गण्डकीमा भावी सरकारको कसरत : ‘माथि’ को आदेश कुर्दै सत्तागठबन्धन – Nepal Press

गण्डकीमा भावी सरकारको कसरत : ‘माथि’ को आदेश कुर्दै सत्तागठबन्धन

पोखरा । गण्डकी प्रदेशसभाको पहिलो पाँच वर्षमा संस्थापक मुख्यमन्त्री बनेका एमालेका पृथ्वीसुब्बा गुरुङको सरकार ढाल्न चाहँदैनथे, माओवादी केन्द्रका नेता हरिबहादुर चुमान । गुरुङ सरकारमै त्यति बेला आन्तरिक मामिला तथा कानून मन्त्रालय सम्हालेका चुमान माओवादी संसदीय दलका नेता भएपनि उनी सरकार बचोस् भन्नेमै थिए । तर, तत्कालीन नेकपाको फुट पछि ब्युँतिएको माओवादी केन्द्रका नेता भएका कारण उनले गुरुङ सरकारको साथ छाड्नुपर्यो र उनी विपक्षी गठबन्धनमा लागे ।

त्यसबेला मुख्यमन्त्री रहेका गुरुङले भनेका थिए, ‘काठमाडौंमा पानी पर्‍यो भन्दैमा पोखरामा छाता ओढ्ने होइन ।’ संघीयता लागू भइसकेपछि प्रदेश सरकार र नेताहरूले प्रदेशमा आफ्नै निर्णय लिन पाउनुपर्छ भन्ने उनको तात्पर्य थियो । पछि उनीविरुद्ध अविश्वास प्रस्ताव आयो, उनको सरकार ढल्यो पनि । यसबीच केन्द्रमा पाँचदलीय गठबन्धनमा प्रदेश सरकारहरू भागभण्डा गर्दा गण्डकी कांग्रेसले पायो र मुख्यमन्त्रीमा प्रस्ताव भए नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल ।

प्रदेश सरकार गठनलगायतका राजनीतिक निर्णयका लागि केन्द्रको निर्णय कुरेर बसेको गठबन्धन दलका नेताहरू बताउँछन् । गठबन्धन निरन्तरता हुने/नहुने द्विविधाले थप अन्योल बनाएको छ ।

यहाँका गठबन्धनका नेताहरू ‘माथि’ बाट निर्णय नआएका कारण बोलिहाल्ने स्थिति नरहेको बताउँछन् । नेपाली कांग्रेसबाट सांसद निर्वाचित गण्डकी प्रदेशका कानूनमन्त्री विन्दुकुमार थापा कांग्रेसको नेतृत्वमा सरकार गठन हुने र यसका लागि केन्द्रको निर्णय आउन मात्र बाँकी भएको बताउँछन् । यही गठबन्धन कायम रहेपनि वा नयाँ गठबन्धन बनेपनि नेपाली कांग्रेसले सरकारको नेतृत्व गर्ने कुरामा दुई मत नहुने उनले बताए ।

‘अहिलेसम्मको मतपरिणामले कांग्रेस सबैभन्दा ठूलो दल हो । यही गठबन्धन भएपनि नयाँ भएपनि कांग्रेसले सरकारको नेतृत्व गर्छ,’ उनले भने ।

माओवादी केन्द्रका नेता हरिबहादुर चुमान केन्द्रले निर्णय नलिँदासम्म आफूहरुले बोल्नु सान्दर्भिक नहुने बताउँछन् ।

‘पहिला माथिबाट निर्णय आउनुपर्‍यो, माथिकै निर्णय नआउँदै हामी बोलेर हुँदैन, सत्ता समीकरण कस्तो बनाउने भन्ने निर्णय केन्द्रको हुन्छ, हामी मान्नेमात्रै हो,’ चुमानले भने ।

नेकपा एमाले भने अहिले सरकार गठन र सञ्चालनका लागि आफूहरू सबै दलसँग ‘ओपन’ रहेको बताउँछ । नेकपा एमालेबाट सांसद निर्वाचित पूर्व मन्त्री खगराज अधिकारी आफूहरु जुनै पार्टीसँग मिलेर पनि सरकार गठन र सञ्चालनका लागि तयार रहेको बताए ।

‘मेरै वा एमालेकै नेतृत्वमा सरकार बनाउनुपर्छ भन्ने छैन । नेकपा एमाले प्रदेशको समृद्धिका लागि सबै दलसँग सहकार्य गर्न ओपन छ,’ अधिकारीले भने ।

कस्तो बन्ला गण्डकीमा सत्ता समीकरण ?

६० सदस्यीय गण्डकी प्रदेशसभामा सरकार गठनका लागि ३१ सदस्यको साथ आवश्यक रहन्छ । अहिलेसम्म पाँच दलीय गठबन्धन कायमै रहेका बेला गण्डकी प्रदेशसमा पनि गठबन्धनकै सरकार बन्ने देखिन्छ । गठबन्धनको मुख्य घटक नेपाली कांग्रेसले प्रत्यक्षमा १६ र माओवादी केन्द्रले ५ सीट जितिसकेको छ ।

समानुपातिक तर्फको अन्तिम मतपरिणाम आइसकेको छैन । तर, दलका नेताहरूका अनुसार समानुपातिकबाट नेपाली कांग्रेसले ७ र माओवादी केन्द्रले ३ सीट जित्न सक्छ । यही आँकलन सही सावित भएमा कांग्रेसको सांसद संख्या २३ पुग्छ भने माओवादी केन्द्रको ८ हुन्छ । कांग्रेस-माओवादी मिल्दा ३१ सांसद पुग्छ, जुन सरकार गठनका लागि पर्याप्त हो ।
तर, यही गठबन्धन रहन्छ वा रहँदैन भन्ने नै गण्डकीका नेताहरुमा अन्योल छ । यही गठबन्धन नरहे कांग्रेस र माओवादी दुवैले नेकपा एमालेसँग मिलेर सरकार गठन गर्न सक्छन् ।

नेकपा एमालेले समानुपातिकबाट कम्तीमा ९ सीट पाउने आँकलन गरेको छ । समानुपातिकतर्फको पछिल्लो मतपरिणामले पनि एमालेले प्रदेशमा ९ सीट पाउने आधार देखाउँछ । यस समाचार तयार पार्दासम्म समानुपातिकतर्फ गण्डकी प्रदेशमा नेकपा एमालेले ३ लाख ४० हजार ५३३ मत पाएको छ । नेपाली कांग्रेसले ३ लाख १७ हजार ५९६ मत पाउँदा माओवादी केन्द्रले १ लाख १५ हजार ३६६ मत पाएको छ ।

नेकपा एमालेले अहिलेकै अवस्थामा ९ सीट समानुपातिकबाट जिते २१ सांसद पुग्छन् । अहिलेकै गठबन्धन कायम नरहे नेकपा एमालेसँग मिलेर नेपाली कांग्रेसले सरकार बनाउन सक्छ । माओवादी केन्द्र र एमाले मिलेर सरकार बनाउन भने स्वतन्त्र सहित साना दल राप्रपा लगायतको साथ आवश्यक पर्छ । राप्रपाबाट प्रत्यक्ष सांसद कसैले नजिते पनि समानुपातिकबाट १ सीट राप्रपा, १ सीट लौरो अभियानले जित्ने आँकलन छ ।

यो समीकरणमा स्याङ्जा २ मा दलहरूले प्रत्यक्षमा जित्ने सीट र समानुपातिकमा त्यहाँबाट पाउने मतले भने गणितलाई प्रभाव पार्छ । स्याङ्जामा प्रदेशसभा निर्वाचनमा कसले जित्छ आँकलन गर्न गाह्रो छ । कारण- त्यहाँ बुथ कब्जा भएको दाबी सहित पुन मतदान वा मतगणना के हुने भन्नेमै अन्योल छ ।

को-को छन् मुख्यमन्त्रीका दाबेदार ?

गण्डकी प्रदेशमा अहिले मुख्यमन्त्रीका प्रबल दाबेदार हुन्, नेपाली कांग्रेसका सुरेन्द्रराज पाण्डे । राष्ट्रियसभामा नेपाली कांग्रेस संसदीय दलका नेता भइसकेका पाण्डे अहिले मुख्यमन्त्री हुने लक्ष्य सहित नै प्रदेश ओर्लेका हुन् । गोरखा २ (२) बाट निर्वाचित पाण्डेलाई मुख्यमन्त्री बनाउन माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पनि पहल गर्ने बताइसकेका छन् ।

नेपाली कांग्रेसबाटै मुख्यमन्त्रीका अर्का दाबेदार हुन्, कानुन मन्त्री विन्दुकुमार थापा । थापा अघिल्लो पटक पनि गण्डकी प्रदेशसभामा नेपाली कांग्रेसको संसदीय दलको नेता बन्ने होडमा थिए । अब पनि आफू सो होडमा लाग्ने र पाएसम्म उत्कृष्ट काम गरेर देखाउन चाहेको थापा बताउँछन् ।

यसअघि कांग्रेसबाट मुख्यमन्त्रीका दाबेदार मानिएका पार्टीका गण्डकी प्रदेश सभापति शुक्रराज शर्माको सम्भावना सकिइसकेको छ । मुख्यमन्त्री बन्ने आकांक्षा सहित समानुपातिकको पहिलो नम्बरमा बसेका शर्मा महिलाहरुको प्रतिनिधित्व समानुपातिकबाटै बनाउनुपर्ने अवस्था आएपछि सांसद बन्नेसम्मको पनि सम्भावना छैन । नेपाली कांग्रेसबाट निर्वाचित १६ सांसदमा १ जना पनि महिला नभएका कारण समानुपातिकबाट महिला ल्याउँदा शर्मा छाडिने निश्चित छ ।

नेकपा एमालेबाट मुख्यमन्त्रीका दाबेदार हुन्, खगराज अधिकारी । कास्की १ (१) बाट निर्वाचित अधिकारी पनि मुख्यमन्त्री हुने आशा सहित प्रदेश ओर्लेका हुन् । प्रदेशसभा निर्वाचनमा माओवादी केन्द्रका दीपक कोइरालालाई हराएका अधिकारी मुख्यमन्त्री हुने आशा राखेपनि गठबन्धन अहिलेकै रहे मुख्यमन्त्री हुने सम्भावना देखिँदैन । गण्डकी प्रदेशका पूर्वमन्त्री तथा माओवादी संसदीय दलका नेता पनि बनिसकेका हरिबहादुर चुमान माओवादीले सरकार सञ्चालनको जिम्मा पाए मुख्यमन्त्रीका दाबेदार हुन् ।

कुन दलबाट कसले जिते ?

गण्डकी प्रदेशसभाको ३६ प्रत्यक्ष निर्वाचन क्षेत्र मध्ये ३४ क्षेत्रको मतपरिणाम आइसकेको छ । अहिलेसम्म आएको ३४ निर्वाचन क्षेत्रको मतपरिणाम अनुसार नेपाली कांग्रेसले १६ सीट जितेको छ । नेपाली कांग्रेसबाट मनाङमा मुनिन्द्रजंग गुरुङ, मुस्ताङमा नाम्डु गुरुङ र विकल तुलाचन, बागलुङका ४ वटै सिटमा डिल्लिराम सुवेदी, द्रोणकुमार कुँवर, दीपेन्द्रबहादुर थापा, जित शेरचन, तनहुँमा जितप्रकाश आले र अशोक श्रेष्ठ, कास्कीमा विन्दु थापा र प्रकाश बराल, लमजुङमा भेषबहादुर पौडेल, टकराज गुरुङ, नवलपुरमा महेन्द्रध्वज जिसी, गोरखामा नन्दु न्यौपाने र सुरेन्द्रराज पाण्डे निर्वाचित भएका छन् ।

नेकपा एमालेले प्रदेशसभामा १२ सीट जितेको छ । एमालेबाट कास्कीमा खगराज अधिकारी, भीमबहादुर कार्की, वेदबहादुर गुरुङ, गणेशमान गुरुङ, तनहुँमा श्यामराजा महत, नवलपुरमा पद्मा जिसी श्रेष्ठ, लक्ष्मण पाण्डे, रोशन गाहा मगर, स्याङ्जामा सीता सुन्दास, सुधीर पौडेल, पर्वतमा भक्तबहादुर कुँवर, मित्रलाल बस्याल निर्वाचित भएका छन् ।

माओवादी केन्द्रबाट म्याग्दीमा रेशम जुग्जाली, हरि भण्डारी, तनहुँमा हरिबहादुर चुमान, गोरखामा कृष्ण धिताल र फणिन्द्र देवकोटा निर्वाचित भएका छन् । यस्तै स्वतन्त्र उठेका मनाङका राजीव गुरुङ (दीपक मनाङे) पनि निर्विरोध निर्वाचित भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर