सुकुम्बासी नेता भन्छन्- बालेनले सच्चिएर वार्तामा बोलाए उहाँकै लागि राम्रो हुन्छ (भिडिओ) – Nepal Press

सुकुम्बासी नेता भन्छन्- बालेनले सच्चिएर वार्तामा बोलाए उहाँकै लागि राम्रो हुन्छ (भिडिओ)

काठमाडौं । वागमती विकास सभ्यता एकीकृत विकास समिति र काठमाडौं महानगरपालिका गएको सोमबार संयुक्त रुपमा थापाथलिस्थित सुकुम्बासी बस्ती हटाउन डोजर लिएर पुग्यो । तर, सिंगो बस्तीले नै प्रतिकार गरेपछि डोजर रित्तो हात फर्कियो ।

आज पनि थापाथलिस्थित सुकुम्बासी बस्ती तनावग्रस्त छ । आन्दोलित सुकुम्बासीहरुले मंगलबार महानगर घेराउ गरेका छन् । कोही माइतीघरमा अनसनरत छन् ।

थापाथलीको सुकुम्बासी बस्तीमा करिब ५० जिल्लाका नागरिक छन् । नेपाल बसोबास बस्ती संरक्षण समाजको तथ्यांकअनुसार सन् २००५ सम्म काठमाडौं उपत्यकामा साना-ठूला गरी ६४ सुकुम्बासी बस्ती छन् ।

यो बस्तीमा ०६९ सालमा तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको सरकारले पनि डोजर चलाएको थियो । वागमती सभ्यता एकीकृत विकास समितिको ०७३ को प्रतिवेदनअनुसार काठमाडौंमा एक हजार ४६५ परिवार सुकुम्बासी छन् । एडीबीको ठूलो आर्थिक सहयोगमा वागमति किनारका बस्ती हटाएर सफा वागमती बनाउने अभियानमा समितिले लामो समयदेखि काम गरिहरेको छ ।

सुकुम्बासी समस्या समाधानका लागि राज्यले दर्जन बढी आयोग मात्रै बनाएन, पटकपटक सुकुम्बासीहरुसँग वार्ता पनि गर्यो । तर, समस्या अहिले पनि ज्युँका त्युँ नै छ ।

बस्तीभित्र डोजर छिर्न खोजेपछि आन्दोलित बनेको सुकुम्बासी बस्तीको समस्या, पटकपटकको वार्ताका असफलता र राज्यको विदेभपूर्ण दृष्टिकोणमाथि हामीले राष्ट्रिय सुकुम्बासी मोर्चाको केन्द्रीय सल्लाहकार पदम बहादुर सिजापतिसँग कुराकानी गरेका छौं । आक्रोशमा रहेका उनले हाम्रो प्रश्नमा केही उत्तेजक जवाफहरु दिएः

भिडिओ:

अहिले तपाईंहरुले प्रतिकूल अवस्थाको सामना गरिरहनुपरेको छ । रातभर पनि जाग्राम बस्नुभयो । अहिले पनि आन्दोलनरत हुनुहुन्छ । डोजर फिरिसकेपछि पनि बस्तीमा फेरि डोजर पस्ला कि भनेर अझै पनि त्रसित हुनुहुन्छ ?

यस्तो घटना विगतमा पनि भएकाले त्रसित छौं । त्यसको प्रतिकारका लागि तयारी अवस्थामा पनि छौं । हामी जाइलाग्दैनौं, आइलागेपछि मर्न र मार्न तयार हुन्छौं । काठमाडौं महानगरका सुरक्षा प्रमुख राजु पाण्डेले जसरी पनि भत्काएरै छाड्ने भड्काउ अभिव्यक्ति दिएका छन् । त्यसका लागि हामी मोर्चावन्दी गरेर तयारी अवस्थामा रहनुपरेको हो । अहिले काठमाडौंका ६५ वस्ती सबै जागरक छन् ।

वार्ताको माध्यमबाट कम क्षतिका साथ यस समस्याको निकास निस्कन सक्दैन र ?

राज्यले जसरी दमन गर्छ, त्यसरी नै हामीले प्रतिकार गर्ने हो । प्राण रहेसम्म संघर्ष गर्ने हो । महिनौं दिन नै किन नलागोस् । राज्यले वार्ता, संवादबाट समाधानको प्रक्रिया अगाडि बढाएमा तयार छौं । हाम्रा लागि विगतका दिनहरुमा पनि भूमी आयोग गठन भएको छ । यसपटक पनि सरकारका तर्फबाट प्रधानमन्त्रीले जतिसक्दो चाँडो निकास निकाल्नु भन्दा बालेनजीले टेर्नु भएको छैन । खै किन हो, एडिबीको पैसा खान हो कि !

एडिबीले पहिलो किस्ता रकम दिइसकेको र दोस्रो किस्ताका लागि हानथाप भइरहेको, कार्यावधि सकिन लागेको र पैसा पचाउन विभिन्न चलखेल भइरहेको सुन्नमा आएको छ । त्यसकारण पनि हामी झनै सावधान भएका छौं । दातृ संस्थाले दिएका बजेट कुम्ल्याएर राजनीतिक नियुक्ती लिएकाहरुले घर जाने सोचेका छन्, त्यो हुन हामी दिन्नौं ।

तपाईंहरु विगत लामो समयदेखि आन्दोलनरत हुनुहुन्छ । राज्यसँग पटकपटक वार्ता पनि गर्नुभयो । तर, ती वार्ता असफल हुनुको पछाडि सुकुम्बासी बस्तीका प्रतिनिधि नै दोषी हुन् भन्छन् नि ?

वार्ताका बेला साथीहरुबाट समस्या भएकै हो । त्यसलाई हामी स्वीकार्छौं । को सुकुम्बासी हो र को होइन, यसमा समस्या छैन । हामीलाई राज्यले तीन वर्गमा विभाजन गरेको छ । कत्ति पनि नहुनेलाई कसरी व्यवस्थापन गर्ने, अलिकति हुनेलाई कसरी व्यवस्थापन गर्ने भनेर भूमि आयोगमा बकाइदा उल्लेख छ । त्यहाँ हाम्रै प्रतिनिधि मोतिराम लामा भूमि आयोगलाई सहयोग गरिहरनुभएको छ ।

यस समस्याको दीर्घकालीन समाधानका लागि हामीले भूमि आयोगलाई सहयोग गरिरहेका छौं । यहाँ खोलाको बाटो फुटाउने ठाउँ पनि छ । शंखमुलमा दुवैतिर बाटो खुलिसकेको छ । अन्य ठाउँमा पनि व्यवस्थापन गर्न सकिने ठाउँ छन् । राज्यको तर्फबाट यसरी जाऔं न त भन्दै गर्दा सहजै निकास निस्कन सक्छ ।

सुकुम्बासी आन्दोलन उठाउने नेतृत्वमा आएको भ्रष्टीकरण र विचलनका कारण पनि खास सुकुम्बासीको माग सम्बोधन नभएको भनिन्छ नि । यो सत्य हो ?

हामीलाई आपसमा फुटाएर शासन गर्न खोज्नेहरु धेरै छन् । भर्खरैको निर्वाचन पनि हेर्न सक्नुहुन्छ । यो निर्वाचनमा पनि हामीलाई विभिन्न लोभलालच देखाइयो । विभिन्न दल आए । हामीलाई भोट हाल्नुस्, समाधान गर्छौंं भने । नीति तथा कार्यक्रममा ल्याएर, पार्टीका घोषणापत्रमा लेखेर हामीलाई भोट हाल्नुभएमा यहीँ व्यवस्थापन हुन्छ भनेका थिए । अहिले ठीक उल्टो भएको छ । हामीले त्यो बुझ्दैनौं ।

हाम्रा साथीहरुबाट विचलन आउने, सुकुम्बासीलाई अराोप लगाउने लगायतका नाजायज हल्ला फिँजाइन्छ । त्यो सामन्त वर्गले खेल्ने खेल हो । तपाईंको नेता यस्तो हो भन्यो, उस्तो हो भन्यो । जुधाइदियो । र फाइदा लियो । तर विचलन आउने घुसखोरी टिम हामीसँग छैन ।

सुकुम्बासी मुद्दाको कुरा भोट बैंकका रुपमा चुनावका बेला मात्रै सतहमा आएका कारण पनि यस्तो स्थिति आएको हो ?

हो, त्यसलाई हामीले एकदमै महसुस गरेका छौं । लोभ देखाएर, हाम्रो पार्टीले जित्दा ग्यारेन्टी भनेर हामीलाई प्रयोग गरेका छन् । अनि चुनाव जितेको भोलिपल्टबाट फोनै नउठ्ने गरेको छ । चुनाव अघिल्लो दिन चाहिँ मिस्डकल गर्दा पनि फर्काउने, आफैं फोन गर्ने देखियो । उपत्यकामा रहेका हाम्रा सबै ठाउँमा बुझ्दा थुप्रो भ्रमको खेती गरेर राजनीतिक दलहरुहरुले प्रयोग गरेका छन् । अनि राज्यले चाहिँ वार्तामार्फत् निकास खोज्नुको साटो अनेक सूचना टाँसेर हामीमाथि सूचनाको आतंक फैलाइरहन्छ । यस्तै गरिरहने हो भने आत्मघाती बम पड्काउने दिनको सुरुवात यही सुकुम्बासी बस्तीबाट हुनेछ ।

चुनावअघि नेताहरु भोट माग्न आइपुगेका थिए । चुनाव सकिनासाथ डोजर लिएर आइपुगे । बस्तीमा भोट माग्न त तपाईंहरु नै आफ्नो पार्टीको उम्मेदवार लिएर आउनुभएको थियो होला । तर, फेरि यही वस्तीमा राज्यले डोजर लिएर आइपुग्नुमा कहीँकतै तपाईंहरुकै कमीकमजोरी पो छन् कि ?

त्यस्तो कमजोरी भएको छैन । सरकारका मन्त्री, वहालवाला प्रदेश मन्त्रीसँग सम्पर्क गर्दा उहाँहरु लागिरहनुभएको छ । प्रधानमन्त्रीले बालेन जीलाई फोन गर्नुभएको थियो । तीन तहमध्ये स्थानीय सरकार बालेनजीको नेतृत्वमा छ । तर उहाँ हिजोको श्री ३ सरकारभन्दा निरंकुश भएर निस्कनुभयो । त्यसलाई तह लगाउन पनि हामीलाई आउँछ । उहाँले सच्चिएर, वार्तामा बोलाएर निकास निकाल्ने प्रयास गर्नुभयो भने सबैका लागि राम्रो होला । उहाँका लागि पनि राम्रै होला ।

यस्तै घमण्ड गरेर जान्छु, सक्छु भनेर सोच्नुभयो भने यो हाम्रो बास त भत्काउन सक्नुहोला । तर हाम्रो हृदयको घाउ भत्किने छैनन् । हामी सबै एक मत भएर उहाँको घरमै पनि आक्रमण हुन सक्छ । उहाँको अफिसमा पनि आक्रमण हुन सक्छ । त्यो भएकाले अब उहाँले तर्साएर, पटाका पड्काएर तर्सिन्छ भन्ने दिवास्वप्न नदेखे हुन्छ । उहाँ सच्चिएर जे भयो, कमजोरी भयो भनेर सुकुम्बासीका प्रतिनिधिसँग वार्ता संवादबाट जानुपर्छ । हिजो उहाँले नै वार्ता संवादबाट अगाडि बढाउनुपर्छ भनेर भूमि आयोगको सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको छ । एकातिर देखउने दाँत छ, अर्कातिर दमनको नीति छ । यो नीति हामीलाई सह्य छैन ।

महानगरले फुटपाथ हटाए जसरी सहजरुपमा वर्षौंदेखि बस्दै आएको वस्ती हटाउने प्रयास गर्नुको पछाडिको कारण के हुन सक्ला ?

उहाँले सोच्नुभयो, यिनीहरुको फुटपाथे जतिको संगठन पनि छैन । यसो पटाका पड्काएर प्रहरी देखाइदिए भाग्छ भनेर छोटो सोचले आउनुभएको छ । त्यसरी नसोचे हुन्छ । यसको स्थायी समाधान कसरी गर्न सकिन्छ ? त्यो सोचका साथ आउनुभयो भने महानगरको हिरो नै बनाएर राखौंला । यस्तै दमन भए त्यसको सशक्त प्रतिकार हुनेछ ।

हिजो तपाईंहरु हिंसात्मक आन्दोलनमा उत्रिनुभयो । महानगरका सुरक्षाप्रमुख एसपी राजु पाण्डेको टाउकोमा ढुंगा लागेर चोट नै लाग्यो । अबका दिनमा त हिंसात्मक बाटो रोज्नुहुन्न होला नि तपाईंहरु ?

उहाँ त ‘मलाई हान्’ भन्दै सीधै आउनुभयो । किनभने उहाँले अलिकति चोट देखाएपछि वागमतीले बीमा पैसा दिएको होला । यति पैसा दिन्छु, चोट लिएर आइज भनेको होला । उहाँ अत्यन्त हिरो हुन खोज्नुभयो । हामीकहाँ दबंग शैली देखाउँदै आउनुभयो । हामीसँग पनि झारफुक गर्नेहरु छन् । उहाँलाई घुच्चुकमा ढुंगाले हान्दा लागेको होइन, चामलको दुईचार गेडो झारफुक गर्दा लागेको हो । ढुंगाले हान्दा त मरिहाल्थे नि मान्छे । डोजर आतंक रोक्नका लागि हामीले धेरै पहल गर्यौं । देशको प्रधानमन्त्री हाम्रो पार्टीका हुनुहुन्छ । उहाँसँग विन्ती गर्यौं । उहाँले किन यस्तो भयो भनेर फोन गर्दा फोन काटेको भन्ने म्यासेज पाएपछि हामी आक्रोशित भएका हौं ।

०००

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर