एक खेल बाँकी रहँदा ब्राजिल, पोर्चुगल र फ्रान्स मात्र नकआउटमा, रेड जोनमा बेल्जियम र जर्मनी – Nepal Press

एक खेल बाँकी रहँदा ब्राजिल, पोर्चुगल र फ्रान्स मात्र नकआउटमा, रेड जोनमा बेल्जियम र जर्मनी

काठमाडौं । कतार विश्वकपको समूहगत चरणमा अब सहभागी ३२ टोलीका एक एक खेल मात्र बाँकी छन्। तर तीन टोलीले मात्र प्रिक्वार्टरफाइनलमा स्थान पक्का गरेका छन्। १३ टोलीको टुंगो अन्तिम खेलबाट लाग्ने छ।

समूहका दुवै खेल जितेका फ्रान्स, ब्राजिल र पोर्चुगलले मात्र नकआउट चरणमा स्थान पक्का गरेका हुन्। बेल्जियम र जर्मनी भने रेड जोनमा देखिएका छन्। दुईपटकको विजेता अर्जेन्टिना र उरुग्वे पनि सहज स्थितिमा छैनन्।

समूह ए मा नेदरल्यान्ड्स र इक्वेडरको दुई खेलबाट समान ४ अंक छ। सेनेगलले तीन अंक जोडेको छ भने कतार अंकविहिन छ। अन्तिम खेलमा नेदरल्यान्ड्सले कतार र सेनेगलले इक्वेडरसँग खेल्ने छ।

समूह बीमा २ खेलबाट इंल्यान्डको ४ र इरानको तीन अंक छ। अमेरिकाले २ र वेल्सले एक अंक हात पारेको छ। अन्तिम खेलमा इंल्यान्डले वेल्स र इरानले अमेरिकासँग खेल्ने छ। समूह सीमा दुई खेलबाट पोल्यान्डको ४ तथा अर्जेन्टिना र साउदी अरबको तीन तीन अंक छ। मेक्सिकोले एक अंक हात पारेको छ।

अब अर्जेन्टिनाले पोल्यान्ड र मेक्सिकोले साउदी अरबसँग खेल्ने छ। २ खेलबाट ६ अंक जोड्दै फ्रान्स समूह डीको शीर्षस्थानमा छ। अस्ट्रेलियाले तीन तथा डेनमार्क र ट्युनिसियाले एक एक अंक हात पारेको छ।

अब फ्रान्सले ट्युनिसिया र डेनमार्कले अस्ट्रेलियासँग खेल्ने छ। समूह ईमा स्पेनको ४ तथा जापान र कोस्टारिकाको तीन तीन अंक छ। जर्मनीले एक अंक मात्र हात पारेको छ। अब स्पेनले जापान र जर्मनीले कोस्टारिकासँग खेल्ने छ। मोरक्कोसँग समान चार अंक भएपनि गोलअन्तरका आधारमा क्रोएसिया समूह एफको शीर्षस्थानमा छ। बेल्जियमले तीन अंक हात पारेको छ भने क्यानडा अंकविहिन छ।

समूह जीमा ब्राजिलको ६, स्वीट्जरल्यान्डको तीन तथा क्यामरुन र सर्बियाको एक एक अंक छ। अब ब्राजिलले क्यामरुन र सर्बियाले स्वीट्जरल्यान्डसँग प्रतिस्पर्धा गर्ने छ। पोर्चुगल ६ अंकसहित समूह एचको शीर्षस्थानमा छ।। घानाको तीन तथा दक्षिण कोरिया र उरुग्वेको एक एक अंक छ। अन्तिम खेलमा घाना र उरुग्वे तथा दक्षिण कोरिया र पोर्चुगल भिड्नेछन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर