तेस्रो प्रयासमा यसरी सफल भयो विजयको अपराजित यात्रा रोक्ने भगवतीको भगीरथ प्रयत्न – Nepal Press

तेस्रो प्रयासमा यसरी सफल भयो विजयको अपराजित यात्रा रोक्ने भगवतीको भगीरथ प्रयत्न

इटहरी । सुनसरीमा नेकपा एमालेकी नेतृ भगवती चौधरीले पहिलोपटक नेपाली कांग्रेसका हेभीवेट नेता विजयकुमार गच्छदारलाई पराजित गरेकी छिन् । चौधरीले  ५ हजार १८८ मतान्तरमा गच्छदारलाई पराजित गरेकी हुन् ।

चौधरीले ४० हजार ७८८मत ल्याउँदा गच्छदार ३५ हजार ६०० मतमा रोकिए । तीन सय अन्तरले मात्रै चुनाव हार्दै आएकी चौधरीले यसपालि गच्छदारलाई  ५ हजार १८८ बढीको मतान्तरले हराएकी छन् ।

गच्छदारलाई चुनावमा पराजित गर्न चौधरीले तीन चुनाव कुर्नुपर्‍यो । गच्छदार उपप्रधानमन्त्रीसहित कैयौंपटक मन्त्री भइसकेका छन् । २०७० सालमा चुनावी डेब्यु गरेकी चौधरी राज्यमन्त्री भइसकेकी छन् । २०७० र २०७४ दुवै चुनावमा चौधरी गच्छदारसँग हारेकी थिइन् । तर, मतान्तर तीन सय हाराहारीमात्रै थियो । २०७० मा चौधरीले ३६२ मत नपुगेर गच्छदारसँग हार्दा २०७४ मा ३२१ मतले उपविजेता हुन पुगिन् ।

दश वर्षदेखि गच्छदारलाई चौधरीको चुनौती

सुनसरी क्षेत्र नम्बर ३ मा २०७० सालको चुनावमा चौधरीको अवतरण भएपछि गच्छदारलाई केही तनाव बढेको हो । त्यस अगाडिका २०४८, २०५१ र २०५६ सालको प्रतिनिधिसभा चुनावदेखि पहिलो संविधानसभासम्म गच्छदारले दह्राे जीत निकालिरहे । उनको राष्ट्रिय राजनीतिले पनि फड्को मार्दै गयो ।

दलको चुनाव चिन्ह फेरिए पनि, उनका प्रतिस्पर्धीहरु फेरिए पनि गच्छदार आफ्नो क्षेत्रको चुनावी विजेतामा तसमस पनि भएनन् । रुख, मसाल, नमस्तेसम्मका तीन फरकफरक चुनाव चिन्हमा लडेका गच्छदारले अहिलेसम्म ६ चुनाव जितेका छन् ।

२०४८ सालबाट चुनावी राजनीतिमा अवतरित गच्छदारले मन्त्रिपरिषदमा पनि त्यही वेलाबाट ठाउँ बनाएका थिए । उनले कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, शेरबहादुर देउवा, प्रचण्ड, माधवकुमार नेपाल, बाबुराम भट्टराईदेखि केपी शर्मा ओलीसम्मको प्रधानमन्त्रीत्वकालमा मन्त्री तथा उपप्रधानमन्त्री भएको अनुभव लिएका छन् ।

२०४८ सालको गिरिजाप्रसाद कोइरालाको क्याबिनेटमा सञ्चार राज्यमन्त्रीबाट मन्त्रिपरिषदमा डेब्यु गरेका गच्छदार २०५२ सालको शेरबहादुर देउवाको क्याबिनेटमा ‘फुल मन्त्री’ भए । त्यसवेला उनले निर्माण तथा यातायात मन्त्रालयको नेतृत्व गरेका थिए । माधब नेपालको नेतृत्वको २०६६ सालको क्याबिनेटमा उनी उपप्रधानमन्त्रीमा बढुवा भए ।

त्यसपछि त उनी निरन्तर शक्तिशाली मन्त्रालय लिँदै उपप्रधानमन्त्री हुन भ्याए । २०७४ सालको चुनावसम्म राजाको प्रत्यक्ष शासनकाल र केही छिटफुटबाहेक हरेकजसो मन्त्रिपरिषदमा जोडिए । २०५५ सालमा उनी गिरिजाप्रसाद कोइरालाको प्रधानमन्त्रीत्वकालमा निर्माण तथा यातायातमन्त्री, २०५६ सालको कृष्णप्रसाद भट्टराईको प्रधानमन्त्रीत्वकालमा पर्यटन तथा नागरिक उड्ययनमन्त्री, २०५८ को शेरबहादुर क्याबिनेटमा जलस्रोतमन्त्री, २०६५ सालको प्रचण्डको प्रधानमन्त्रीत्वकालमा भौतिक योजना तथा निर्माणमन्त्री भएका थिए ।

२०६६ सालको माधव नेपालको प्रधानमन्त्रीत्वकालमा उपप्रधानमन्त्रीसहित भौतिक योजना तथा निर्माणमन्त्री, २०६८ सालको बाबुराम भट्टराईको क्याबिनेटमा उपप्रधानमन्त्रीसहित गृहमन्त्री, २०७० सालको केपी ओलीको प्रधानमन्त्रीत्वकालमा पहिलो वरियताको उपप्रधानमन्त्रीसहित भौतिक पूर्वाधार तथा यातायातमन्त्री भएका थिए गच्छदार ।

ओलीको पहिलो कार्यकालपछिको प्रचण्ड र देउवा दुवैको प्रधानमन्त्रीत्वकालमा पनि गच्छदार अटाए । पछिल्लो समयमा उनी २०७४ को देउवा क्याबिनेटमा उपप्रधानमन्त्रीसहित संघीय मामिला तथा स्थानीय विकासमन्त्री भएका थिए ।

नेपाली कांग्रेससँग पार्टी एकीकरण गरेर २०७४ को चुनाव जितेयता भने उनी क्याबिनेटमा छैनन् । सांसदको रुपमा पनि उनी निलम्बनमा परेका थिए । यद्यपि २०७९ को चुनावमा उनी पुनः उम्मेदवार भए ।

गच्छदारले कैयौंपटक क्याबिनेटमा बसेर सातौंपटकको संस्द यात्रामा उनलाई एमालेकी चौधरीले बाधा पु¥याएकी छन् । गच्छदारसँग तेस्रो किस्ताको चुनावी भिडन्तमा चौधरीले गच्छदारलाई पछारेरै छाडिन् । पहिलो संविधानसभाको समयमा झलनाथ खनालको मन्त्रिपरिषदमा एकपटक ३३ औं वरियतामा रहेर वन तथा भू-संरक्षण राज्यमन्त्री भएको बाहेक चौधरी कुनैपनि क्याबिनेटमा सहभागी छैनन् ।

चौधरीको जीतसँगै २०४८ सालबाट कांग्रेसदेखि मधेसवादी दलहरुबाट निरन्तर निर्वाचित भएर सांसद, मन्त्री र उपप्रधानमन्त्री भएका गच्छदारको संसद र सत्ता यात्रामा यसपटक विश्राम लागेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर