राप्रपा प्रवक्ता भन्छन्- हाम्रो एजेन्डा जनताबाट अनुमोदन भयो, अब संसद र सडकबाट दबाब सिर्जना गर्नेछौं – Nepal Press

राप्रपा प्रवक्ता भन्छन्- हाम्रो एजेन्डा जनताबाट अनुमोदन भयो, अब संसद र सडकबाट दबाब सिर्जना गर्नेछौं

काठमाडौं । लामो समयदेखि सिथिल बन्दै गएको राष्ट्रिय प्रजातन्त्र पार्टी चुनावपछि केही बौरिएको छ । प्रतिनिधिसभा र प्रदेशसभा चुनावपछि प्राप्त मतपरिणामबाट पार्टीका नेताहरुले सन्तोष मानेका छन् ।

राप्रपाले प्रत्यक्षतर्फ ७ सिट जितेको छ भने समानुपातिकतर्फ पनि उत्तिकै संख्यामा सिट सुरक्षित गर्ने देखिन्छ । अघिल्लो चुनावमा थ्रेसहोल्ड कटाउन नसकेर राष्ट्रिय पार्टीको हैसियत गुमाएको राप्रपाका लागि यो उत्साहजनक नतिजा हो । यद्यपि, पार्टीका प्रवक्ता मोहन श्रेष्ठ भने परिणाम सन्तोषजनक भए पनि अपेक्षित अझै नभएको बताउँछन् ।

‘हामीले अघिल्लो चुनावको तुलनामा राम्रो कमब्याक गरेका छौं । यद्यपि, चुनावअघि योभन्दा पनि राम्रो परिणामको आंकलन गरेका थियौं । तर, विभिन्न बाह्य कारणहरुले गर्दा अलिकति चुक्यौं,’ उनले भने ।

राप्रपाले खासगरी समानुपातिकतर्फ निकै बढी आशा राखेको थियो । तर, यसपालीको चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टीको ह्वीमले राप्रपालाई अलिकति धक्का पुग्यो । प्रत्यक्षमा पनि आशा राखिएका दुई सिटमा घन्टीकै कारण पार्टीका उम्मेदवार पराजित बनेको राप्रपा नेतृत्वको निस्कर्ष छ ।

पार्टी प्रवक्ता श्रेष्ठ अर्को निर्वाचनमा राप्रपालाई देशकै नेतृत्वदायी शक्ति बन्न यो चुनावले आधार प्रदान गरेको बताउँछन् । यसपालीको जनादेशले चाहीँ पार्टीलाई प्रतिपक्षमै बसेर सरकारको कडा निगरानी गर्ने सन्देश दिएको उनको बुझाइ छ । प्रवक्ता श्रेष्ठसँग चुनावी नतिजा र भावी सरकारसम्वन्धी पार्टीको रणनीतिलाई लिएर गरिएको कुराकानीः

यसपालीको चुनाव परिणामबाट कत्तिको उत्साहित हुनुहुन्छ ?

समग्रमा चुनावको परिणाम अपेक्षित त होइन हाम्रो लागि । योभन्दा धेरै बढी आंकलन गरेका थियौं । तथापि अघिल्लो चुनावको नतिजासँग तुलना गर्दा सन्तोषजनक छ । ७४ सालको चुनावमा हामी प्रत्यक्षमा १ सिटमा खुम्चिएका थियौं भने समानुपातिकमा पनि थ्रेसहोल्ड कटाउन सकेनौं । अहिले त्योभन्दा १४ गुणा बढी प्रगति गरेका छौं ।

अब यही परिणामको जगमा टेकेर एउटा सबल पार्टी बनाउन सकिन्छ भन्ने हामीलाई विश्वास छ । राप्रपाले लिएका एजेन्डाहरु अनुमोदित भएका छन् । आगामी दिनमा यसलाई कसरी अगाडि बढाउने भन्ने हाम्रै क्षमतामा भर पर्ने कुरा हो । राप्रपाका राजनीतिक एजेन्डाको सान्दर्भिकता अझै बढेको भन्ने चुनावी परिणामले देखाउँछ ।

अघिल्लो चुनावको तुलनामा परिणाम सुध्रिनुको मुख्य कारण के हो जस्तो लाग्छ ?

मुख्य कारण भनेको नेतृत्व परिवर्तन नै हो । गत मंसिरको महाधिवेशमा हामीले पार्टीको नेतृत्व परिवर्तन गर्यौं । राप्रपाको भविष्य के हुने भन्ने सन्देहको अवस्थामाझ हामीले त्यो महाधिवेशनमार्फत पार्टीको नेतृत्वको परिवर्तन गरेका थियो । त्यही महाधिवेशनले पार्टीलाई नयाँ जीवन दियो ।

दोस्रो कारण भनेको नेतृत्वले लिएको सुशासनप्रतिको दृष्टिकोणले पनि मतदातालाई आकर्षित गर्यो । हामीले भ्रष्टाचार गर्नु भनेको आमाको रगत खानु बराबर हो भनेर लिएको मान्यता लिएका छौं ।

नम्बर तीन, हामीले विगतमा गरेको गल्ति दोहो¥याएनौं । ०७४ सालमा हामीले ५ वटा सिटमा गठवन्धन गरेर १६० सिट कांग्रेसलाई छोडिदिएका थियौं । यसपाली पनि हामीलाई त्यस्तो प्रस्ताव नआएको होइन । केन्द्रीयस्तरमै गठवन्धन गर्ने प्रस्ताव आएको थियो । तर त्यो अस्वीकार गरेर केही स्थानमा मात्रै तालमेल गर्यौं । तीन ठाउँमा एमालेसँग तालमेल गर्यौं र १४२ ठाउँमा उम्मेदवारी दियौं । विगतको गल्ति दोहोर्याएनौं ।

अर्को कुरा, हामी ११ महिनाको बीचमा ३ वटा चुनावमा जानुपर्यो । महाधिवेशन लगत्तैका कतिपय आन्तरिक व्यवस्थापन र सांगठनिक सुदृढीकरणका कामहरु हामीले गर्न भ्याएनौं, पाएनौं । तर पनि ०७४ को चुनावभन्दा स्थानीय तहको निर्वाचनमा गुणात्मक प्रगति गर्न सक्यौं । त्यसले हाम्रो बेस बनायो । अब यति प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा यतिसम्म गर्न सकिन्छ भनेर नयाँ रणनीतिहरु बनायौं । त्यसैको नतिजा राप्रपाको मतपरिणाम हो । र, हामीलाई एजेन्डाको मत पनि प्राप्त भएको छ ।

एजेन्डा भनेको राजसंस्था ?

त्यसरी छुट्याएर नहेरौं । तर, राप्रपाले लिएको एजेन्डाहरुको सान्दर्भिकता बढेर गएको स्पष्टै देखिन्छ ।

समानुपातिकमा तपाईंहरुले सोचेजस्तो आँधिहुरी किन ल्याउन सक्नुभएन ?

एक त हामीले गठबन्धन र तालमेलबीचको भ्रम चिर्न सकेनौं । जनताले हाम्रो एमालेसँगको तालमेललाई सत्तारुढ पाँच दलीय गठबन्धनजस्तै अर्थमा बुझे । राप्रपा एक्लै चुनावमा जावस भन्ने जनचाहना थियो । तर पाँच दलबीच गठवन्धन भइसकेपछि केही सिट सुरक्षित गर्न हामीले पनि अर्को शक्तिसँग मिल्नैपर्ने आवश्यकता भयो । अन्यथा राप्रपाको धारणा एक्लाएक्लै चुनाव लड्नुपर्छ भन्ने नै हो । सरकार बनाउँदा गठवन्धन गर्नु स्वभाविक हुने भए पनि चुनावमा आ–आफ्ना एजेन्डा लिएर जनतामा जानुपर्छ भन्ने मान्यता हाम्रो छ । गठवन्धनको संस्कृति गर्दा जनताको अधिकार संकुचित भयो ।

अर्को के भने, थुप्रै भोटहरु अनिर्णित अवस्थामा थिए । जता पनि स्वीङ हुन सक्ने ती भोटलाई हामीले तान्न सकेनौं । घन्टीले तान्यो । घन्टीको अप्रत्याशीत उदयले पनि हामीलाई समानुपातिकमा अलिकति धक्का लाग्यो । यद्यपि, घन्टीले हामीलाई भन्दा बढी ठूला पार्टीहरुलाई नै क्षति पुर्याएको छ ।

चुनावमा तालमेल गरेर गल्ति गरियो भन्ने महसुस भएको हो ?

सत्तारुढ पाँच दल मिलेपछि केही सिट सुरक्षित गर्न हामी तालमेलमा गएका हौं । राष्ट्रिय पार्टी बन्नका लागि कम्तीमा एक सिट जित्नैपर्ने दवाव पनि छ । त्यसैले हामीले जोखिम मोल्न चाहेनौं । तर, हामीले तालमेल र गठवन्धनको फरक चाहीँ जनतालाई बुझाउन सक्नुपथ्र्यो । त्यसरी बुझाउन नसक्दा हाम्रो समानुपातिक मतमा प्रभावित पर्यो ।

भन्नाले एमालेसँगको तालमेल खासै फलदायी भएन ?

तालमेल त फलदायी नै भयो । प्रत्यक्षमा एमालेसँग तालमेल गरेका स्थानमा हामीले जितेका छौं ।

यो चुनावमा तपाईंहरुले जित्ने आशा राखेका तर हार व्यवहोरेका स्थानहरु कुन कुन हुन् ?

काठमाडौं १ लाई नै हामीले जित्ने सूचीमा राखेका थियौं । काठमाडौं-२ मा पनि जित्ने ठूलो सम्भावना थियो । रेखा थापाको निर्वाचन क्षेत्रमा पनि राम्रो माहोल देखिएको थियो । यस्ता अरु केही स्थानहरु हामी गुमायौं ।

काठमाडौंका दुई क्षेत्रमा राप्रपालाई घन्टीले रोक्यो होइन ?

हो, दुई स्थानमा घन्टीकै कारण हामी हार्यौं । मत परिणामले नै त्यो देखायो नि ।

अब अघिल्लो चुनावमा एकजना मात्रै सांसद हुनुहुन्थ्यो । यसपाली १३ जना थपिनुभएको छ । अब संसदमा राप्रपाको भूमिका कस्तो हुन्छ ?

यो मत परिणामको जगमा टेकेर अगाडि बढ्ने बलियो धरातल राप्रपाले प्राप्त गरेको छ । हामी आफ्नो एजेन्डाका पक्षमा संसद र सडक दुवैबाट बलियो ढंगले प्रस्तुत हुन्छौं । संसदमा हामी यतिमा सन्तोष गरेर बस्ने वाला छैनौं । हाम्रा कार्यभार बाँकी छन् । जनताले थाहा पाउने खालको भूमिका निर्वाह गर्नुपर्छ भन्नेमा सचेत छौं । हामी आफ्ना एजेन्डाहरुको पक्षमा दवाव सिर्जना गर्छौं । अब कतिपय कुराहरु वैठक बसेर समिक्षा गरिन्छ र रणनीति निर्माण हुन्छ ।

चुनावअघि कमल थापा राप्रपा छोडेर जानुभयो र नयाँ पार्टी जन्माउनुभयो । उहाँको पार्टीले राप्रपालाई चुनावमा कति असर गरेको छ ?

त्यस्तो खास असर गरेको पाएनौं । एकदमै नगण्य वा शून्य असर गरेको छ । हामी पहिलेभन्दा धेरै ठूलो भएका छौं ।

अब फेरि उहाँहरुलाई पार्टीमा भित्र्याउन कुनै पहल हुन्छ ?

राजनीतिमा हरेक खालका सम्भावना हुन्छन् । तर अहिले तत्काललाई त्यस्तो सम्भावना म देख्दिनँ ।

कमल थापा र उहाँको पार्टीको शर्मनाक हारलाई कसरी लिनुभएको छ ?

नर्क जाने बाटो हिँडेर स्वर्ग पुगिँदैन । उहाँको बारेमा मेरो टिप्पणी यत्ति हो ।

समग्र चुनावी परिणामलाई हेर्दा जस्तो अभिमत व्यक्त भएको छ, फेरि पनि तीन ठूला पार्टीका रुपमा त कांग्रेस, एमाले र माओवादी नै छन् । यसलाई कसरी हेर्नुहुन्छ ?

जनमतको अपमान गर्नु त भएन, तर केही मतदाताहरु विभिन्न दवाव र प्रभावमा परेको देखिन्छ । दलहरुले देश बिगारे, वर्वाद पारे पनि भन्ने र फेरि पनि तीनै दललाई चयन गर्नुले जनताको सामूहिक विवेक अझै परिपक्व नभइसकेको संकेत गर्छ । अथवा, हामीजस्ता बैकल्पिक शक्तिले जनतालाई बुझाउन सकेनौं भनौं न ।

जे होस, अबको पाँच वर्ष पुरानै शक्तिहरुले राज गर्ने अवस्था सिर्जना भएको छ । यो अवधिमा हामी थप मिहिनेत गर्छौं । जनतामाझ जान्छौं । पाँच वर्षपछि देशको नेतृत्व नै गर्ने शक्तिको निर्माण गर्नेछौं । हामीसँग शसक्त एजेन्डाहरु छन् । देश हाम्रो एजेन्डामा नआइ सुक्खै छैन । राप्रपा अन्ततः देश हाँक्नसक्ने शक्ति बन्छ नै । त्यो सम्भावना यो निर्वाचनले देखाएको छ ।

राप्रपा अब सरकारमा जान्छ कि प्रतिपक्षमा बस्छ ?

जनताले हामीलाई सत्तामा जानेभन्दा पनि प्रतिपक्षमै बस्ने म्यान्डेट दिएका छन् । आफ्नो एजेन्डाको पक्षमा दृढतापूर्वक उभिने, सदन र सडकमा समेत सशक्त प्रतिप्रक्षको भूमिका निर्वाह गर्ने सन्देश जनताले दिएका छन् ।

सम्भवतः सरकार गठनमा हाम्रो आवश्यकता नै नपर्न पनि सक्छ । यद्यपि, पार्टीभित्र आगामी सरकारलाई लिएर औपचारिक छलफल सुरु भइसकेको छैन । वरिष्ठ नेताहरु काठमाडौं आइपुग्नुभएको छैन । छिट्टै बैठक बस्ला ।

सरकार हाम्रो प्राथमिकता होइन । हामीले घोषणापत्रमा नै भनेका छौं कि हामी सरकारमा जाने कुरामा भन्दा एजेन्डामा केन्द्रीत हुन्छौं । तर, राप्रपा नभइकन सरकार नै नबन्ने स्थिति भयो भने जिम्मेवार राजनीतिक दलको हिसाबले राप्रपाले निकास दिनुपर्छ भन्नेमा पनि हामी स्पष्ट छौं ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर