जाँड पार्टी गरी सरकारी सम्पत्ति तोडफोड गर्नेलाई कारबाही माग गर्दै राष्ट्रिय युवा सङ्घद्वारा पुन: तालाबन्दी (भिडिओ) – Nepal Press

जाँड पार्टी गरी सरकारी सम्पत्ति तोडफोड गर्नेलाई कारबाही माग गर्दै राष्ट्रिय युवा सङ्घद्वारा पुन: तालाबन्दी (भिडिओ)

कैलाली । मदिरा सेवन गरेर सरकारी सम्पत्ति तोडफोड गरेको विरोधमा राष्ट्रिय युवा संघ कैलालीद्वारा घोडाघोडी नगरपालिकाको कार्यकारी अधिकृत दीपक आचार्यको कार्यकक्षमा तालाबन्दी गरिएको छ ।

राष्ट्रिय युवा संघ कैलालीका अध्यक्ष शिवराज चन्द, घोडाघोडी नगर अध्यक्ष होम तामाङका युवाहरूले कार्यालय प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेका हुन् । कार्यालयमै रहेको प्रमुख आचार्यलाई बाहिर निकालेर उनको कार्यकक्षमा तालाबन्दी गरिएको हो ।

शनिबार राति कार्यकारी अधिकृत आचार्यले सरकारी अवासमा मदिरा पार्टी आयोजना गरेका थिए । त्यहाँ घोडाघोडी नगरपालिकाका मेयर खडक रावत,वडा नम्बरका अध्यक्ष घनश्याम ओझा लगायत अन्य तीन जना वडाध्यक्ष रहेका थिए ।

मदिरा सेवनकै क्रममा वडाध्यक्ष ओझा र कार्यकारी अधिकृत आचार्य बिच विवाद बढेपछि वडाध्यक्ष ओझाले टेबल फोडेका थिए । घटना भएको २ दिन सम्म पनि नगरपालिकाले दोषीलाई कारबाही नगरेको भन्दै आज तालाबन्दी गरिएको राष्ट्रिय युवा संघ कैलालीका अध्यक्ष शिवराज चन्दले जानकारी दिए ।

‘सरकारी क्वाटरमा मध्यरातमा जाड पार्टी गर्ने विवाद गरेर सरकारी सम्पत्ति तोडफोड गर्नेलाई कारबाहीको माग गर्दै तालाबन्दी गरिएको हो’ अध्यक्ष चन्दले भने ‘माग सम्बोधन नभए हामी कडा आन्दोलन गर्न बाध्य हुनेछौँ ।’

तालाबन्दी पनि नगरपालिका बाहिर नाराबाजी समेत गरिएको थियो । यसअघि हिजो लगाइएको ताला प्रहरी लगाएर तोडिएको भन्दै युवाहरूले आक्रोश व्यक्त गरेका थिए । आज लगाएको ताला समन्वय बिना नखोल्नसमेत युवा सङ्घले प्रहरीलाई चेतावनी दिएको छ । भोली आन्दोलनका थप कार्यक्रम सार्वजनिक गरिने जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *