भाइरल भिडियोको छानबिन गरी कारबाही गर्न मधेशी आयोगद्वारा प्रहरीलाई पत्राचार


काठमाडौं । विगत केही दिनदेखि सामाजिक संजालमा भाइरल मधेशी समुदायलाई लक्षित गरी अपमानजनक शब्द प्रयोग गरेको भिडिओप्रति मधेशी आयोगले कारबाहीको प्रक्रिया अघि बढाएको छ । मधेशी समुदायका अगुवाले आयोगमा यस बारेमा उजुरी दिएपछि आयोगका अध्यक्ष डा. विजयकुमार दत्तको निर्देशनमा आयोगले उजुरीलाई दर्ता गरी आवश्यक कारबाहीको प्रक्रिया अघि बढाएको हो ।
काठमाडौं महानगरपालिकाले सुकुम्बासी बस्तीलाई खाली गराउने कुराको विरोधमा उत्रेका केही व्यक्तिले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाह र मधेशी समुदायलाई धोती जस्ता होच्याउने र अपमानजनक शब्द प्रयोग गरेको भिडिओ अहिले सामाजिक संजालमा निकै भाइरल छ । आयोगले गृह मन्त्रालय र नेपाल प्रहरीलाई भिडियो माथि छानबिन गरी कारबाही गर्न पत्राचार गरेको आयोगका अध्यक्ष दत्तले नेपाल प्रेसलाई जानकारी दिए ।
समाजमा चेतनाको स्तर अझै पनि नबढेकोले गर्दा मधेशी समुदायले समय-समयमा यस्ता विभेदपूर्ण कुराको सामना गर्नु परिरहेको अध्यक्ष दत्तले बताए ।
उनले आयोगमा सबै भन्दा बढी समुदायप्रति लक्षित गरी व्यक्ति तथा संस्थाले अपमानजनक शब्द तथा क्रियाकलाप गरेको उजुरी आउने गरेको र त्यस्ता उजुरीप्रति आफु सचेत रहेको तथा आयोगले तुरुन्तै आफ्नो कारवाहीको प्रक्रिया अघि बढाउने गरेकोसमेत बताए ।
मधेशी समुदायप्रति प्रहार नगर्न पनि अध्यक्ष दत्तले सबैलाई अनुरोध गरेका छन् ।