चुनाव हारेपछि झलनाथले भने- मतपत्र कसरी गायब भए ? कानुनी बाटोमा जान्छु – Nepal Press

चुनाव हारेपछि झलनाथले भने- मतपत्र कसरी गायब भए ? कानुनी बाटोमा जान्छु

‘मलाई हराउन केही तत्वहरू सुरुदेखि नै लागेका थिए’

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आफूलाई हराउन केही तत्वहरू सुरुदेखि नै लागेको आरोप लगाएका छन् ।

इलाम १ बाट पराजित भएपछि उनले आफूलाई धाँधली गराएर हराएको आरोप लगाएका छन् ।

उनले आज एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘निर्वाचनको प्रक्रियामा म नेकपा (एकीकृत समाजवादी), नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) को तर्फबाट साझा उमेदवारको रुपमा रहेको थिएँ । तर हाम्रो गठबन्धनको टिमलाई हराउन र इलामेली जनताको भावना माथि कुठाराघात गर्न केही तत्वहरू सुरु देखिनै लागि रहेका थिए ।’

प्रतिनिधिसभाका दुवै सिटमा भने निर्वाचन आयोगले मत गणना गरेर नतिजा घोषणा गरेपनि त्यसमा गम्भीर विवाद रहेको प्रष्ट पारेका छन् ।

‘मतदानको प्रक्रिया शुरु देखि नै स्वास्थ नरहेको, विभिन्न प्रकारका अनियमितता भएको, एउटा मतपेटिकामा मत हाल्नु पर्ने मा अर्कै मतपेटिकामा मत हालेको, कैयौं मतपेटिकामा खसेको मत गणना गर्दा सयौं मतपत्र नभेटिएको, सयौं मतपत्रहरु गायब भएको, कतिपय मत पेटिकामा खसेको मतभन्दा सयौं मत बढी भेटिएको जस्ता तथ्यहरूले मतदानको प्रक्रियामा योजनाबद्ध रुपमा अनियमितता भएको कुरा छर्लङ्ग पारेको छ’ उनले भनेका छन्, ‘ती मतपत्रहरु कसरी गायब भए ? ती मतपत्रहरु कतिपय बाकसमा कसरी बढी हुन पुगे ? यी प्रश्नहरूको निर्वाचन आयोगले अहिलेसम्म तर्कसङ्गत जवाफ दिन सकेको छैन ।’

उनले आफूले अहिलेसम्म निर्वाचन अधिकृतले गराएको गणनाको नतिजालाई स्वीकार गर्न सकेको उल्लेख गरेका छन्। समस्याको समाधानका निम्ति कानुनी समाधान खोजिने उनको भनाइ छ ।

निर्वाचनका क्रममा देखापरेका कमीकमजोरीहरु, त्रुटि र गल्तीहरुलाई उपयुक्त प्रक्रियाबाट सच्याइने छ र संविधान बमोजिम लोकतान्त्रिक मूल्यमान्यता, विधि र प्रक्रिया स्थापित गरिनेछ भन्ने कुरामा आफूलाई विश्वास भएको उल्लेख गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर