सूर्य थापा: पहिलो प्रयासमै संसदकाे यात्रा – Nepal Press

सूर्य थापा: पहिलो प्रयासमै संसदकाे यात्रा

रुपन्देही । नेकपा एमालेका उदीयमान नेता सूर्य थापा प्युठानबाट प्रतिनिधिसभामा निर्वाचित भएका छन् । उनी पहिलो प्रयासमै संघीय सांसद बन्न सफल भएका छन् । थापाले सत्ता गठबन्धनका साझा उम्मेदवार राष्ट्रिय जनमोर्चा नेपालकी उपाध्यक्ष दुर्गा पौडेललाई पराजित गरेका हुन् । जनमोर्चाको विरासत तोडेर निर्वाचन जितेसँगै उनको चर्चा बढेको छ ।

उनी पत्रकारिताबाट राजनीतिमा आएका हुन् । थापा एमाले पोलिटब्युरो सदस्य र प्युठान इन्चार्ज हुन् । रुखो बोली र छुद्र व्यवहारको कारण आलोचना खेप्दै आएका थापा मंसिर ४ गते भएको आमनिर्वाचनबाट जनअनुमोदित भएका छन् ।

पार्टी महामन्त्री मोहनविक्रम सिंहकी श्रीमती भएकै कारण दुर्गा पौडेललाई मात्र अवसर दिइएको भन्दै जनमोर्चाभित्रको असन्तुिष्टको कडी समातेर थापाले आमचुनावमा जीत निकालेका छन् । उनले गठबन्धनका कारण असन्तुष्ट नेपाली कांग्रेसकै नेता तथा कार्यकर्ताहरुको मत आफ्नो पोल्टामा पार्नसके ।

स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धन धेरै अघि रहे पनि यो पटक मत ट्रान्सफर हुन सकेन । स्थानीय तहको नजिताअनुसार एमालेको ३९ हजार ८७७ मत रहेको थियो । कांग्रेसको २१ हजार ५६४, माओवादी केन्द्रको १७ हजार १६३, जनमोर्चाको १३ हजार ६१२, नेकपा एकीकृत समाजवादीको १ हजार ३२२ मत थियो । यो आधारमा एमाले करिब १४ हजारले पछाडि थियो । तर, आमनिर्वाचनमा थापा ५ हजार २ सय मतान्तरले जीत निकाल्न सफल भए ।

अघिल्लो पटक वाम तालमेलबाट दुर्गा पौडेललाई जिताउन थापाले नै अगुवाइ गरेका थिए । तर, यसपटक उनै दुर्गाका प्रतिस्पर्धी बनेर जीत निकाल्न थापा सफल भएका छन् ।

राजनीतिक यात्रा

प्युठानको झिमरुक गाउँपालिका सौतामारेमा जन्मिएका थापा अर्घाखाँचीबाट अनेरास्ववियुको राजनीति गरेका थिए । उनी अनेरास्ववियुबाट काठमाडौंको कैलाशकुट क्याम्पसमा स्ववियु सभापति चुनिएका थिए ।

२०५१ सालपछि पत्रकारितामा सक्रिय थापाले एमालेनिकट विभिन्न पत्रिकामा काम गरे । रेडियो नेपालमा घटना र विचार कार्यक्रमसमेत चलाएका उनी २०५७ सालमा प्रेस चौतारीको केन्द्रीय सचिव, २०६२ मा नेपाल पत्रकार महासंघको केन्द्रीय सदस्य बनेका थिए ।

२०६४ सालमा एमालेको प्रचार विभाग सचिवमा नियुक्तिपछि उनले पार्टीको मुखपत्र नवयुग मासिकको सम्पादन गरे । सो पत्रिकालाई उनले नयाँ योजनाका साथ संस्थागत गरेका थिए ।

प्रचार विभागको उपप्रमुख र प्रचार सम्बद्ध संगठनको सहइन्चार्ज रहँदा उनले आफ्नो अगुवाइमा पत्रकार महासंघमा चौतारीका उम्मेदवारलाई जिताए । पार्टीको पर्यटन विभाग प्रमुखमा रहँदा त्यो सम्बद्ध क्षेत्रमा पार्टी निकटका उम्मेदवारहरुलाई जिताए । काठमाडौंमा ईश्वर पोखरेलको चुनावी नेतृत्व सम्हाल्दा उनलाई जिताए भने प्युठानमा वामदेव गौतमलाई उम्मेदवार बनाएर आफ्नै अगुवाइमा जिताए ।

अघिल्लो पटक वाम तालमेलबाट दुर्गा पौडेललाई जिताउन थापाले नै अगुवाइ गरेका थिए । तर, यसपटक उनै दुर्गाका प्रतिस्पर्धी बनेर जीत निकाल्न थापा सफल भएका छन् ।

थापा २०६१ सालमा भरतमोहन अधिकारी उपप्रधानमन्त्री हुँदा सञ्चार परामर्शदाता, २०६७ मा झलनाथ खनाल र २०७६ मा केपी शर्मा ओली प्रधानमन्त्री हुँदा प्रेस सल्लाहकार नियुक्त भएका थिए । २०७१ सालमा एमालेको केन्द्रीय सदस्य भएका उनी दशौं महाधिवेशनपछि पोलिटब्युरो सदस्य बनेका छन् । यसपछि उनले प्युठानको इन्चार्ज भएर भूगोलमा काम सुरु गरेका हुन् । जिल्लामा इन्चार्ज भएर काम थालेसँगै उनले बैशाखमा भएको स्थानीय तहमा पार्टीलाई मात्रै जिताएनन्, मंसिर ४ गते भएको आमनिर्वाचनबाट आफ्नो संघीय संसदको यात्रासमेत निश्चित गरेका छन् ।


प्रतिक्रिया

One thought on “सूर्य थापा: पहिलो प्रयासमै संसदकाे यात्रा

  1. बधाई छ प्रखर वक्ता सूर्यलाई कान्छीको तथाकथित गढ तोडेकोमा । कान्छीको पनि राजनीति सकियो अब ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *