दुई खेलमा चारवटै टोलीको नकआउट नजर, ढुक्क छैन इङ्ल्यान्ड – Nepal Press

दुई खेलमा चारवटै टोलीको नकआउट नजर, ढुक्क छैन इङ्ल्यान्ड

दोहा। कतार विश्वकपअन्तर्गत समूह बीका अन्तिम खेलहरु मंगलबार हुँदैछन्। नेपालीसमयअनुसार राती पौने १ बजे सुरु हुने खेलमा इङ्ल्यान्ड र वेल्स तथा अमेरिका र इरानबीच प्रतिस्पर्धा हुँदै छ।

यो समूहबाट अगाडि बढ्ने सम्भावना चारवटै टोलीको रहेकाले अन्तिम खेलको नतिजापछि मात्र समूह विजेता र उपविजेताको टुंगो लाग्ने छ। २ खेलबाट इङ्ल्यान्डको ४, इरानको ३, अमेरिकाको २ र वेल्सको एक अंक छ। अमेरिका र इरानबीच हुने खेलमा विजेता टोली प्रिक्वाटरफाइनल पुग्ने छ। बराबरी भएको अवस्थामा इङ्ल्यान्ड र वेल्सबीचको खेलको नतिजा हेर्नुपर्ने छ।

इङ्ल्यान्डले पनि वेल्ससँग कम्तिमा बराबरी खेल्न सकेको अवस्थामा नकआउट चरणमा स्थान पक्का गर्ने छ। हार ब्यहोरेको अवस्थामा पनि इङ्ल्यान्डको अगाडि बढ्न सक्ने अवस्था देखिएको छ। वेल्ससँग फराकिलो अन्तरमा पराजित भएमा मात्र  इङ्ल्यान्ड अगाडि बढ्ने छैन।

वेल्सलाई भने जितेर मात्र पुग्दैन, फराकिलो गोलअन्तरको जित आवश्यक छ। तर इरान र अमेरिकाबीच बराबरी भएको अवस्थामा वेल्स एक गोलअन्तरले जितेपनि नकआउट चरण प्रवेश गर्ने छ।

इरानले विश्वकपमा हालसम्म पहिलो चरण पार गर्न सकेको छैन। इरानको यो छैटौँ विश्वकप सहभागिता हो। वेल्स सन् १९५८ पछि पहिलोपटक विश्वकप खेलिरहेको हो।

इरानले पहिलो खेलमा इङ्ल्यान्डसँग ६-२ गोलको हार ब्यहोरेको थियो भने दोस्रो खेलमा वेल्सलाई २-० गोलले हराएको थियो। यस्तै इङ्ल्यान्ड दोस्रो खेलमा अमेरिकासँग गोलरहित बराबरीमा रोकिएको थियो।

इङ्ल्यान्ड र वेल्स दुवै खराब लयमा रहेका टोली हुन्। इङ्ल्यान्डले पछिल्ला ८ खेलमा एक जित, चार बराबरी र तीन हार ब्यहोरेको छ। यस्तै वेल्सले पछिल्ला १० खेलमा एक जित, ६ हार र तीन बराबरी खेलेको छ।

यी दुई टोली अन्तिमपटक सन् २०२० मा भिडेका थिए जसमा इङ्ल्यान्ड ३-० गोलले विजयी भएको थियो। इङ्ल्यान्डले वेल्सविरुद्धका पछिल्ला लगातार ६ खेल जितेको छ। इरानविरुद्ध नियमित गोलकिपर वेन हेन्नेसीले रातो कार्ड पाएकाले त्यसको ठुलो दबाब वेल्सलाई हु्न सक्ने छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *