कसरी सम्भव भयो ‘बग्री’ कार्चेन लामाको संघीय संसद यात्रा ? – Nepal Press

कसरी सम्भव भयो ‘बग्री’ कार्चेन लामाको संघीय संसद यात्रा ?

हुम्ला । मंसिर ४ गते सम्पन्न आमनिर्वाचनमा कर्णाली प्रदेशका पूर्वसामाजिक विकासमन्त्री तथा नेकपा (एमाले) का केन्द्रीय सदस्य दल रावललाई ४ हजार ८५५ मतान्तरले पछि पार्दै माओवादी केन्द्रका नेता छिरिङ दम्डोल लामा (कार्चेन) १४ हजार ३७१ मत ल्याएर हुम्लाबाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् ।

माओवादीले सञ्चालन गरेको दश वर्षे सशस्त्र द्वन्द्व हुम्लामा समेत सुरु गर्ने नेतामध्येका एक हुन् कार्चेन । २०५६ सालमा माओवादीको जनयुद्धमा सक्रियतापूर्वक लागेका कार्चेनलाई केन्द्रीय जनप्रतिनिधि हुन २३ वर्ष पर्खिनुपर्‍यो । माओवादीबाट २०७८ माघ २३ गते गैरसांसदबाट कर्णाली प्रदेशको उद्योग, वन तथा वातावरणमन्त्रीको सपथ खाएर नेपाली राजनीतिमा चर्चा पाएका उनै कार्चेन लामा ठूलो मतान्तरले प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । हुम्लामा चुनाव जितेर उनले फेरि एकपटक राजनीतिक वृत्तमा चर्चा कमाएका छन् ।

गुम्बाको मूर्ति चोरेको अभियोगमा दोषी ठहर भई कैद तथा जरिवाना भुक्तान गरिसकेको समाचार सार्वजनिक भएपछि सकारात्मक र नकारात्मक चर्चा कमाएका ती नै कार्चेनले अन्ततः जनताको ठूलो मतबाट प्रतिनिधिसभाको यात्रा तय गरेका छन् ।

चीनको ताक्लाकोटमा रहेको गुम्बाको मूर्ति चोरी गरेको अभियोगमा अदालतले कार्चेनलाई दोषी ठहर गरेको थियो । झण्डै १२ सय वर्ष पुरानो प्राचीन मूर्ति चोरी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय हुम्लाले २०४९ मंसिर १४ गते नैतिक पतन देखिने गरी फौजदारी अभियोगमा मुद्दा दायर गरेको थियो । सोही अभियोग पुष्टि भई कैद सजाय भुक्तान गरेका कार्चेनलाई माओवादीले प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको हो । निर्वाचनमा विजयीसमेत भइसकेका कार्चेनलाई संसद भवनमा प्रवेश गर्न कानूनले दिन्छ वा दिँदैन भन्ने बहस फेरि एक पटक सतहमा आएको छ ।

उनी संलग्न दल माओवादी केन्द्रको निर्णयअनुसार गत माघ २३ मा कर्णाली प्रदेशको मन्त्रीमा नियुक्त भएलगत्तै विभिन्न खाले टीका टिप्पणी भएको थियो । कार्चेन लामा प्रतिनिधिसभ र प्रदेशसभाको मत परिणाम आएसँगै फेरि चर्चाको विषय बन्न पुगेका छन् । विवादित छविकै बीच गैरसांसद मन्त्री, लगत्तै सत्ता गठबन्धनको तर्फबाट प्रतिनिधिसभाको टिकट पाएर अहिले सांसद भएका कार्चेन को हुन् ? उनको पृष्ठभूमि के हो ? भन्ने विषय अहिले पनि स्पष्ट बाहिर आएको छैन । उनै कार्चेनको विगतबारे यहाँ चर्चा गरिएको छ ।

जेठो छोरो हुँदै बाल बग्री (गोठालो)

छिरिङ दम्दोल लामा ‘कार्चेन’को जन्म २०२४ भदौ ३ गते तत्कालीन बरगाउँ गाविस वडा नं ५ को तोर्पा गाउँमा भएको हो । उनी टास्सी लामा र छ्योटोल लामाका पहिलो छोरा हुन् । स्थानीय अवस्थाअनुसार मध्यम वर्गीय परिवारमा जन्मेका कार्चेनलाई बाल्यकालदेखि नै टाठो सन्तानका रुपमा उनका बुवा र आमाले लिएका थिए ।

देशमा पञ्चायत व्यवस्थाको जगजगी, गाउँमा हुनेखानेले सानै उमेरदेखि बौद्धमार्गी शिक्षा सिकाउने प्रचलन भए पनि उनी त्यसबाट बञ्चित जस्तै हुनुप¥यो । बुवालाई घरपरिवारको हातमुख एक पार्न अनेक काम गर्नुपर्ने र आमा सन्तान हुर्काउन नै व्यस्त भएका थिए । सानैदेखि अभिभावकबाट पाउने स्याहारसुसार पनि कार्चेनले प्राप्त गर्न सकेनन् । दैवको लीला नै भन्नुपर्छ उनले सातवर्षको उमेरमा बुवालाई गुमाउनुप¥यो ।

बुवाको मृत्युपछि आमा र साना दुई भाइ र दुइ दिदीहरुको रेखदेखमा उनले बिताएका दिनचर्या निकै कष्टकर बने । त्यो वेला औपचारिक शिक्षा लिने त कुरै छोडौं बौद्ध गुरुहरुबाट लामाको ज्ञानगुणका कुरा सुन्ने र सिक्ने समय पाउन पनि उनलाई निकै मुस्किल भयो ।

गाउँमा वर्षमा एक बाली पाक्ने उवा र जौमात्रै भएपछि स्थानीयलाई परिवार पाल्न भोट (चीनको सिमाना ताक्लाकोट) र माल (अछाम) को भर पर्नुपर्ने बाध्यता थियो । फलस्वरुप उनी आठ वर्षको उमेरदेखि नै गाउँमा अन्य ठूला व्यक्तिसँग बग्री (खसीमा नुन बोकाउने गोठालो) बन्न पुगे । वस्तु विनिमयको रैथाने प्रचलनअनुसार उत्तरी क्षेत्र तिब्बतको ताक्लाकोटबाट आफ्ना अभिभावकसँग जाग्ना (भेडा र बाख्रा) मा नून र ऊन हुम्लाको दक्षिण भेग, बाजुरा, मुगु, अछाममा लिने र त्यहाँबाट नूनसँग साटेको रातो चामल, कालो मासको दाल लिएर घरपरिवारको छाक टार्ने काम गर्नु बाल्यावस्थामै कार्चेनको दैनिकी बन्यो । त्यतिखेर पनि उनी सधैं आफ्नो जिम्मेवारीप्रति कटिबद्ध बालक बने ।

घरको कामदेखि गाउँको सामूहिक काममा समेत सानैदेखि दत्तचित्त भएर लाग्ने कार्चेन कलिलो उमेरमै समाजमा भएका विकृत संस्कार र परम्पराप्रति विद्रोह गर्नुपर्छ भन्ने सोच राख्थे । तत्कालीन पञ्चायती व्यवस्थाको समयमा पनि गाउँमा प्रगतिशील काम गर्न तम्सिने कार्चेनले युवावस्थादेखि नै राजनीतिमा चासो राखेको उनलाई नजिकबाट चिनेका तोर्पा गाउँकै पामातुण्डुप लामा बताउँछन् ।

‘सानोमा हामी सँगै खेल्दा पनि छिरिङ दम्डोल घरबाट लिएको खानकुरा आफू नखाएर पनि हामीलाई दिन्थ्यो’, लामाले भने, ‘पछि युवावस्थामा पनि आफूले दुःख पाएर पनि अरुको सेवा गर्नुपर्छ भन्ने भावनाले नै उसलाई नेता बनाएको हो ।’

बुवाआमाको काखमा रमाएर बस्ने कलिलो उमेरमा जाग्ना (भेडा र बाख्रा) को पुच्छर समातेर नूनसँग चामल र दाल साटेर परिवार पालेका कार्चेनको व्यक्तिगत जीवनभन्दा माथि उठेर राजनीतिमा आउनुलाई पामातुण्डुप ठूलै विजय ठान्छन् । ‘मान्छे अहिले भएकोमात्रै देख्दो रहेछ’, उनले थपे, ‘उसले कस्तो दुःख गर्‍यो भन्ने गहिराइमा नपुगी कुरामात्रै काट्दो रहेछ । त्यसैले त मर्नेवेला मुखमा दागबत्ती दिने रहेछ ।’

राजनीतिक यात्रा

कार्चेनको राजनीतिक यात्रा बाहिर सतहमा ल्याइए जसरी सीधा छैन । लामा समुदायको परिवारमा जन्मेर पनि उनको कम्युनिष्ट राजनीतिमा निकै लामो संलग्नता र योगदान रहेको छ । उनलाई नजिकबाट चिन्ने पहिलो संविधानसभा सदस्य तथा एकीकृत माओवादी केन्द्र (समाजवादी) का अध्यक्ष कर्णजीत बुढाथोकी (सुशील) का अनुसार कार्चेन पहिलेदेखि नै वाम आन्दोलनमा सहभागी भएका एक योद्धा हुन् ।

युवावस्थामा विभिन्न प्रगतिशील विचारधाराका अभियान र कार्यमा संलग्न कार्चेनले २०४६ सालको राजनीतिक परिवर्तनपछिै तत्कालीन मोटो मशालको औपचारिक रुपमा सदस्यता लिएका थिए । आफ्ना भिनाजु नाता पर्ने छक्कबहादुर लामा काठमाडौंबाट अध्ययन गरेर राजनीतिमा सक्रिय भएसँगै पार्टीगत राजनीतिमा जोडिएका उनले पछि औपचारिक रुपमा संयुक्त जनमोर्चामा काम गरे ।

२०४७ सालमा उनले संयुक्त जनमोर्चा (मसाल) को सदस्यता लिए । त्यसयता उनी निरन्तर कम्युनिष्ट राजनीतिमै छन् । बहुदलीय व्यवस्था आएपछि भएको पहिलो आमनिर्वाचन २०४८ मा जनमोर्चाबाट छक्कबहादुर लामा उम्मेदवार बनेका थिए । लामालाई जिताउन कार्चेनले जिल्लाका विभिन्न क्षेत्रको मोर्चा सम्हालेका थिए । उनको कमाण्डले छक्कबहादुरले निर्वाचन जितेका पनि थिए । त्यसपछि कार्चेन पूर्णकालीन रुपमा निरन्तर राजनीतिमा सक्रिय छन् ।

‘निर्वाचनअघि पञ्चायतले निकै दुःख दिन्थ्यो’, कार्चेनले भने, ‘लामो समयदेखि बाह्र थपाल्याका नाममा लामा समुदायमाथि ठकुरी र क्षेत्री जातिबाट हुने चर्को दमनबाट मुक्ति पाउन सुरु गरेको संघर्षले सफलता पाएपछि म राजनीतिबाटै केही गर्न सकिन्छ भनेर पूरापूर लागेको हुँ ।’

गाविस उपाध्यक्षमा निर्विरोध

बहुदल घोषणालगत्तै हुम्ला कम्युनिष्टको किल्ला बन्यो । प्रतिनिधिसभा निर्वाचन जितेपछि उनको पार्टीको जिल्ला टीम (जनमोर्चा) जिल्लाभर संगठन विस्तारको अभियानमा लाग्यो । विडम्बना पाँच वर्ष नपुग्दै भएको २०५१ को मध्यावधि निर्वाचनमा जिल्लाका कम्युनिष्टहरुबीच एकता नहुँदा झिनो मतले हार्नुपर्‍यो ।

मध्यावधि निर्वाचनमा हारपछि कार्चेन जिल्लाका विभिन्न वस्तीमा संगठन निर्माणमा झन् सक्रिय भए । कार्चेनले पार्टीबाट पुरस्कारस्वरुप २०५४ सालमा गाउँ विकास समितिको उपाध्यक्षको टिकट पाए । तत्कालीन बरगाउँ गाविस उपाध्यक्षमा उनी निर्विरोध निर्वाचित भए । उनको पहिलो राजनीतिक पदीय यात्रा यहींबाट सुरु भयो । जिल्लाका अधिकांश गाविसमा कम्युनिष्टहरुको बहुमत भए पनि तत्कालीन एमाले र जनमोर्चाबीच कुरा नमिल्दा जिल्ला विकास समितिको निर्वाचनमा भने पराजय भोग्नुपर्‍यो ।

त्यसपछि उनलाई संसदीय बाटोबाट जनताले अपेक्षा गरेअनुसार परिवर्तन गर्न नसकिँदो रहेछ भन्ने लाग्यो । फलस्वरुप गाविस उपाध्यक्ष पद बहाल हुँदै उनी कालीकोटको निर्वाचन बहिष्कार गर्न पुगे ।

माओवादीको राजनीतिमा संलग्नता

गाविस, जिविस हुँदै केन्द्रीय तहमा पुग्दासमेत राज्यको संरचनाले जनअपेक्षित काम गर्न नसकिने निष्कर्ष निकालेका कार्चेन जनमोर्चाबाट २०५४ मा भूमिगत माओवादीको राजनीतिमा संलग्न भए । २०५२ साल फागुन १ गते सुरु भएको माओवादी जनयुद्धको भूमिगत राजनीतिको आंशिक कार्यकर्ता हुँदै उनले २०५५ मा हिमाली जनसाँस्कृतिक परिवारको अध्यक्षको जिम्मेवारी सम्हालेको बताए । उनका अनुसार स्थानीय निकायको कार्यकाल पूरा नहुँदै २०५६ सालमा माओवादी जनयुद्धको पूर्णकालीन कार्यकर्ता भएर काम गरेका थिए ।

हुम्लाको माओवादी राजनीतिमा बाहिरबाट गएका नेताहरुले नेतृत्व गरेकै वेला उनी २०५७ साल जिल्ला कमिटी सदस्य भए । २०५८ सालमा कर्णाली मुक्ति मोर्चाको सदस्य र २०५९ मा कर्णाली उपब्युरो सदस्य भएका कार्चेनले २०६९ देखि २०६० सम्म माओवादीले सुरु गरेको समानान्तर जनसरकारअन्तर्गत हुम्ला जिल्ला जनसरकार प्रमुख तथा भेरी-कर्णाली स्वायत्त सरकारको सदस्य भएर जिम्मेवारी निर्वाह गरे ।

पश्चिम सैन्य डिभिजन ब्युरोको सदस्यसमेत रहेका कार्चेन २०५९ देखि २०६१ सम्म भेरी-कर्णाली क्षेत्रीय ब्युरो सचिवालय सदस्य हुँदै २०६५ सालमा हिमाली भोटेलामा राष्ट्रिय मुक्ति मोर्चा नेपालको केन्द्रीय अध्यक्ष बने । पार्टीको सबैभन्दा तल्लो तहदेखि काम गरेका कार्चेनलाई केन्द्रीय सदस्यको जिम्मेवारीमा पुग्न १३ वर्ष संघर्ष गर्नुपर्‍यो । त्यसपछि २०७१ सम्म केन्द्रीय सदस्य भएका कार्चेन २०७४ मा नेकपा माओवादीको पोलिटब्युरो सदस्य बने ।

आफ्नो टिकट अर्कैलाई हस्तान्तरण

माओवादीभित्रको सांगठनिक राजनीतिमा लामो अनुभव भएका कार्चेनलाई विवादित छविले संसदीय राजनीतिको यात्रा गर्न ढिला गरायो । हुम्लाको माओवादी आन्दोलन सुरु गर्दाका सहयात्री कर्णजीत बुढाथोकी (सुशील), छिमीदोर्ची लामा (आशाकर) पहिलो संविधानसभामै सांसद भएका थिए । तर, कार्चेनलाई आफ्नै विगतको विवादित छविले छेकबारको काम गर्‍यो ।

चीनको ताक्लाकोटमा रहेको गुम्बाको झण्डै १२ सय वर्ष पुरानो प्राचीन मूर्ति चोरी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय हुम्लाले २०४९ मंसिर १४ गते नैतिक पतन देखिने गरी फौजदारी अभियोगमा अदालतमा मुद्दा दर्ता गरेको थियो । त्यसवेला उनीसँगै छिरिङ पाल्दुम लामाले पनि सजाय पाएका थिए ।

प्रहरीले मुद्दा दायर गरेको दुई वर्षपछि २०५१ मंसिर २५ गते तत्कालीन हुम्ला जिल्लाका न्यायाधीश निलकण्ठ उपाध्यायको इजलासले उनीहरूलाई दुई-दुई वर्ष कैद र पाँच-पाँच हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो । हुम्ला जिल्ला अदालत स्रोतका अनुसार प्राचीन स्मारक संरक्षण ऐन २०१३ को दफा १३ (१) बमोजिम कसुर ठहर गरी उनीहरूविरूद्ध फैसला सुनाइएको थियो । जसकै कारण पटक-पटक राजकीय जिम्मेवारीको कुरा आउँदा कार्चेनले आफू पञ्छिँदै पार्टीका अरु नेतालाई अघि सार्दै आएका थिए ।

पार्टी राजनीतिमा सँगै लागेका सहकर्मी सांसद बने पनि अवसरबाट बञ्चित कार्चेनलाई २०७० सालको प्रतिनिधिसभा निर्वाचनमा पार्टीबाट आधिकारिक टिकट आएको थियो । कानूनकाे राम्राे जानकारी नभएका कार्चेनलाई उक्त मुद्दाका कारण उम्मेदवारी खारेज हुने डर थियो । त्यसैले उनले आफ्ना भिनाजु छक्कबहादुर लामालाई उक्त टिकट दिन सहजीकरण गरे । जसले माओवादी हुम्लाभित्र टिकट बिक्री भएको भन्दै निकै विवाद भयो ।

२०७४ सालको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनताका पनि उम्मेदवारका हकदार कार्चेन त्यही मुद्दाकै डरले फेरि पछि हटे । तर, २०७८ माघ २३ अघि मुद्दाको फैसलामा फौजदारी कसुर ठहर हुने शब्द नपरेका कारण चुनाव लड्न र राजकीय पदमा जान नरोक्ने कानूनी ठहरपश्चात उनलाई कर्णाली प्रदेश सरकारको उद्योग, वन तथा वातावरणमन्त्रीमा नियुक्त गरिएको थियो । यसपछि उनी औपचारिक रुपमा हुम्लाको रैथाने राजनीतिमा उदाए ।

गैरसांसदबाट कर्णाली प्रदेशको मन्त्री बनेपश्चात राजनीतक स्वाद चाखेका कार्चेन मन्त्रीबाट हटेदेखि नै आफूलाई प्रतिनिधिसभा उम्मेदवारका रुपमा क्रियाशील भए । २०७४ सालमा यिनै कार्चेनको ठूलो साथ र सहयोगले स्वतन्त्रबाट प्रतिनिधिसभा सदस्य निर्वाचित छक्कबहादुर लामा पनि टिकटका लागि आकांक्षी बने । छक्कबहादुरलाई कोर्चेनले यसपटक आफूलाई सहयोग गर्न आग्रह गरे । तर, आफूलाई लामो साथ र सहयोग गर्दै आएका कार्चेनलाई सघाउन छक्कबहादुर तयार देखिएनन् ।

तैपनि कार्चेनले आफ्नो अडान छोडेनन् । उनले प्रतिनिधिसभाको टिकट लिएरै छाडे । कार्चेनले टिकट पाउने निश्चित भएपछि छक्कबहादुर लामाले २०७९ असोज १७ गते माओवादी परित्याग गरे । छक्कबहादुर टिकटकै लागि नेकपा एमाले प्रवेश गरे । एमालेले उनलाई प्रदेशसभाको टिकट पनि दियो । तर, सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार एवं कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीसँग छक्कबहादुरले फराकिलो मतान्तरले पराजय भोगे ।

नेपाली कांग्रेस नेतृत्वको सत्ता गठबन्धनका साझा उम्मेदवार बनेका कार्चेनले २०४८ सालपछिका निर्वाचनमा ठूलो मतान्तरले विजयी हुने सांसदका रुपमा आफ्नो कीर्तिमान बनाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *