‘घण्टी र लौरो मिलेर जान सकेको भए २० देखि २२ सीट जित्थ्यौं’ (भिडिओ) – Nepal Press
नेपाल टक

‘घण्टी र लौरो मिलेर जान सकेको भए २० देखि २२ सीट जित्थ्यौं’ (भिडिओ)

लौरो अभियानका प्रवक्ता रोहन भन्छन्- कम्प्रमाइज गरेर शीर्ष नेतालाई जिताए, नो-नट अगेन केही हद सफल भयो

काठमाडौं । स्थानीय चुनावमा केही ठाउँको परिणाम देखेर हौसिएका स्वतन्त्र उम्मेदवार संगठितरूपमै मंसिर ४ को चुनावी मैदानमा आउने तयारीमा लागे । यसको नेतृत्व सुमन सायमीले गरे ।

वैकल्पिक शक्तिको उद्घोषसहित प्रतिनिधिसभा र प्रदेशसभामा उम्मेदवार खडा गर्दै लौरो अभियान हाम्रो नेपाली पार्टीबाट चुनावमा होमियो । तर, मतगणनाको नतिजा हेर्दा लौरोलाई रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिन्ह घण्टीले ‘धक्का’ दिएको देखिएको छ ।

यसै सन्दर्भमा चुनावी परिणाम, वैकल्पिक शक्ति बनाउने अभियानमा लागेकाहरूको एकताको सम्भावना, भावी रणनीतिबारे ‘लौरो अभियान’ हाम्रो नेपाली पार्टीका प्रवक्ता ई. डिल्लिश्वर कार्की (रोहन कार्कीसँग) गरिएको कुराकानी नेपाल प्रेसको नेपाल टकमा :

– स्थानीय चुनावमा तहल्का पिटेको लौरो प्रतिनिधिसभा चुनावमा नराम्ररी भाँच्चियो भयो । चुनावी परिणामबाट तपाईंहरू स्तब्ध हुनुहुन्छ कि यो अपेक्षित नै थियो ?

लौरो भाँचिएको छैन । बल्ल जाग्न सुरू भएको छ । असार मसान्ततिर जन्मिएको पार्टी छोटो समयमा राजधानीमा प्रत्यक्षबाट सांसद जित्न सफल भयौं । समानुपातिकमा वागमतीमा ४७ हजार मत क्रस भइसकेको छ । काठमाडौंलाई मात्र हेर्दा राप्रपा, कांग्रेस, एमालेभन्दा मुनि चौथो शक्तिको रूपमा आएका छौं । छोटो समय भएको हुनाले जनतामाझ हाम्रा एजेण्डा र उम्मेदवार लैजान सकेनौं । निर्वाचन आयोग र विभिन्न समूहबाट हामीलाई चौतर्फी आक्रमण भयो । सबैलाई लौरोको डर थियो । हामीले कहीँ पनि ठूला सभा गरेनौं । सामान्य ढंगले हाम्रा विचारमात्र लिएर गएका थियौं । जति मत पाएका छौं जसले हाम्रो अभियान र हाम्रा उम्मेदवारलाई माया गरेको मत थियो । यो सुरूवात हो । हामी सानो शक्तिका साथ एक्लै लडेका थियौं । समानुपातिकमा करिब डेढ लाख पाएका छौं । यसबाट उत्साही छौं । अझ सशक्त भएर जाग्नेछौं ।

– संघमा प्रत्यक्षमा लौरोले कतै जित्न सकेन ? तपाईंहरूको आफ्नै कमजोरी कि घण्टीको लहर ?

घण्टी र लौरो उस्ताउस्तै शक्ति भइसकेपछि म ५८ जिल्ला प्रचारप्रसारको क्रममा घुम्दा अन्तिम अवस्थामा यसपटक मतदाताको सेन्टिमेन्ट कसलाई हराउने भनेर चुज गरेको देखियो । त्यस पात्रलाई हराउँदा को उपयुक्त हुनसक्छ त्यहाँ छनौट भएको देखिन्छ । घण्टीले देशभर ठूला सभा गर्‍यो मिडियामा पनि स्थान पायो । लौरो र घण्टीका उम्मेदवार हेड टू हेड भएको ठाउँमा लौरोलाई मतदान गर्दा भोट काटिने हुनसक्छ । त्यस कारण हराउनुपर्ने पुरानो शक्ति/नेतालाई छ । तीनलाई हराउन उपयुक्त पात्र घण्टी हुनसक्छ । ठूला सभाहरू गरेको छ । एउटा ह्वीम छ । भिडभाड छ लौरोलाई हाल्ने भोट पनि घण्टीमा गएको छ । काठमाडौं ८ मा घण्टी फस्ट हामी सेकेण्ड भएका छौं । दुईटै गठबन्धनका उम्मेदवार त्यहाँ पछि परे । ललितपुर २ मा हामी दोस्रो भयौं । घण्टी र लौरोको मतलाई हेर्दा हामी त्यहाँ विजय हुने अवस्था छ । घण्टीले पाउँदै गर्दा हामी खुसी छौं । किनकि अहिलेको फोहोरी राजनीति सफा गर्न आएका यी दुईटै वैकल्पिक राजनीतिक शक्ति हुन् ।

– वैकल्पिक शक्तिको एजेण्डा उठाउनुहुन्छ । तर, घण्टी-लौरो अभियान किन मिलेर जान सकेन ?

चुनावअघि मिलेर जानेबारे चरणचरणमा छलफल भयो । रवि दाइ, स्वतन्त्र पार्टीको वार्ता कमिटीसँग म आफैँ र टीमले पटकपटक छलफल भयो । चुनाव आइसकेकोले प्रचारप्रसारमा लाग्न, अभियानमा जान ढिला भइसकेको थियो । मिल्ने सन्दर्भमा चुनावपछि पनि मिल्न सकिन्छ भनेर । त्यो पूरा हुन सकेन । दुवै पक्ष सकारात्मक र लचिलो थियौं । दुईटा छुट्टाछुट्टै रूपमा जाँदा मत बाँडिएर हामी हार्न सक्यौं भन्ने थियो । अहिले आएर त्यो सत्य देखियो । हामी मिलेर जान सकेको भए अहिले जति सीट प्रत्यक्षमा जितेका थियौं त्यो भन्दा तेब्बर बढी जित्थ्यौं । कम्तीमा २०/२२ सीट प्रत्यक्षमा जित्थ्यौं । भोटको मात्र कुरा होइन दुईटा पार्टी मिल्दाको सिनर्जी पनि थपिन्थ्यो । त्यो ऊर्जाले हामी धेरै ठाउँ सफल हुन्थ्यौं । काठमाडौं, ललितपुर र भक्तपुरमा त अझ राम्रो हुन्थ्यो । मिल्ने वातावरण भएको भए राम्रो हुन्थ्यो । आम मतदाताको भनाइ पनि यही छ किन मिल्न सकिएन । भोट काटियो एउटाले अर्कोलाई हराउने काम भयो भन्ने भएको छ । त्यसलाई गम्भीरताका साथ मतदाताको अपेक्षाअनुसार कसरी जान सकिन्छ भनेर सोचिराखेका छौं ।

– तपाईंहरुले आशा गरेको क्षेत्र कुन कुन थियो ?

हामीले करिब १३ ठाउँ मुख्य प्रतिस्पर्धी हुन्छ भन्ने थियो । एकदम वर्स कण्डिसनमा ६ ठाउँ जित्नसक्थ्यौं भन्ने थियो । काठमाडौं ८ थियो त्यहाँ दोस्रो भयौं, ललितपुर २, काठमाडौं २, काठमाडौं ७, त्यस्तै सिरहा २, सर्लाही २, झापा ४, सुनसरी ३, मोरुङ २, ४ लाई हामीले जित्ने विश्वासका साथ फोकस गरेका थियौं । चुनावभन्दा केही दिनअघि मात्र हामीलाई भोट हाल्ने मतदाताको माइण्ड चाहिँ अलिकति डाइभर्ट भएको अवस्था थियो ।

– पुराना दल पुरानै नेता भनेर खासगरी स्वतन्त्रहरूको उदय भयो । तर, यसरी संगठित भएर पार्टी गठन गर्नुले ‘स्वतन्त्र’ शब्दकै हुर्मत लिइयो भन्ने आरोप छ नि ?

हामीले स्वतन्त्र भनेकै छैनौं । हाम्रो नेपाली पार्टीको चुनाव चिन्ह लौरो लिएर जति पनि उम्मेदवार उठ्नुभएको थियो । उहाँहरू मनोनयन गर्नुअघिसम्म स्वतन्त्र हुनुहुन्थ्यो । उहाँहरूले स्वतन्त्र भनेर प्रचारप्रसार अघि बढाउनु भएको थियो । पछि उहाँहरू विभिन्न माध्यमबाट हामीसँग सम्पर्कमा आएर जोडिनुभएको हो । त्यसपछि त स्वतन्त्र भन्नै मिलेन नी । कतिपयले भुलवस भन्नुभयो होला नियतवस छैन । सबै उम्मेदवार र हाम्रो सिंगो अभियानले हामी पार्टी नै हो भनेर लाग्यौं ।

– धेरै ठाउँमा घण्टी, लौरोले पुराना दल/नेतालाई झस्काएको देखियो । स्वतन्त्र पार्टीको उदयलाई कसरी हेर्नुभएको छ ?

वैकल्पिक शक्तिहरू अलिक अगाडि एकठाउँमा भएको भए ५० प्रतिशतभन्दा बढी सीट जित्ने अवस्था थियो । लौरो र घण्टी मात्र होइन समान विचार मिल्ने शक्तिहरू एकजुट भएर जाँदा यो सम्भव थियो । हामी एक नहुँदा हामीलाई भोट हाल्न तयार भएका मतदाता पुरानैलाई भोट दिएको अवस्था छ । त्यहाँ हामीले जित्दैनौं मत खेर जान्छ भनेर बाध्य भएर पुरानै रोजे । माओवादी, समाजवादी, जसपा, लोसपा जति पनि पुराना दल छन् यी सबैभन्दा माथि लौरो झण्डै २५ हजार मत माथि ल्याउनु । भर्खर जन्मिएको पार्टी प्रदेशसभामा तेस्रो स्थानमा मत पाउनु प्रतिनिधिसभामा पनि घण्टीको उदय हुनु भनेको वैकल्पिक शक्तिमा आम जनताको भरोसासहित हामीलाई परीक्षण गर्न खोजिरहनुभएको छ । अझ सच्चिएर सशक्त भएर हामीले चाहेजसरी आऊ मत दिन तयार छौं त्यसका लागि नेतृत्व तयार होस् भनेर सन्देश दिनुभएको छ ।

– लौरो अभियानमा काठमाडौंका मेयर बालेनको दर्‍हो साथ सुनिन्छ नि । चुनावमा आयोगसमक्ष उहाँले स्पष्टीकरण पनि दिनुपर्‍यो । लौरो चम्काएर शक्ति बढाउन बालेनले क्याम्पियन गरिरहेका हुन् ?

हाम्रो कुनै आधिकारिक डकुमेन्ट, केन्द्रीय कमिटी, हाम्रा विचार कहीँ पनि बालेनको नाम जोडिएको छैन । उहाँ आफैँ स्वतन्त्र भएकोले शुभेच्छुक हुन सक्नुहुन्छ । उहाँले हाम्रो नेपाली पार्टीको अभियानमा हुनुन्छ, समर्थनमा हुनुहुन्छ भनेर कहिल्यै पनि भनेका छैनौं । निर्वाचन आयोगले बालेन साहलाई स्पष्टीकरण सोध्दै गर्दा बालेनले जवाफ दिनुअघि हामीले स्पष्टीकरण दिएर हाम्रो अभियानमा बालेन साहको कहिँ कतै सहभागिता छैन भनेर क्लियर पारेका छौं । लौरो अभियान हाम्रो नेपाली पार्टी भनेको सयौं बालेन र हर्क साम्पाङजस्ता इमान्दार राजनीतिमा हुटहुटी भएका राजनीतिलाई सफा गर्नुपर्छ र स्थापित हुनुपर्छ भनेर मौका नपाएका सक्षम युवाहरू राजनीतिमा आउनुपर्छ भनेर चलाइएको अभियान हो यो ।

– लौरो जाग्नुमा बालेन र हर्कको जितको प्रेरणा त लिनुहुन्छ नि ?

हामी हरेक युवाले राम्रो मान्छेको प्रेरणा त लिन सकियो नि । बालेन साह, हर्क साम्पाङ भनेको राजनीतिकरूपमा अहिले उदाहरणको रूपमा हुनुहुन्छ । युवा र स्वतन्त्रको लागि नयाँ मान्छे राजनीतिमा आएर जित्दो रहेछ काम पनि गर्दो रहेछ भन्ने देखियो । त्यसलाई पोजिटिभ रूपमा हेर्नुपर्छ । उहाँहरूले संयोगवस लौरो लिएर जितेको र हाम्रो चुनाव चिन्ह पनि लौरो नै भएकाले राम्रो मान्छेसँग जोडिँदा सबैलाई गर्व हुनेभयो । हिजो फेरि म बालेनको चुनावी क्याम्पियनमा पनि हिँडेको हो । हिजो उहाँहरूसँग हिँडेका सयौं मान्छे आज स्वतन्त्र पार्टीमा पनि हुनुहुन्छ । घण्टी र लौरोमा हुने अधिकांश साथीहरू हिजो हर्क र बालेनको अभियानमा हुनुनुथ्यो । त्यो अभियानमा सघाएका, शुभेच्छुक साथीहरू राजनीतिक रूपमा सेफल्याण्डिङका लागि वैचारिक रूपमा समाहित हुनु भनेको त राम्रो कुरा हो । यो अभियान भनेको एकजनालाई मेयर बनाउनु त थिएन नि । जनताको इच्छा, चाहनालाई लिड गर्न अभियान थालिएको थियो ।

– नो-नट अभियानका क्याम्पियन पनि चलाइए । तर, पुरानै अनुहार आए नि ?

नो-नट अभियान हिजो एकदमै चल्यो । हाम्रो यसमा साथ थियो र आज पनि छ । भ्रष्टाचारमा रुमल्लिएका नेता जो पटकपटक अवसर पाउँने फेरि अहिले पनि दोहोरिने, विभिन्न काण्डमा मुछिएका जनताले नरुचाएकालाई अब तपाईँहरू पुग्यो है । तपाईँहरू आराम गर्नुस् । नयाँलाई मौका दिनुस् भन्ने अभियान थियो । यसले केही हदसम्म सफलता पाएको छ । यसले धेरै शीर्ष नेताहरू हारेका छन् । तर, शीर्ष नेताहरू भने गठबन्धन दुईवटा भए पनि मौन रूपमा कमजोर उम्मेदवार उठाइदिएर कम्प्रमाइज गरेर जिताएको देखियो । ओली, प्रचण्ड, देउवा उठाको ठाउँमा कमजोर उठाइदिने भरसक उम्मेदवारी नै नदिने गरेको देखियो । अरु पुराना त धेरै ठाउँमा बडारिनुभयो नि त । युवाहरू आए ।

– अबको रणनीति के हुन्छ ? स्वतन्त्र पार्टीसँग एकता गरेर जाने सम्भावना कति छ ?

सम्भावना सबै चिजमा खुला छ । अहिले नै एकता गरेर गइहाल्ने भन्ने छैन । हामी निर्माणकै चरणमा छौं । संगठन बनाउने, हाम्रा विचार जनतामाझ लैजाने । जनताको समस्या घच्घच्याइरहन एजेण्टको रूपमा काम गर्छौं । र तल्लो तहसम्म सम्भावना बोकेका साथीहरूलाई स्थापित गर्न आगामी ५ वर्षपछि वैकल्पिक शक्ति बनाउने तयारीमा लाग्छौं । चुनावको पनि समीक्षा गर्छौं, गरिरहेका छौं ।

– अबको सरकार कस्तो र कस्को नेतृत्वमा बन्नुपर्छ जस्तो लाग्छ ?

हाम्रो प्रष्ट भनाइ छ-यसअघि प्रधानमन्त्री कोही पनि हुनुहुँदैन । उहाँहरूले ट्रायल दिएर फेल भइसक्नुभयो । तिनै दलबाट सम्भावना बोकेका युवाहरूलाई जोसँग क्षमता छ, काम गर्ने हुटहुटी छ उहाँहरूलाई अगाडि सार्नुपर्छ । पुराना नेताहरूले अभिभावक, सल्लाहकार भएर सहयोग गर्नुपर्छ । हामी अण्डर फिप्टी, अझ ४५ वर्षमुनिका प्रधानमन्त्री हेर्न चाहिरहेका छौं । मत हेर्दा पनि समग्र जनताको सेन्टीमेन्ट पनि यही छ । मन्त्रीहरू पनि सम्बन्धित मन्त्रालयका विषयमा केही न केही ज्ञान भएको हुनुपर्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर