मन्त्रीको धम्कीले बन्धक मतपेटिका- यस्तो छ सुनसरी ४ को मत विश्लेषण – Nepal Press

मन्त्रीको धम्कीले बन्धक मतपेटिका- यस्तो छ सुनसरी ४ को मत विश्लेषण

विराटनगर । गृहमन्त्रीले चुनाव हारे तर कुनै बबाल भएन । संघीय र प्रदेश सरकारका धेरै मन्त्रीले चुनावी परिणाम सहर्ष स्वीकार गरिरहँदा सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भने सुनसरी ४ मा ‘लिँडेढिपी’ कस्दा मतगणना अवरुद्ध भएको छ ।

मतगणनाको रुझान आफूले सोचेअनुरूप नभएपछि मन्त्री कार्कीले गणना अवरुद्ध पारेर कांग्रेसको लोकतान्त्रिक चरित्रमाथि नै धब्बा लगाएको टिप्पणी सोही पार्टीका नेताहरूले गर्न थालेका छन् । सरकारका प्रभावशाली मन्त्रीले नै कानूनविपरीत र निर्वाचन मतगणना निर्देशिका विपरीत सुरुदेखि नै पुनः गणनाको माग राखेका छन् ।

सुनसरी क्षेत्र नम्बर ४ मा ३२ वटा वडा छन् । ३२ वटा वडा मध्ये २४ वटा वडाको मत गणना सम्पन्न हुँदा नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्की ९८ मतले मात्रै अगाडि छन् ।

कार्कीले २३ हजार ४३९ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका जगदीश प्रसाद कुसियैतले २३ हजार ३४१ मत पाएका छन् । सुनसरी क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्य पदको उम्मेदवार रहेका मन्त्री ९८ मतले अगाडि भएको अवस्थापछि सो क्षेत्रको मतगणना तीन दिनदेखि अवरुद्ध छ ।

त्यहाँ अहिलेसम्म ६१ हजार ५२४ मत गणना भएको छ । मत गणनामा धाँधली भएको भन्दै मन्त्री कार्कीले पुन मतगणना हुनु पर्ने माग राख्दै निर्वाचन आयोगमा निवेदन दिएका छन् । तर निर्वाचन आयोगले पुन मतगणना गर्ने कि अहिलेकै अवस्थाबाट मतगणना अगाडि बढाउने भन्ने निर्णय गरिसकेको छैन् ।

एमालेले तत्काल मत गणना शुरु गर्न माग गरे पनि आयोगले निर्णय लिइसकेको छैन । मन्त्री कार्कीको ढिपीलाई कांग्रेसजनले पनि रुचाएका छैनन् । तर उनले सत्ताको दुरुपयोग गरेर हेरा फेरि पार्न सक्नेप्रति विपक्षीहरू सचेत बनेका छन् ।

सुनसरी क्षेत्र नम्बर ४ मा कोसी गाउँपालिका र भोक्राह गाउँपालिकाका सबै वडा पर्छन् । यस्तै बराह नगरपालिकाका ६,७,८,९,१० र ११ नम्बर वडाका साथै रामधुनी नगरपालिकाको वडा नम्बर ४, इनरुवा नगरपालिकाको ३,४,८ र हरिनगगर गाउँपालिकाको १,२,४,५,६ र ७ नम्बर वडा यस निर्वाचन क्षेत्रमा पर्छन् ।

वराहक्षेत्र नगरपालिकाको वडा नम्बर १० र ११, हरिनगर गाउँपालिकाको ६ र ७ वडाको मत गन्न बाँकी छ । यस्तै भोक्राह गाँउपालिकाको वडा नम्बर ७ र ८ तथा कोसी गाउँपालिकाको वडा नम्बर ५ र ६ वडाको मत गन्न बाँकी रहेको छ ।

वराहक्षेत्र नगरपालिकाको वडा नम्बर ९ को ५५९ मत पनि गन्न बाँकी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

धाँधलीको आरोप

शुक्रवार साँझ मत गणनामा रहेका कर्मचारीले गणना स्थलमा मत सुनाउँदा जगदीश कुसियैतको ६०६ मत बढी सुनाएको विषयलाई लिएर मन्त्री कार्कीले धाँधलीको आरोप लगाएका हुन् ।

कर्मचारीले मत बढी सुनाए पनि आयोगमा प्रविष्ट गराएको मत परिणाम भने सही नै रहेको छ । सोही मत परिणामका आधारमा उनी ९८ मतले अगाडि छन् । तर मन्त्री कार्कीले धाँधली भएको भन्न छाडेका छैनन् । मन्त्रीजस्तो गरिमामय पदमा बसेको व्यक्तिले कर्मचारीले सुनाउने क्रममा भएको शब्दको गल्तीलाई इगोको विषय बनाएका छन् ।

गन्न रहेका क्षेत्रमध्ये बराह क्षेत्र १० र ११ उनको प्रभाव क्षेत्र मानिन्छ । उनको प्रभाव क्षेत्र भनिए पनि बराह क्षेत्रको वडा नम्बर ९ मा पनि अपेक्षाकृत मत भने खसेको देखिएन । वराहक्षेत्र नम्बर ९ को २५ सय मत गणना हुँदा उनले ११२२ मत पाएका छन् । सोही वडाबाट जगदीशले ९०० मत पाएका छन् ।

प्रभाव क्षेत्रबाट पनि अपेक्षित मत नखसेपछि उनले मतगणना स्थगित गरेको धेरैको अनुमान छ । हरिनगरमा एमाले र कांग्रेसको बराबरी मत आउने अनुमान छ । यस्तै भोक्राहको ७ नम्बर वडाबाट एमालेलाई बढी मत आउने अनुमान छ । ८ मा भने कांग्रेसको मत बढी आउने अनुमान छ । कोसी गाउँपालिकाको ५ र ६ मा भने एमालेको मत बढी आउने अनुमान गरिएको छ । कोसी ६ एमाले उम्मेदवार कुसियैतको घर भएको वडा हो ।

स्थानीय तहमा को अगाडि ? मत परिणाम

मतगणना बाँकी रहेका ८ वटा वडा मध्ये ६ वटा वडामा स्थानीय तहको निर्वाचनमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । एउटामा जसपा र एउटामा एकीकृत समाजवादीका उम्मेदवार विजयी भएका छन् । जसपा एमाले गठबन्धन भएकाले सो निर्वाचन क्षेत्रमा स्थानीय तहको वडागत मत हेर्दा सत्ता गठबन्धनको मत ७ हजार ७११ आएको देखिन्छ । एमाले राप्रपा र जसपा गठबन्धनको मत ७ हजार ३३० मत स्थानीय तहमा आएको देखिन्छ ।

स्थानीय तहको निर्वाचनमा वराहक्षेत्र १० मा काँग्रेसका वडा अध्यक्षले २३५३ मत पाएका छन् । एमालेले भने ७३२ मत पाएको छ । ११ मा कांग्रेसले ११०४,एमालेले ५७२, माओवादी केन्द्रले ७८० र जसपाले ६४३ मत पाएको छ ।

हरिनगर ७ मा नेपाली कांग्रेसले ८०२, एमालेले ७६८ र जसपाले ३०० मत पाएको छ । हरिनगर ८ मा नेपाली कांग्रेसले ३८२, एमालेले ३६८,जसपाले २४६ र समाजवादीले ४३२ मत पाएको छ ।

भोक्राह ७ मा एमालेले २३७, माओवादी केन्द्रले २४६,र राप्रपाले ५३३ मत पाएको छ । भोक्राह ८मा नेपाली कांग्रेसले ५९३, एमालेले ४९१, जसपाले ३२८ र राप्रपाले २८२ मत पाएको छ । कोसी गाउँपालिका वडा नम्बर ५ मा नेपाली कांग्रेसले ८४४, एमालेले ५१० र जसपाले ३९५ मत पाएको छ । कोसी ६ मा भने कांग्रेसले ४१६ मत पाँउदा एमालले ६५३ र जसपाले ९२५ मत स्थानीय तहको निर्वाचनमा पाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर