‘कांग्रेसले भोट नहालेको भए माओवादी र एसले यति सीट पनि जित्ने थिएन’ – Nepal Press
नेपाल टक

‘कांग्रेसले भोट नहालेको भए माओवादी र एसले यति सीट पनि जित्ने थिएन’

कांग्रेस प्रवक्ता महतलाई प्रश्न- ‘तरमाराहरू’ लाई समानुपातिकमा राख्दा कांग्रेसको थोरै मत आएको हो ?

कैलाली । मङ्सिर ४ गते सम्पन्न निर्वाचनको अन्तिम परिणाम आउन बाँकी छ । तर, अहिले सम्म प्रत्यक्ष तर्फ कांग्रेसले ५३ क्षेत्र जित्दा एमालेले ४३ क्षेत्र जितेको छ । समानुपातिकमा कांग्रेस भन्दा एमाले अगाडि छ ।

सत्ता गठबन्धनमा रहेको माओवादीले १७, नेकपा एकीकृत समाजवादीले ७, लोसपाले ४ र जनमोर्चाले १ क्षेत्र जितेको छ । सत्ता गठबन्धनले निर्वाचनमा प्रत्यक्षबाटै सरकार सञ्चालन गर्ने बहुमत ल्याउने दाबी गरिरहेका बेला अहिले समानुपातिक मत जोड्दा पनि बहुमत (१३८) पुर्‍याउन सकस भइरहेको छ ।

गठबन्धन हुँदा कांग्रेसको परिणाम पनि चित्तबुझ्दो छैन । तर, सन्तोष मान्न सकिन्छ । माओवादी केन्द्रको परिणाम भने निराशाजनक छ । निर्वाचन परिणामपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचनमा गठबन्धनले सोचे जस्तो परिणाम नआएको बताइसकेका छन् ।

प्रचण्डले गोरखामा आफू निर्वाचित भएको प्रमाणपत्र बुझ्दै यस विषयमा गठबन्धनमा सामेल दलहरूबीच छलफल गर्ने समेत उल्लेख गरे । माओवादी महासचिव देव गुरुङले पनि गठबन्धनको विषयमा समीक्षा हुन आवश्यक रहेको बताइसकेका छन् । उनी एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङसँग पराजित भए ।

निर्वाचनको परिणामले सन्तुष्ट नरहेको माओवादीका कारण आगामी सरकार गठनका विषयमा नयाँ समीकरण हुन सक्ने आशङ्काहरू पलाएका छन् । तर, सत्ता गठबन्धनको नेतृत्व गरिरहेको कांग्रेसका प्रवक्ता प्रकाश शरण महत भने अहिलेकै गठबन्धनले सरकारमा पनि निरन्तरता पाउनेमा विश्वस्त छन् ।

माओवादी मात्र नभई आफ्नो पार्टीको समेत मत घटेकोमा चिन्ता व्यक्त व्यक्त गर्ने महत आगामी सरकारकारे नेतृत्व कांग्रेसले गर्ने दाबी गर्छन् ।

प्रस्तुत छ, कांग्रेस प्रवक्ता महतसँग निर्वाचनको परिणाम, सत्ता गठबन्धनको अगामी दिशा र भावी प्रधानमन्त्रीका विषयमा गरिएको कुराकानी नेपाल टकमा ।

अहिलेको जनमतलाई कांग्रेसले कसरी लिएको छ ?

हाम्रो अपेक्षा अनुसार नआए पनि हामी नेतृत्वको गठबन्धनको बहुमत पुग्छ । यो बहुमतको म्यान्डेटलाई हामी उपयोग गर्छौँ । हामी देश र जनताको भावना अनुसार अघि बढ्छौँ ।

परिणाम चित्त बुझ्दो भएन भन्ने कुरामा बढी चित्त दुखाइ छ कि, जसोतसो सरकार बनाउन सक्छौँ भन्नेमा उत्साहित हुनुहुन्छ ?

मैले भनिहाले नि हाम्रो अपेक्षा अनुसार परिणाम आएन । त्यो स्पष्ट छ । तर, पनि बहुमत प्राप्त भएको छ । यसमा पनि सन्तोष गर्नु पर्छ ।

गठबन्धनकै बहुमत पुर्‍याउन पनि सकस छ नि ! १३८ पुराउन अरू कसलाई मिलाउनु हुन्छ ?

पर्दैन । पुग्छ । अरू समर्थन दिन चाहनेहरूलाई त किन रोक्ने कुरा आयो र हैन ? समर्थन त स्वागत गर्ने कुरा नै हो । तर, गठबन्धनकै बहुमत पुग्छ ।

निर्वाचन परिणामले माओवादी त रुष्ट छ नि । तपाईँहरूले किन धोका दिनुभएको ?

हामी कसैले कसैलाई धोका दिएका छैनौँ । सहरी युवा मतदाताहरूबाट हामीलाई धेरै ठुलो अपेक्षा थियो । तर, स्थापित दलहरूले उनीहरूको अपेक्षा पुरा गरेनन् भन्ने मानसिकता देखियो । त्यसको परिणाम स्वरूप राष्ट्रिय स्वतन्त्र पार्टीको नाममा मत गएको देखिन्छ ।

दल प्रतिको अविश्वास भन्दा पनि हामीसँग भएको ठुलो अपेक्षा पुरा भएन भनेर सन्देश दिन खोजेको जस्तो लाग्छ ।

त्यो अनुसार हाम्रो प्रत्यक्ष मात्र होइन समानुपातिक मत पनि त्यहाँ गएको छ । त्यस कारण यहाँ कसैले कसैलाई दोष दिने ठाउँ छैन । हाम्रो समानुपातिक मत पनि हाम्रो पार्टीमा ल्याउन सकेनौँ भने प्रत्यक्षमा कसले कसलाई दिने भन्ने कुरामा कसरी नियन्त्रण गर्न गर्न सकिन्छ । जहाँ सम्म पार्टी नेतृत्वको कुरा छ त्यसलाई हदै सम्म मत ट्रान्सफर होस् भनेर हामीले कोसिस गरेका हौँ ।

कांग्रेसको हकमा अपेक्षा गरेको जस्तो परिणाम नआए पनि निराशाजनक त छैन नि । तर, माओवादीलाई त पुरै सक्दिनु भयो भन्ने आरोप छ ?

हामीले मत नहालेको भए उहाँहरूले (माओवादी केन्द्र) यति पनि सिट जित्न सक्नु हुने थिएन । समाजवादी दलले कहाँबाट १० वटा सिट जित्थ्यो र ? समाजवादी दल जित्नुमा पनि कांग्रेस माओवादीको हात छ । त्यो कुरा उहाँहरूले पनि बुझ्नु भएको छ ।

माओवादीको मात्र होइन सहरी क्षेत्रमा हाम्रो पनि त पराजित भएको छ । जस्तो चितवनका तिनै क्षेत्रमा हाम्रो उम्मेदवार हार्नु भयो । काठमाडौँमा मत भार ज्यादा भएको ठाउँमा हामीले समाजवादी र माओवादीलाई सिट दिएका थियौँ । त्यसलाई मतदाताहरूले स्वाभाविक रूपमा लिएनन् ।

प्रत्यक्ष मात्रै होइन समानुपातिकमा नै कांग्रेसलाई मत नहालेको देखियो । पहिला प्रत्यक्षमा मात्रै अन्तर्घातको रोग थियो । अहिले पनि अन्तर्घात देखिएको छ नत्र धेरे ठाउँमा हामी जित्ने थियो । अहिले नयाँ कुरा कट्टर काङ्ग्रेसबाटै कांग्रेसको समानुपातिकमा मत नगएको देखिएको छ ।अन्त दिएको स्थिति छ ।

कांग्रेसले ‘तरमाराहरु’लाई समानुपातिकमा राखेको हुँदा मत धेरै मत नआएको भन्ने पनि छ नि । तपाईँ पनि समानुपातिकमा हुनुहुन्छ । तपाईँहरूकै अनुहार देखेर समानुपातिक मत कम आएको हो ?

(आक्रोशित हुँदै) को तरमारा ? मैले तरमारेको छु ? म कहिले देखी कांग्रेसमा छु , कति योगदान ? यो विषयमा सबैले बुझ्न आवश्यक छैन ?

तरमारेको भनेको के हो ? संघर्षकाल देखी लगातार काम गर्दै जनतामा केन्द्रित भएर आइरहेका छौँ । प्रत्यक्षमा नुवाकोटमा आफ्नो ठाउँमा लड्न खोजेको थिए । गठबन्धन भएको कारणले लडिन । कसरी तपाइ तरमारा भन्नुहुन्छ ?

केही प्रवृत्ति हाम्रो पार्टी भित्र पनि छ। अनावश्यक प्रचार गर्नेहरू छन् । पहिला पनि अन्तर्घात हुने गरेको प्रत्यक्षमा अहिले त समानुपातिकमा पनि भयो । समस्या त्यो हो ।

सुदूरपश्चिममा प्रतिनिधिसभा तर्फ माओवादी शून्य भयो । तपाइहरूले एक क्षेत्र मात्रै हार्नुभयो । अनि माओवादीलाई कांग्रेसले मत दिनुभएन भन्ने त प्रस्टै छ नि ?

माओवादीको मात्र होइन हाम्रो पनि घटेको छ ।

काठमाडौँमा माओवादी शून्य भयो । तपाईँहरूले ५ क्षेत्र जित्नु भयो । यहाँ पनि धोका भएन त ?

हाम्रो समानुपातिक मत हेर्नु भएको छ ? ललितपुरमा जम्मा ८–९ हजार मात्र मत आएको छ । पम्फा जी लडेको ठाउँमा । त्यति मात्रै मत हो र हाम्रो ? चितवनमै आएको छैन । समानुपातिकमा मत आएको छैन प्रत्यक्षमा हाम्रै साथीहरू पनि हार्नु भएको छ ।

यही गठबन्धनले सरकार बनाउँछ भन्ने तपाइको तर्क हो ?

हो त्यही हुन्छ ।

अबको प्रधानमन्त्री को बन्नुहुन्छ त ?

स्वाभाविक रूपमा अहिलेकै नेतृत्वले निरन्तरता पाउँछ ।

गगन थापा पनि संसदीय दलको नेताको लागि गृहकार्य गरिरहनु भएको छ । प्रधानमन्त्री बन्नुहुन्छ त ?

लड्न पाइहाल्नु हुन्छ नि । प्रतिस्पर्धा गर्न पाइहाल्नु हुन्छ नि । ज–जसको चाहना छ प्रतिस्पर्धा गर्न पाइहाल्नु हुन्छ नि । सबै सांसदहरूको विश्वासबाट नेता बन्ने कुरा हो सबै सांसदहरूले विश्वास गरे नेता हुन पाइहालिन्छ नि ।

माओवादीले नेतृत्व गर्न सक्दैन, पाउँदैन त अहिले ?

अहिले यो कुराको छलफल भइरहेको छ । तर, स्वाभाविक रूपले सरकारको नेतृत्व नेपाली कांग्रेसको हो । इच्छा सबैको हुन सक्छ माओवादीको पनि होला अरूको पनि होला । त्यो छलफलबाट टुङ्गो लाग्छ ।

सरकारको नेतृत्व माओवादीले पाएन भने निर्वाचनमा पनि धोका दियो भन्दै काङ्ग्रेस बाहेक सरकारमा एमालेसँग तालमेल गरेर जान सक्दैन जस्तो लाग्दैन ?

त्यस्तो लाग्दैन । यही गठबन्धनले निरन्तरता पाउँछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर