सेता लुगामा आएकी युवतीले जब सर्वोच्चको गेटमा रातो रंग फ्याकिन् (भिडिओसहित) – Nepal Press

सेता लुगामा आएकी युवतीले जब सर्वोच्चको गेटमा रातो रंग फ्याकिन् (भिडिओसहित)

काठमाडौं । मंगलबार बिहान १० बजे सर्वोच्च अदालतको गेट अगाडि एउटा सेतो ट्याक्सी रोकियो । उक्त ट्याक्सीबाट एक युवती बाहिर निस्किइन जसले शरीरमा पुरै सेतो कपडा लगाएकी थिइन् ।

सँधैजस्तो सर्वोच्चको गेट अगाडि प्रहरी तैनाथ थिए । साथै, सञ्चारमाध्यमका फोटोग्राफरहरु पनि पहिल्यै सूचना पाएर त्यहाँ जम्मा भइसकेका थिए । निषेधित स्थानमा ट्याक्सी रोकिएपछि प्रहरीहरुले नियाल्न थाले । ट्याक्सीको पछाडि सिटमा दुई युवती थिए । उनीहरुमध्ये सेतो वस्त्र लगाएकी युवती बाहिर निस्किइन ।

प्रहरीले उनलाई सोधपुछ गर्न खोजे । तर, उनी केही नबोली गाडीबाट एउटा बट्टा निकालिन् र सरासर सर्वोच्चको गेटतर्फ अघि बढिन् । त्यसपछि उनले प्रहरीको अवरोधबीच बट्टामा रहेको रातो रंग घोलिएको पानी सर्वोच्चको गेटमा ताकेर फ्याकिन् ।

अनि, ‘मलाई न्याय चाहियो’ भन्दै चिच्याउन थालिन् । प्रहरीले झांगलझुंगल पार्दै उनलाई समाते र गाडीमा हालेर लगे । बिनुसँगै आएकी महिला अधिकारकर्मी जस्मिन ओझा पनि पक्राउ परेकी छन् ।

को हु्न युवती ?

सर्वोच्च अगाडि अनौठो प्रदर्शन गर्ने युवती सिराहाकी विनु यादव हुन् । उनी आफ्नो श्रीमानबाट हिंसामा परेको भन्दै न्यायका लागि संघर्षरत छिन् । उनले केही समयअघि रामेछाप जिल्ला अदालतको इजलासमै विष सेवन गरेर आत्महत्या प्रयास गरेकी थिइन् ।

बिनुको मुद्दा अहिले पाटन उच्च अदालतमा विचाराधिन छ । यादवले काका ससूरा पवन कठायतले आफूमाथि बलात्कार प्रयास गरेको आरोप लगाएकी छन् । यादवको उजुरीमा प्रहरीले कठायतलाई पक्राउ गरे पनि पछि रिहा गरेको थियो ।

यादवले श्रीमान प्रदीप कठायतबाट पनि आफू हिंसामा परेको तर राजनीतिक दवावका कारण मुद्दा दर्ता नगरिएको दावी गरिन् । नेपाल प्रेससँग प्रहरी हिरासतमा कुरा गर्दै यादवले अदालतबाट पनि न्यायको प्रत्याभूति नभएपछि यस्तो प्रदर्शनमा उत्रिएको बताइन् ।

याे  पनि पढ्नुहाेस् ।

…. त्यसपछि मैले इजलासमै विष खाइदिएँ (भिडिओसहित)

 तस्बिर / भिडिओ: उमेश कार्की


प्रतिक्रिया

One thought on “सेता लुगामा आएकी युवतीले जब सर्वोच्चको गेटमा रातो रंग फ्याकिन् (भिडिओसहित)

Leave a Reply to Deepa Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर