भन्छन्, ‘ बजारमा पानीको मूल्य घटाउन अनुगमन भइरहेको छ । विभागले पानीको मूल्य घटाउँदा पनि उपभोक्ताले ज्ञानको कमीका कारण २० रुपैयाँ तिररहेका हुन् भने हामी उपभोक्तालाई मूल्य घटेर १६ रुपैयाँ भएको छ भनेर सचेत गराउने काम गर्छौं । व्यापारी वा पसलेले २० रुपैयाँ नै मागेको पाइए तत्काल कारबाही गर्छौं ।’

विभागबाट नियमित बजार अनुगमन भइरहेकोसमेत उनले जिकिर गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर