ओलीको मधेस मिसनका सारथी रघुवीर- एमालेलाई पहिलो शक्ति बनाए, ‘शेर ए धनुषा’ ब्युँताए – Nepal Press

ओलीको मधेस मिसनका सारथी रघुवीर- एमालेलाई पहिलो शक्ति बनाए, ‘शेर ए धनुषा’ ब्युँताए

काठमाडौं । कुनै समय नेकपा एमालेलाई मधेस विरोधी पार्टीको रूपमा चित्रण गरिन्थ्यो। तर, अहिले परिस्थिति फेरिएको छ। मंसिर ४ मा भएको प्रतिनिधि र प्रदेशसभाको निर्वाचनबाट एमाले मधेशमा पहिलो शक्तिको रूपमा उदाएको छ।

मधेस प्रदेशका ३२ सीटमध्ये एमालेले ९ सीट जितेको छ भने, प्रदेशसभाको ६४ सीटमध्ये १५ सीटमा जित हासिल गरेर पहिलो पार्टीको रूपमा स्थापित बनेको हो।, समानुपातिकतर्फ पछिल्लो मतपरिणाम अनुसार कांग्रेसभन्दा थोरै मतले मात्रै पछाडि परेको छ।

२०७४ को निर्वाचनमा बाम गठबन्धन हुँदा समेत एमालेले २ सीट मात्रै जितेको थियो। तर, अहिले मधेस दलहरुको अस्थिर चरित्र र कांग्रेस गठबन्धनबाट गएपछि तीव्र असन्तुष्टिको कारणले एमालेलाई मौका मिलेको छ।

मधेसमा एमालेलाई पहिलो शक्तिको रूपमा स्थापित गर्ने केपी ओलीको आक्रामक रणनीतिका मुख्य सूत्रधार हुन् रघुवीर महासेठ। मधेश प्रदेशका एमाले इन्चार्ज समेत रहेका महासेठ धनुषा ४ बाट निर्वाचित भए। उनले कांग्रेसका सहमहामन्त्री समेत रहेका महेन्द्र यादवलाई १२४ मतले हराए।

महासेठले ३२ हजार २३६ मत ल्याउँदा यादवले ३२ हजार ११२ मत प्राप्त गरे। २०७४ को चुनावमा पनि यो क्षेत्रबाट रघुवीरले महेन्द्रलाई हराएका थिए। उनी मात्रै नभएर उनको श्रीमती जुली महतो पनि धनुषा ३ बाट विजयी भएकी छन्। जसलाई हेमबहादुर मल्ला र शारदा मल्लपछि शेर ए धनुषाको रूपमा उदाएको जोडी भनिएको छ ।

रघुवीरदम्पतीको एकसाथ जित- ३६ वर्षअघिको ‘शेरे धनुषा’ सम्झाए

एमालेका पुराना नेताहरू सीतानन्दन राय, जितेन्द्रदेव, रामचन्द्र झा, महेन्द्रराय यादवसहितले पार्टी छाडेर हिँडेपछि महासेठले बिस्तारै एमालेमा आफ्नो प्रभाव देखाउन थाले । मधेसमा एमालेको शक्तिको रूपमा आफूलाई उभ्याएका महासेठ ०५४ सालमा एमाले फुट्दा वामदेव नेतृत्वको मालेतिर लागेका थिए।

नेता महासेठ २०५९ सालको सातौँ महाधिवेशनबाट केन्द्रीय सदस्य बनेका थिए। आठौँ महाधिवेशनमा केन्द्रीय सदस्य समेत हारेका महासेठ नवौँ महाधिवेशनमा एमालेको सचिव पदमा उठे। तर, त्यहाँ पनि सफल हुन सकेनन्।

२०६४ सालमा भएको संविधानसभा निर्वाचनमा धनुषा ४ बाट चुनाव लडेपनि पराजय व्यहोरे। तर, धनुषा ५ बाट निर्वाचित डा. रामवरण यादव नेपालको प्रथम राष्ट्रपति बनेपछि उनले अर्को मौका पाए।

यादव राष्ट्रपति बनेपछि रिक्त पदमा उपनिर्वाचन भएपछि उनले रामवरणका छोरालाई हराएर संसद्को यात्रा समेत तय गरे। उनी २०६७ मा झलनाथ खनाल नेतृत्वको सरकारको सिँचाइमन्त्री समेत बने।

त्यसपछि लगातार २०७० र ०७४ को चुनाव जितेको महासेठ मधेसमा एमालेको बलियो शक्तिको रूपमा स्थापित बन्न पुगे। ०७४ को निर्वाचन लगत्तै बनेको ओली सरकारमा उनले भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको जिम्मेवारी पाए।

तर, २०७६ मंसिरमा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्दा बाहिरिएका थिए। पार्टीभित्रको विवादको क्रममा केही समय अलमलमा परेका महासेठ ओलीले जुलीकुमारीलाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिएपछि ओलीको पक्षमा बलियोसँग उभिए ।

पार्टीभित्रको विवाद र गुट परिवर्तनकोबीचमा ओलीले आफ्नो विश्वासपात्र प्रदीप ज्ञवालीलाई हटाएर उपप्रधानसहित परराष्ट्र मन्त्रालयको जिम्मेवारी सुम्पिएपछि उनी झन् नजिक भएका थिए। महासेठलाई विश्वास गरेर ओलीले प्रदेश इन्चार्ज बनाएकोमध्ये उनले सातै वटा प्रदेशमध्ये आफूलाई सफल कमान्डरको रूपमा दर्ज गरे।

मधेसमा महासेठले एमालेको नेतृत्व विस्तार गर्दै गर्दा माओवादी केन्द्रबाट आएका प्रभु साहसँग अन्तर्विरोध थियो तर, निर्वाचनको मुखमा पार्टीलाई धोखा दिएर स्वतन्त्र उम्मेदवारी दिएर आफ्नो पक्षबाट छुट्टै उम्मेदवारी दर्ता गरेर साह बाहिरिए ।

भलै, सत्ता गठबन्धनको साथ पाएका शाहले पनि ३ बाट निर्वाचन जितेका छन्। उनी अब फेरि माओवादी नै फर्किनेबारे चर्चा चलेको छ। तर, निश्चित छैन। साहसँगै एमाले बनेका ज्वाला कुमारी साह,रामचन्द्र मण्डल,मोहम्मद समीर लगायतले भने एमालेबाटै जित निकालेका छन् ।

मधेसमा एमाले फेरि शून्यमा झार्ने साहको प्रयासलाई असफल पार्दै महासेठले एमालेलाई पहिलो पटक मधेश प्रदेशकै पहिलो शक्तिको रूपमा खडा गरे। महासेठले कमान्ड सम्हालेको मधेशमा पार्टीलाई शक्तिमा फर्काउन अध्यक्ष ओलीले पनि चलाखीपूर्ण भूमिका खेले।

सत्ता गठबन्धनबाट जसपाले आफ्नो कित्तामा ल्याएपछि एमालेलाई केही हदसम्म फाइदा पुग्यो। ओली आफैंले डिल गरेर मधेसका प्रभावशाली व्यक्तिहरूलाई एमालेमा प्रवेश गराएर टिकट दिए । उमाशङ्कर अरगरिया धनुषा २ मा प्राविधिक कारण हारे पनि अरू ओलीले अपेक्षा गरेका पात्रले जिते ।

जसपा कांग्रेस नेतृत्वको सत्ता गठबन्धनमा हुँदा मधेसका ३२ सीटमा पछि परेको एमाले जसपालाई बाहिर ल्याएपछि समीकरण फेरिएको थियो।

यस्तै, मधेशमा सत्ता गठबन्धनले नागरिकता विधेयकलाई देखाएर कमजोर पार्न खोजेको थिए। तर, ओलीले गठबन्धनको नागरिकता विधेयकलाई पनि ढुस पारेपछि एमाले बलियो शक्तिको रूपमा उदाउन सफल भयो। जुन नागरिकता विधेयकलाई देखाएर मधेसमा सत्ता गठबन्धनले एमालेलाई पराजित गर्न खोजेको थियो,उल्टै गठबन्धनलाई एमालेले पराजित गरेको छ ।

मधेश केन्द्रित दल जसपा र लोसपा कमजोर बनेपछि एमाले मौकाको सदुपयोग गरेको छ। एमाले पहिलो शक्ति बनेसँगै मधेशमा सिके राउत नेतृत्वको जनमत पार्टीको पनि उदय भएको छ। ओली नेतृत्वको सरकारले नै शान्तिपूर्ण राजनीतिमा ल्याएका राउत पनि एमालेप्रति लचिलो छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *