भीम रावल भन्छन् : मैले एमाले छोड्नुपर्छ भने ओलीले पनि छोड्नुपर्छ – Nepal Press
नेपाल टक

भीम रावल भन्छन् : मैले एमाले छोड्नुपर्छ भने ओलीले पनि छोड्नुपर्छ

‘मलाई यदि धकेलेरै फालियो भने त्यसपछि कुरा गरौंला’

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेले यसपटकको निर्वाचनमा नराम्रो हार व्यहोरेको छ । २०७४ सालको निर्वाचनमा प्रतिनिधिसभातर्फ १६ मध्ये ११ क्षेत्रमा जीत हासिल गरेको एमाले यसपालि प्रतिनिधिसभातर्फ दुई सीटमा सीमित भयो ।

प्रदेशसभामा पनि एमालेको हालत उस्तै छ । बाजुराको गणना बाँकी हुँदा प्रदेशसभामा एमालेका तीन उम्मेदवारले मात्रै चुनाव जितेका छन् । अघिल्लो चुनावमा एमालेले प्रदेशसभातर्फ ३२ मध्ये १७ क्षेत्रमा जीत हासिल गरेको थियो ।

सुदूरपश्चिममा एमालेको खराब नतिजाका पछाडि अनेक विश्लेषण भइरहेका छन् । धेरैले चाहिं सुदूरपश्चिमका प्रमुख हस्ती डा. भीम रावलको पार्टीमा निष्क्रियतालाई मुख्य कारण मान्छन् । एमालेले पूर्वाग्रह राखेर उनलाई टिकट नदिएकाले नै पार्टीले चुनावमा धक्का खाएको उनीहरुको विश्लेषण छ ।

वडा तहदेखि प्रदेश कमिटीबाट समेत एकल सिफारिसमा परे पनि एमाले नेतृत्वले रावललाई टिकटबाट बञ्चित गरेको थियो । यसले एमाले अछामका कार्यकर्ता आक्रोशित थिए । धेरैजसोले त आफू रहेको जिम्मेवारीबाट राजीनामा पनि दिए । परिस्थिति सामान्य नभएर झन् चर्किंदै गयो । कञ्चनपुरको चुनावीसभामा रावलको खोजी भएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले उनीप्रति कडा टिप्पणी गर्नुले माहोल झनै बिग्रिएको थियो ।

सुदूरपश्चिममात्र नभएर प्रतिनिधिसभातर्फ कर्णालीमा पनि एमाले शून्य भएको छ । रावलमाथि गरिएको पूर्वाग्रही व्यवहारको प्रत्यक्ष असर यहाँ पनि परेको अछाम एमालेका कार्यकर्ताले स्वीकारिरहेका छन् ।

यिनै विषयमा केन्द्रित रहेर एमाले नेता भीम रावलसँग गरिएको कुराकानी प्रस्तुत छ, नेपाल टकमाः

– चुनावको समय तपाईंको दिनचर्या कसरी बित्यो ?

प्रचारप्रसार अभियान चलिरहेको वेला निर्वाचनका सम्बन्धमा विचार प्रवाह गर्ने, भेटघाट गर्ने नेता-कार्यकर्ता तथा साथीभाइसँग कुराकानी गर्दागर्दै बित्यो । निर्वाचनको वेला अछाममा गएँ र मतदान गरेर फर्किएँ । अहिले निर्वाचनको विश्लेषण गर्ने, तपाईं जस्तै अरु सञ्चारकर्मीसँग कुराकानी गर्ने, बुद्धिजीवीसँग छलफल र बहस गर्नमा व्यस्त छु ।

हो, म निर्वाचन प्रचारप्रसारमा संलग्न नभएकै हो । मलाई चुनावमा टिकट त दिइएन नै, मेरोबारेमा अध्यक्षलगायत पार्टीको उच्च नेतृत्वबाट अनेक खालका टिप्पणी पनि भए । जसका कारण मैले पत्रकार सम्मेलन नै गरेर स्पष्ट पार्नुपर्ने अवस्था आयो ।

– अछाम गएर मतदानमात्रै गरेर फर्किनुभयो ?

हो, अछाम गएर मतदान गरेर फर्किएँ ।

– भीम रावल पार्टीको प्रचारप्रसारमा खुलेर नलागेका कारण कर्णाली र सुदूरपश्चिममा एमालेले पराजय भोग्नुपर्‍यो भन्ने छ नि ?

हो, म निर्वाचन प्रचारप्रसारमा संलग्न नभएकै हो । मलाई चुनावमा टिकट त दिइएन नै, मेरोबारेमा अध्यक्षलगायत पार्टीको उच्च नेतृत्वबाट अनेक खालका टिप्पणी पनि भए । जसका कारण मैले पत्रकार सम्मेलन नै गरेर स्पष्ट पार्नुपर्ने अवस्था आयो ।

जिल्लाबाट फोन गर्दा पार्टीका नेता तथा कार्यकर्तासँग मैले यदि पार्टीले मलाई जिम्मेवारी दियो भने म प्रचारप्रसारमा संलग्न हुन्छु, त्यसका लागि पार्टीलाई अनुरोध गर्नुस् भनेर पनि भनें । जिल्लाका नेता-कार्यकर्ताले पार्टीका उच्चपदस्थ नेतृत्वसँग कुराकानी गर्छौंं पनि भन्नुभएको थियो । तर, के भयो मलाई थाहा भएन । त्यस्तो अवस्थामा मैले प्रचारप्रसारमा जाने कुरा पनि भएन ।

पार्टीले नखटाउँदा नखटाउँदै पनि प्रचारप्रसार गरेको भए झन् भीम रावलले पार्टीलाई पराजित गर्‍यो भन्ने आरोप लाग्न सक्थ्यो । यसै पनि मेरो पार्टीको नेतृत्वसँग १० बुँदे सहमति कार्यान्वयन नगरेकोमा मतभेद कायमै छ । त्यसैले म संलग्न नभएको हो ।

– अछाम पुगेको वेला स्थानीय नेता-कार्यकर्तासँग भेटघाट भयो कि भएन ?

मेरो भेटघाट भएन । किनभने म पुग्दा निर्वाचनको मौन अवधि सुरु भइसकेको थियो । मौन अवधिमा प्रचारप्रसार गर्ने कुरा पनि भएन । यताउता हिँडडुल गर्ने र भेटघाट गर्न पनि मिल्दैन थियो । मतदान गरेर म सीधै फर्किएँ ।

– तपाईंको क्षेत्रका एमालेका उम्मेदवारसँग पनि भेटघाट भएन र ?

उम्मेदवारसँग त भेटघाट भयो । विजयको शुभकामना पनि दिएँ । त्यतिमात्रै हो ।

– नेकपा एमालेले निर्वाचनमा के-कस्तो परिणाम ल्याउने आँकलन गर्नुभएको थियो ? अहिले आएको परिणामलाई कसरी लिनुहुन्छ ?

मलाई यो प्रश्न निर्वाचनअघि पनि धेरैजना सञ्चारकर्मी साथीहरुले सोध्नुभएको थियो । एमाले एक्लै लडेको भए भन्न सक्ने थिएँ । जसपादेखि राप्रपासम्म मात्र नभएर हृदयेश त्रिपाठीलाई समेत सीट छोडियो । मैले त्यतिवेला एमालेले बहुमत त ल्याउन सक्दैन । तर, देशको सबैभन्दा ठूलो पार्टी हुन्छ भनेको थिएँ । त्यसैअनुसार समानुपातिकमा ठूलो पार्टी त भएको छ । तर कर्णालीमा शून्य हुन्छ होला र सुदूरपश्चिममा यस्तो नतिजा आउला भन्ने सोचेको थिइनँ । केही केही ठाउँमा अनपेक्षित नतिजा आएको छ । बहुमत नै ल्याउने त अवस्था नै थिएन ।

म सधैं देशको पक्षमा उभिरहन्छु । जहाँ भए पनि म आफ्ना मान्यतामा अडिग छु । क्रियाशील रहन्छु । अब बाँकी के गर्ने, कसो गर्ने भन्ने निर्णय गर्ने त पार्टीको नेतृत्वले नै हो ।

– कर्णालीलगायत सुदूरपश्चिम प्रदेशमा एमालेको लज्जास्पद हारको प्रमुख कारण गठबन्धन हो कि तपाईंको निष्क्रियता ?

यसमा मैले कुनै अध्ययन-अनुसन्धान गरेको छैन । मेरो एकल सिफारिस भएर पनि मलाई उम्मेदवारी नदिलाएका कारण कुनै नेता-कार्यकर्ताले दुःखी भएर नेकपा एमालेका उम्मेदवारलाई भोट नहालेको भए मलाई थाहा भएन । तर, धेरै ठाउँबाट मलाई फोन आएको थियो । धेरैजसोले मसँगै अन्याय भयो, पार्टीले राम्रो गरेन भनेर भन्नुभएको थियो । मैले उहाँहरुलाई पार्टीको निर्णयलाई एक नेता-कार्यकर्ता भएको नाताले मान्नुपर्छ र पालना गर्छु भनेर भनें । खै के प्रभाव पर्‍यो । यसलाई पार्टीले गम्भीर रुपमा लियो भने आगामी गल्तीबाट बच्न सकिएला ।

– यसबीचमा पार्टी अध्यक्ष वा उच्च नेतृत्व कसैसँग कुराकानी भएको छ ?

कोही कसैसँग कुराकानी भएको छैन । कसैले सम्पर्क गर्नुभएको छैन ।

– भीम रावलको अबको बाटो के हो भन्ने धेरैको जिज्ञासा छ । अब आफ्नो राजनीति कसरी अगाडि बढाउनुहुन्छ ?

म मेरो बाटो त्यस्तो अलमल देख्दिनँ । म पार्टीको एक सदस्य हो । निर्णयको अवज्ञा गरेको भए पार्टीले कारबाही गर्न सक्थ्यो । म काठमाडौंमा पनि लड्न सक्थें । अहिले पनि म पार्टीको नीतिअनुसार नै अघि बढेको छु ।

पार्टीले १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार उठाएको भए पक्कै पनि नेकपा एमाले बहुमत ल्याएर सरकार चलाउने अवस्थामा पुग्न सक्थ्यो । पार्टीले अहिलेका जस्ता कमिकमजोरी हटाउँदै जाओस् भन्ने मेरो कामना हो । म सधैंभरि पार्टीलाई सुझाव-सल्लाह दिइरहन्छु । म सधैं देशको पक्षमा उभिरहन्छु । जहाँ भए पनि म आफ्ना मान्यतामा अडिग छु । क्रियाशील रहन्छु । अब बाँकी के गर्ने, कसो गर्ने भन्ने निर्णय गर्ने त पार्टीको नेतृत्वले नै हो ।

– कतिपयले त भीम रावलले एमालेको ठूलो पंक्ति लिएर पार्टी फुटाउँदै हुनुहुन्छ भन्ने पनि गरेका छन् ?

हो, मान्छेले त्यस्तो अनुमान पनि गर्नुभएको छ । स्थानीय तहदेखि प्रदेशस्तरबाट एकल सिफारिस भएर पनि पार्टीले टिकट नदिएपछि त्यस्तो सोच्नु स्वाभाविक पनि हो । म अध्यक्षमा पनि लडेको र त्यसअघि पार्टीको उपाध्यक्षमा धेरै मत ल्याएर विजयी भएकाले पनि शुभचिन्तकले त्यस्तो सोच्नु स्वाभाविक पनि छ ।

मैले भने त्यस्तो केही सोचेको छैन । मेरो चाहना र जोड यतिमात्रै हो कि नेकपा एमाले सही बाटोमा जाओस् । यसो गर्दागर्दै र सोच्दासोच्दै पनि नसोचेको अवस्था आयो भने त्यसैअनुसार पाइला अघि बढाउनुपर्ला ।

पार्टीको सिद्धान्तभित्र नबसेर कुनै व्यक्तिप्रति इगो बोकेर जाने प्रवृत्तिले समस्या भइरहेको छ । तर पनि जुन परिणाम आएको छ, यसबाट धक्का लाग्यो भनेर अर्को प्रतिज्ञा गरेर चेतना वृद्धि हुन्छ कि !

– तपाईंसँगै पार्टीबाट टिकट नपाउने घनश्याम भुसालसँग यो बीचमा कुराकानी भएको छ कि छैन ?

केही कुराकानी पनि भएको छैन ।

– आगामी दिनमा तपाईंहरुबीच सहकार्यको कुनै सम्भावना छ ?

त्यस्तो कुनै कुरा भएको छैन । सबैभन्दा पहिले त नेकपा एमालेभित्र नमिलेका कुरा मिलाएर राष्ट्रको हितमा काम गर्ने, पार्टीलाई विधि र पद्धतिमा चलाउने तथा पार्टीभित्रका गलत प्रवृत्ति हटाउनुपर्छ भन्ने चाहेको हो । म यसै पार्टीमा कटिबद्ध छु ।

– तपाईंलाई एमालेले टिकट नदिएसँगै गठबन्धनसँग टिकटका लागि पहल गरेको तर, त्यहाँ पनि ठाउँ नभएपछि चुपचाप लागेको भन्ने पनि सुनिएको थियो नि ?

त्यस्तो होइन । मैले जुन नेतासँग भेट्यो भन्ने छ त्यो गलत हो । तर, उहाँहरुले फोन गरेर मलाई जसरी पनि तपाईं संसदमा जानुपर्छ, बरु तपाईं पार्टीमा आइरहनुपर्दैन, तपाईं जे जहाँबाट उठ्ने भन्नुहुन्छ त्यो क्षेत्र दिन र समर्थन गर्न तयार छौं भन्नुभएको थियो । तर, मैले त्यसलाई स्वीकार गरिनँ । मैले मेरो विधि र पद्धति छ, म स्वतन्त्र भएर उम्मेदवार बन्दिनँ भन्ने जवाफ दिएँ । सम्झेकोमा र चिन्ता गरेकोमा धन्यवाद पनि व्यक्त गरें । मलाई प्रस्ताव आएको थियो ।

– कुन पार्टी र कसले गरेको हो तपाईंलाई प्रस्ताव ?

होइन, अब निर्वाचन पनि सकिसक्यो । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको गठबन्धनका ठूलै नेताले फोन गर्नुभएको थियो । म जसको पनि फोन उठाउँछु । म आफ्नो विचारमा अडिग नै छु ।

– अहिलेको नेकपा एमालेले प्राप्त गरेको नतिजा र समग्र निर्वाचन परिणामलाई कसरी विश्लेषण गर्नुहुन्छ ?

सबैभन्दा पहिले त २००६ सालमा स्थापित कम्युनिष्ट पार्टी नेकपा एमाले र माओवादी केन्द्रका बीचमा एकता गर्दा टुटफुटलाई घटाएर अघि बढ्न खोजेका थियौं । त्यो कायम राख्न सकेनौं । भन्ने वेलामा मार्क्सवाद-लेनिनवाद भन्ने, समाजवादमा जान्छौं भन्ने, तर कोही कांग्रेससँग, कोही राजावादीसँग त कोही होली वाइनसँग मिसिन्छन् ।

यो मत परिणाम यी गलत खालका क्रियाकलापको नतिजा हो । विगतमा टुटफुट गर्दा के अवस्था भयो सबैले देखेकै कुरा हो नि ! म जाँदा र नजाँदा के भयो भनेर मैले भन्नु भन्दा पनि बाहिर विश्लेषण त भएको छ नि ! मेरो उम्मेदवारी हुनु र नहुनुले पनि त केही फरक पारेको सबैले भन्ने गरेकै छन् । पार्टीको सिद्धान्तभित्र नबसेर कुनै व्यक्तिप्रति इगो बोकेर जाने प्रवृत्तिले समस्या भइरहेको छ । तर पनि जुन परिणाम आएको छ, यसबाट धक्का लाग्यो भनेर अर्को प्रतिज्ञा गरेर चेतना वृद्धि हुन्छ कि !

मैले एमसीसी, एसपीपीका विरुद्धमा बोलेकै हो । होली वाइनको सम्मेलन र लिपुलेकदेखि गोर्खा भर्ती सम्बन्धमा पनि मैले जोडदार कुरा राखेको हुनाले मेरो उम्मेदवारी रोकिनुमा बाह्य शक्तिको पनि कुनै न कुनै हात छ भनेर राजनीतिक विश्लेषकले यत्रतत्र भनिरहनुभएकै छ नि !

अर्को कुरा, ठूला दलको गतिविधिका कारण राष्ट्रको हितमा गर्ने काम कमजोर देखिएको हुनाले नयाँ शक्तिको पनि उदय भएको छ । नयाँ व्यक्ति संसदमा गएर राष्ट्रको हितमा काम गर्न सकियो भने त राम्रै होला । तर, विगतको अभ्यासजस्तै चरम स्वार्थका लागि जाने हो र त्यस्ता कार्यलाई नै प्रश्रय दिने हो भने नेपालका आउने दिन एकदमै दयनीय हुन्छन् । देश झनै संकटमा जाने हो कि भन्ने चिन्ता छ ।

देखिहाल्नुभयो र सुनिहाल्नुभयो होला, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम आइसकेको छैन, विदेशी राजदूत के गर्ने र कसको सरकार बनाउने भनेर बालुवाटार छिर्न थालिसकेका छन् । यो एकदमै आपत्तिजनक र लज्जास्पद हो ।

– सरकार गठनका वेला विदेशी राजदूतको चलखेल त पुरानै संस्कार होइन र ?

पुरानो संस्कारको गलत अभ्यास हो । दुई वर्षसम्म अविश्वासको प्रस्ताव ल्याउन नसकिने भएको हुनाले सरकार जेनतेन चलिहाल्छ । त्यसपछि त प्रतिनिधिसभा भनेको देशलाई अस्थिरता कायम गर्ने र विदेशीले हस्तक्षेप गर्ने ठाउँ बन्छ कि भन्ने संशय छ ।

– १० भाइमध्ये भीम रावल र घनश्याम भुसालले मात्र टिकट नपाउनु भनेको पार्टी लयमा फर्किन नसक्नु हो ?

म आफ्नो बारेमा भन्छु है । यो काल्पनिक कुरा हो । मैले पार्टीको नीतिभन्दा बाहिर गएर गरेको कुनै काम देखाइदिनुहोस् । एमालेले एमसीसी र एसपीपी लागू गर्न खोजेको थियो, भीम रावलले विरोध ग¥यो भनेर कसैले भनिदियोस् । मसँग ठूल्ठूला शक्ति त रिसाए होलान् । तर, मैले उनीहरुको विरुद्धमा त बोलेको होइन नि ! देशको हितमा पो बोलेको हो । त्यसैले पार्टीको लय भनेको कस्तो हो ? पार्टीको अधिवेशनमा अध्यक्ष लड्नु लय होइन कि ! म छैटौं महाधिवेशनबाट खुल्ला प्रतिस्पर्धामा छु । केलाई लय भनिएको हो ? यसलाई कसैले स्पष्ट पारिदिएको भए हुन्थ्यो बरु ।

– अहिले सरकार गठनको तयारी पनि भइरहेको छ । सरकार गठनबारे के छ तपाईंको सुझाव ?

संविधान, देश र जनताप्रति इमानदार हुने हो भने समान विचार भएका दल एक ठाउँमा हुनुपर्छ । संसारभर यसरी जो पायो त्यहीसँग गठबन्धन हुँदैन, जो नेपालमा भइरहेको छ । यो संविधानको ठाडो उल्लंघन पनि हो । समान दृष्टिकोण राख्ने एक ठाउँमा आउन सक्यो भने मात्र मतदाताले पनि ठीक विकल्प रोज्न सक्छन् । कसैको बहुमत नल्याउने अवस्था त अहिलेको गठबन्धनबाट भएको हो नि ! वामपन्थी, प्रगतिशील र नयाँ दल पनि समानताका हिसाबले एक ठाउँमा आउनुपर्‍यो । होइन आफू अनुकूल काम गर्ने हो र स्वार्थका लागि गर्ने हो भने त जे गरे पनि हुन्छ ।

– एमालेको यस्तो नतिजा आउनुको पछाडि गठबन्धन नै प्रमुख कारण हो कि अरु पनि कुनै कारण छन् ?

यसका धेरै कारण छन् । हामीले नेकपा बनायौं । दुईतिहाइ थियो । अहिले पूरै सकियो । पार्टीले गरेका बाचा सबै सकिए । संसद विघटन भयो । पार्टी फुट्यो । टिकट वितरणमा न्याय भएन । यी सबै कारण हुन् । यो सँगै बाह्य शक्तिको चलखेल पनि हो ।

संसदमा त मेरो सहभागिता नहुने नै भयो । नभए पनि नेकपा एमालेको सदस्यको हैसियतले जनताको पक्षमा र हितमा, समृद्धिका पक्षमा निरन्तर बोलिरहन्छु र आवाज उठाइरहन्छु जहाँ भए पनि जस्तो अवस्थामा भए पनि ।

– तपाईंले टिकट नपाउनुको पछाडि पनि कुनै विदेशी शक्तिको हात छ ?

मानिसले विश्लेषण गर्ने गर्छन् । मैले एमसीसी, एसपीपीका विरुद्धमा बोलेकै हो । होली वाइनको सम्मेलन र लिपुलेकदेखि गोर्खा भर्ती सम्बन्धमा पनि मैले जोडदार कुरा राखेको हुनाले मेरो उम्मेदवारी रोकिनुमा बाह्य शक्तिको पनि कुनै न कुनै हात छ भनेर राजनीतिक विश्लेषकले यत्रतत्र भनिरहनुभएकै छ नि !

– तपाईंलाई टिकट नदिने निर्णय गर्न त अध्यक्ष केपी शर्मा ओली नै प्रमुख जिम्मेवार होइन र ?

होइन, कुनै पनि व्यक्तिले निर्णय गर्नुको पछाडि धेरै परिवेशले काम गरेको हुन्छ ।

– चुनावमा पार्टी अध्यक्षकै निकट वा पार्टीका उच्च पदाधिकारी नै पराजित हुने अवस्था किन आयो ?

यसमा मैले कुनै पनि अध्ययन गरेको छैन । आफू किन पराजित भइयो भनेर उहाँहरुले नै समीक्षा गर्नुहोला । यसको दोष अरुको टाउकोमा हालेर हुँदैन ।

सुदूरपश्चिम र कर्णालीमा मैले पार्टीका उम्मेदवारलाई हराएको भन्ने हल्ला सुन्दा मलाई हाँसो उठ्यो । त्यसो भए त अध्यक्षकै वरपरको क्षेत्रमा पार्टीका उम्मेदवार किन हारे ? काठमाडौंमा पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल किन पराजित हुनुभयो ? दाङमा पार्टीका महासचिव शंकर पोखरेलले किन हार खानुभयो ? त्यसैले मैले यसलाई गहिरो हिसाबले हेरेको छैन ।

पहिलो गठबन्धन र दोसो पार्टीभित्रको विवाद समाधान गर्न नसकेका कारण पनि हो । यस्ता कुरामा पार्टीले समीक्षा गर्नुपर्छ र यस्तो अवस्था नदोहोरिने संकल्प भित्री मनैदेखि गर्नुपर्छ ।

– एमालेले पनि आफ्नो नेतृत्वमा सरकार गठन गर्ने कसरत गरिरहेको चर्चा छ । तपाईंको विचारमा अहिले एमाले सरकारमा जानु ठीक हुन्छ कि हुँदैन ?

पार्टीको बहुमत भएको अवस्थामा सरकार चलाउँदा राम्रो हुन्छ । अहिले त देउवाको नेतृत्वको कांग्रेस प्रमुख दल भइसक्यो । कांग्रेसले अरु मिसाउँदा सरकार बन्ने अवस्था पनि देखिन्छ । यस्तो अवस्थामा एमालेले सरकार बनाउन विभिन्न साँठगाँठ गर्दा झनै समस्या आउन सक्छ । अगाडि जाने गन्तव्य ठीक छ भने र त्यसैमा टाउको हाल्दा त्यसले झनै नराम्रो अवस्था निम्त्याउन सक्छ । यसमा पार्टीले सोचेर पाइला चाल्दा राम्रो हुन्छ ।

– कतिपय भर्खरै गठन भएका दलले ठूला दलले अपेक्षा गरेभन्दा राम्रो नतिजा ल्याएका छन् । यसलाई कसरी लिनुभएको छ ?

यो त एकदमै प्रस्ट छ । नेपालका ठूला दलको गतिविधि तथा सिद्धान्तमा देखिएको विचलन प्रमुख कारण हो । आर्थिक समृद्धिको दिशामा राष्ट्रले अपेक्षाअनुसार प्रतिफल हासिल गर्न नसकेको र असन्तुष्टि बढेको वेला विकल्पका रुपमा स्वतन्त्र पार्टीमा जनमत गएको कुरा स्पष्ट छ । आउने दिनमा पनि ठूला दलले सुधार नगर्ने हो भने अहिले उदाएका दल साँच्चिकै ठूला दल पनि बन्न सक्छन् । उहाँहरु कसरी अघि बढ्नु हुन्छ, उहाँहरुप्रति पनि शुभेक्षा व्यक्त गरौं ।

प्रधानमन्त्री देउवाकै क्षेत्रमा सागर ढकाल बाहिरको मान्छे गएर १३ हजार भोट ल्याइदिनुभएको छ । काठमाडौंमा थुप्रै निर्वाचन क्षेत्रमा नयाँ दलका उम्मेदवार निर्वाचित हुनुभएको छ । ठुला दल र तिनका नेताले गम्भीर रुपमा लिनुपर्ने र विश्लेषण गर्नुपर्ने बेला आएको छ ।

– देशलाई विखण्डन गर्नुपर्छ भन्ने सीके राउतदेखि अभियन्ता ज्ञानेन्द्र शाहीसम्म अहिलेको संसदमा आउँदैछन् । अबको संसद कस्तो हुने अपेक्षा गर्नुभएको छ ?

आफ्ना विचार जेसुकै भए पनि देशको हितमा काम गर्नुभयो भने राम्रो हुन्छ । तर, वेलावेलामा सीके राउत जस्ता व्यक्तिका अभिव्यक्ति र लिखित दस्तावेज हेर्ने हो भने एकदमै डर लाग्छ । त्यस्तो नगरेर संविधान र देशको हितमा काम गर्नुभयो भने राम्रो हुन्छ । त्यसो नगरेर आफ्नोमात्रै डम्फु बजायो भने र सत्ताको खेलमा लाग्ने, संकीर्णताको बाटोमा लागियो भने झनै देशलाई अप्ठेरो पर्छ ।

– राष्ट्रियताको विषयमा संसदमा गर्जने भीम रावलविनाको संसद कस्तो होला भन्ने पनि जिज्ञासा छ नि ?

तपाईंले भनेजस्तै संसद एउटा औपचारिक थलो हो । संसदमा त मेरो सहभागिता नहुने नै भयो । नभए पनि नेकपा एमालेको सदस्यको हैसियतले जनताको पक्षमा र हितमा, समृद्धिका पक्षमा निरन्तर बोलिरहन्छु र आवाज उठाइरहन्छु जहाँ भए पनि जस्तो अवस्थामा भए पनि । पार्टीले जिम्मेवारी दियो भने त राम्रो भयो, यदि नदिए पनि उच्च मनोबलका साथ त्रियाशील रहन्छु । त्यसको प्रभाव कति रहला त्यो त समयले बताउला ।

भीम रावलले पार्टी किन छोड्ने ? नेकपा एमाले पार्टी कुनै व्यक्तिको हो र ? म पार्टीको स्थापनाकालदेखिको सदस्य हो । १० बुँदेमा पनि मैले सबैभन्दा धेरै काम गरेको छु र संघर्ष गरेको छु । पार्टीलाई कैयौं ठूल्ठूला दुर्घटनाबाट जोगाएको छु । छोड्ने भन्ने त कुरै भएन नि !

– संसदमा तपाईंको अभाव कत्तिको खट्किएला ?

त्यो त मैले आफ्नोबारेमा आफैंले भन्दा राम्रो हुँदैन । देशभक्त नेपालीले मूल्यांकन गर्ने कुरा हो ।

– प्रतिनिधिसभामा नगए पनि राष्ट्रियसभामा जाने बाटो त छँदै छ । त्यसमा के सोच्नुभएको छ ?

म कुनै त्यस्तो पदका लागि मरिहत्ते गर्ने मान्छे होइन । यदि संसदमा जानकै लागि मरिहत्ते गर्ने भए स्वतन्त्र भएर पनि उम्मेदवारी दिन सक्थें । मैले जहाँबाट पनि सहजै उम्मेदवारी दिन सक्थें ।

नेकपा एमालेले राष्ट्रको हितमा काम गरोस् भन्ने मेरो चाहना र इच्छा हो । राष्ट्रको हित विपरीतका कार्य भएमा बाहिरबाट भए पनि म सशक्त प्रतिवाद गर्छु । भोलि जनताले साथ दियो भने संगठित रुपमा पनि गर्छु । नभए एक्लै पनि गरिरहन्छु ।

– सांसदका रुपमा एउटा जिम्मेवारीसहित विचार अभिव्यक्त गर्नु र एउटा सामान्य पार्टी सदस्य वा नागरिकको हिसाबले बोल्नुमा त धेरै फरक होला नि ?

हो, फरक त अवश्य हुन्छ नै । जनताले साथ दिएमा सशक्त रुपमा पनि आउन सक्छु । नदिए पनि म आफ्नो आवाज जनता र देशको पक्षमा सधैंभरि उठाइरहन्छु ।

– नेकपा एमालेले तपाईंलाई पार्टी सदस्य नै नरहने गरी कारबाही गर्दैछ भन्ने हल्ला पनि छ । अर्कोतिर तपाईं त्यसअघि नै ठूलो समूह लिएर जाँदै हुनुहुन्छ भन्ने पनि हल्ला छ । यी दुई हल्लामा कुन सत्य हो ?

तपाईंले सोधेको पछिल्लो प्रश्नबाट जवाफ दिन्छु म । भीम रावलले पार्टी किन छोड्ने ? नेकपा एमाले पार्टी कुनै व्यक्तिको हो र ? म पार्टीको स्थापनाकालदेखिको सदस्य हो । १० बुँदेमा पनि मैले सबैभन्दा धेरै काम गरेको छु र संघर्ष गरेको छु । पार्टीलाई कैयौं ठूल्ठूला दुर्घटनाबाट जोगाएको छु । छोड्ने भन्ने त कुरै भएन नि !

अर्को, मलाई निकाल्ने भन्ने कुरा जुन छ, यदि मलाई निर्वाचनमा सहयोग नगरेको वा असहयोग गरेको आरोपमा निकाल्ने हो भने झापामा पार्टीका उम्मेदवार हारेकोमा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई निकाल्नुपर्ला नि ! त्यसपछि काठमाडौंमा निर्वाचन हारेकोमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र दाङमा निर्वाचन हार्ने महासचिव शंकर पोखरेललाई निकाल्नुपर्ला । त्यसो गरियो भने म पनि तयार छु ।

मलाई धकेलेरै पठाउन त नपर्ने हो । यदि कसैले धकेलेरै फाल्न खोजेको हो भने के गर्ने भन्ने विषयमा म तपाईंसँग अर्कोपटक फेरि कुरा गरौंला ।


प्रतिक्रिया

One thought on “भीम रावल भन्छन् : मैले एमाले छोड्नुपर्छ भने ओलीले पनि छोड्नुपर्छ

  1. यसले त जुन दिन बोल्छ पार्टी विरूद्व बोलिहाल्छ । यो ढोंगी राष्ट्रवादी हो । छानविन गरौ लैनचौरक‍ो हण्डी खाएको भेटिन्छ ।

Leave a Reply to ksp pyl Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर