समानुपातिकको बाकसमा प्रत्यक्षका भोट सिला खोजिँदै, वसन्त नेम्वाङको जित उल्टिएला ? – Nepal Press

समानुपातिकको बाकसमा प्रत्यक्षका भोट सिला खोजिँदै, वसन्त नेम्वाङको जित उल्टिएला ?

काठमाडौं । अन्तिम मतगणना सकिएर ४७ मतको अन्तरमा विजयी घोषणा भएका नेकपा एमालेका वसन्त कुमार नेम्वाङको जितलाई उल्ट्याउन सकिन्छ कि भनेर समानुपातिकको मतगणना नसकिन्जेल आधिकारिक विजेता घोषणाबाट रोकिएको छ । नेम्वाङले विजयी भएको प्रमाणपत्र पाएका छैनन् ।

मत गणना सकिएर ४७ मतान्तरमा पाँचथरबाट प्रतिनिधि सभामा कांग्रेसका सहमहामन्त्री भिष्मराज आङदेम्वेलाई वसन्तले पराजित गरेका थिए । तर कांग्रेसले सो परिणाम अस्वीकार गर्दै समानुपातिकको बाकसभित्र पनि प्रत्यक्षका मतपत्र भेटिएको भन्दै सबै गणना सकिएपछि मात्र आधिकारिक घोषणा हुनुपर्ने माग राख्यो ।

अन्यत्र भन्दा फरक ढंगले निर्वाचन आयोगले पनि समानुपातिकको गणना सकिएपछि मात्र वसन्तलाई प्रमाणपत्र दिनू भन्यो ।

चुनाव जितेर पनि विजयी भएको प्रमाणपत्रबाट वञ्चित गरिएका नेकपा एमालेका नेता वसन्तकुमार नेम्वाङलाई निर्वाचन आयोगले विजयीको सूचीबाट पनि हटाएको छ ।

पाँचथरमा प्रतिनिधि सभा सदस्य पदको निर्वाचनमा वसन्तले ३२११० मत पाएर जित्दा कांग्रेसका भीष्मले ३२०६३ मत पाएका थिए ।

यता समानुपातिकतर्फको सबै मतगणना आजै साँझसम्म सकिने भएको छ । अहिलेसम्म समानुपातिकको बाकसमा सिला खोज्दा रुखका २३ र सूर्यका १७ मतपत्र भेटिएका छन् । यो कायम रहँदा वसन्तको जितको अन्तर ६ घटेर ४१ हुनेछ ।

पाँचथरको प्रदेशसभाका भने दुवै सीटमा गठबन्धनबाट नेकपा एस र माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् ।


प्रतिक्रिया

One thought on “समानुपातिकको बाकसमा प्रत्यक्षका भोट सिला खोजिँदै, वसन्त नेम्वाङको जित उल्टिएला ?

  1. ए ठगबन्धन एमालेले जितेको सबै उल्टाउ कमसेकम तिमीहरूको बहुमत पुग्छ होला लाछी हो ।

Leave a Reply to bharat kumar Thapa Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर