बिग मर्जरमा १० वाणिज्य बैंक, कसको कति पुग्नेछ पूँजी ? – Nepal Press

बिग मर्जरमा १० वाणिज्य बैंक, कसको कति पुग्नेछ पूँजी ?

काठमाडौं । केन्द्रीय बैंकको छुट तथा सहुलियत पाउन पुस मसान्तभित्रै एकीकृत कारोबार गर्ने गरी १० वटा वाणिज्य बैंक मर्जरमा जाने भएका छन् । मौद्रिक नीतिले पुस मसान्तभित्र मर्ज गरेर एकीकृत कारोबार गर्नेलाई बम्पर सहुलियतको घोषणा गरेको थियो ।

पछिल्लो समय बिग मर्जरको लहर नै चलेको छ । कुनै वेला ३२ वटा वाणिज्य बैंक रहेकोमा अहिले मर्जर र एक्विजिसनले २६ वटामा झरेको छ । हाल १० वटा वाणिज्य बैंक मर्जर प्रक्रियामा अघि बढेका हुन् ।

नेपाल राष्ट्र बैंकका सहायक प्रवक्ता नारायणप्रसाद पोखरेलले सहुलियत पाइने भएपछि बैंकहरु मर्जर प्रक्रियामा अघि बढेको बताए ।

नेपालमा बिग मर्जरको थालनी जनता र ग्लोबल आईएमई बैंकले गरेका थिए । यसअघि नेपाल बंगलादेश बैंक र नबिल बैंक गभिएका थिए ।

मर्जरपछिको कस्तो हुनेछ १० बैंकको हैसियत ?

ग्लोबल आईएमई र बैंक अफ काठमाडू

सबैभन्दा पहिले बिग मर्जरमा गएको ग्लोबल आईएई बैंक जनता बैंकसँग गाभिएपछि देशकै सबैभन्दा ठूलो पूँजी भएको बैंक बन्यो । यो बैंकले बिग मर्जरको अर्को प्रक्रिया अन्तिम चरणमा पु¥याएको छ । ग्लोबल आईएमई र बैंक अफ काठमाडूले मर्जरमा जाने सम्झौता गरिसकेका छन् ।

यी दुई बैंकले पहिलोपटक असार २ गते सम्झौता गरेका थिए । पुस मसान्तअगावै एकीकृत कारोबार गर्ने गरी अघि बढेका यी बैंकले मर्जर प्रस्ताव पारित गराउन मंसिर २३ गते साधारणसभा बोलाएका छन् । मर्जरपश्चात ग्लोबल आईएमई बैंकको पूँजी सबैभन्दा धेरै ३४ अर्ब ४१ करोड रुपैयाँ कायम हुनेछ ।

यसले बैंक अफ काठमान्डूसँग १ः१ स्वाप रेसियोमा मर्ज हुने सम्झौता गरेको छ । दुइटै बैंकले एकीकृत कारोबार थालेपछि जगेडा कोषमा १६ अर्ब ५ करोड जम्मा हुनेछ ।

ग्लोबल आईएमईको हालको चुक्ता पूँजी २३ अर्ब ७९ करोड रुपैयाँ छ । बैंक अफ काठमाण्डुको १० अर्ब ६२ करोड रुपैयाँ रहेको छ ।

इन्भेष्टमेन्ट र मेगा बैंक

नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकले गत जेठ २७ गते मर्जरमा जान सहमति गरेका थिए । यी बैंकले पनि पुस मसान्तअगावै एकीकृत कारोबार गर्ने गरी मर्जरका कामहरु अघि बढेको जनाएका छन् ।

नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक १००ः९० को अनुपातमा मर्ज हुने गरी अघि बढेका छन् । मेगा बैंकको १०० कित्ता हुने शेयरधनीले मर्जरपछि बन्ने बैंकको ९० कित्ता शेयर प्राप्त गर्नेछन् । नेपाल इन्भेष्टमेन्ट बैंकले पुस ७ गतेलाई साधारणसभा बोलाएको छ । तर, त्यसमा मर्जरको प्रस्ताव भने उल्लेख छैन ।

उनीहरुले मर्जरपछिको बैंकको अध्यक्षमा नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडे नै हुने सहमति गरिसकेका छन् । मर्जरपछि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाममा एकीकृत कारोबार हुनेछ । यी दुई बैंकलाई मर्जरका लागि नेपाल राष्ट्र बैंकले सैद्धान्तिक सहमति प्रदान गरिसकेको छ । मर्जरका लागि रोक्का भएको यी दुई बैंकको शेयर कारोबारसमेत खुलिसकेको छ ।

अहिले नेपाल इन्भेष्टमेन्ट बैंकको चुक्ता पूँजी १८ अर्ब ३० करोड रुपैयाँ छ । मेगा बैंकको चुक्ता पूँजी १६ अर्ब १२ करोड रुपैयाँ छ ।

सिभिल र हिमालयन बैंक

सिभिल र हिमालयन बैंकले पनि पुसभित्रै एकीकृत कारोबार गर्ने तयारी गरेका छन् । यी दुइटै बैंकबीच गत असार २९ गते एकापसमा गाभ्ने सम्झौता भएको थियो ।

प्रारम्भिक सहमतिअनुसार दुइटै बैंक एक भएपछि हिमालयन बैंकको नामबाट एकीकृत कारोबार सुरु हुनेछ । हिमालयनले सिभिललाई १००ः०.८१ अनुपातमा एक्वायर गर्न लागेको हो । डीडीए रिपोर्टअनुसार यसमा सामान्य तलमाथि हुने बताइएको छ ।

हिमालयनले सिभिललाई प्राप्ति गरेपछि बन्ने बैंकको पूँजी २० अर्ब ३२ करोड रुपैयाँ बराबर हुनेछ । हिमालयन बैंकको हाल १२ अर्ब ९६ करोड रुपैयाँ चुक्ता पूँजी छ । यता सिभिलको ९ अर्ब रुपैयाँ छ ।

एनसीसी र कुमारी बैंक

एनसीसी बैंक र कुमारी बैंकको मर्जर प्रक्रिया पनि अन्तिम चरणमा पुगेको छ । मर्जरको प्रस्ताव पारित गराउन यी दुई बैंकले मंसिर २५ गते साधारणसभा बोलाएका छन् ।

मर्जपछि कुमारी बैंकको नामबाट कारोबार हुनेछ । गत असोज १० गते यी दुई बैंकले मर्जरमा जान सहमति गरेका थिए । एनसीसीको हालको चुक्ता पूँजी ११ अर्ब १३ करोड रुपैयाँ र कुमारीको हालको पूँजी १४ अर्ब ७१ करोड रुपैयाँ छ । १ः१ अनुपातमा एकापसमा गाभिने सम्झौता गरेका कुमारी र एनसीसी बैंकको चुक्ता पूँजी २५ अर्ब ८५ करोड रुपैयाँ पुग्नेछ ।

प्रभु र सेन्चुरी बैंक

प्रभु बैंकले सेन्चुरी बैंकलाई गाभ्न नियामक निकाय नेपाल राष्ट्र बैंकबाट गत भदौ १५ गते सैद्धान्तिक सहमति दिएको थियो । यी दुई बैंकले साउन १५ गते १ः१ अनुपातमा गाभ्ने गाभिने सम्झौता गरेका थिए ।

प्रभुको हालको पूँजी १२ अर्ब ७० करोड रुपैयाँ छ । सेञ्चुरीको ९ अर्ब ५५ करोड रुपैयाँ छ । गाभिएपछि बन्ने बैंकको पूँजी २२ अर्ब २६ करोड रुपैयाँ हुनेछ ।

मर्जमा जाने बैंकले पाउनेछन् यस्तो सहुलियत

केन्द्रीय बैंकले पुस मसान्तसम्म एकीकृत कारोबार गर्ने वाणिज्य बैंकहरुलाई काठमाडौं उपत्यकाबाहेकका महानगरपालिका र उपमहानगरपालिकामा एकीकृत कारोबार गरेको मितिले एक वर्षसम्म शाखा कार्यालय खोल्न राष्ट्र बैंकको स्वीकृति लिनु नपर्ने व्यवस्था गरेको छ ।

यसैगरी काठमाडौं उपत्यका बाहिर तीनवटा शाखा सञ्चालनमा ल्याएपछि एकीकृत कारोबार गरेको मितिले एक वर्षसम्म काठमाडौं उपत्यकामा एक शाखा खोल्न पनि केन्द्रीय बैंकको स्वीकृति आवश्यक नपर्ने व्यवस्था छ । एकीकृत कारोबार गर्ने गरी दुई वा दुईभन्दा बढी वाणिज्य बैंकहरु एकापसमा गाभ्ने/गाभिने तथा प्राप्ति प्रक्रियामा सहभागी भएमा एक पटकका लागि ६५ वर्ष उमेर नाघेको व्यक्ति बैंक तथा वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त र पुनर्नियुक्त हुन बाधा पर्नेछैन ।

यस्तै राष्ट्र बैंकबाट तोकिएको कुल निक्षेपमा सरकारी संस्था एवं संस्थानहरु, पब्लिक लिमिटेड कम्पनीहरु, बचत तथा ऋण सहकारी संस्था तथा त्यस्ता संस्था एवं संस्थान मातहत सञ्चालित कोषहरुको निक्षेपको अंश प्रतिसंस्था १० प्रतिशत विन्दुले थप गरिने व्यवस्था केन्द्रीय बैंकले गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर