विपद रोक्न सकिँदैन तर पूर्वतयारी गरे क्षति घटाउन सकिन्छ : सुनिता डंगोल – Nepal Press

विपद रोक्न सकिँदैन तर पूर्वतयारी गरे क्षति घटाउन सकिन्छ : सुनिता डंगोल

काठमाडौँ । काठमाडौँमा विपद जोखि व्यवस्थापनमा स्थानीय सरकारको क्षमता अभिवृद्धि कार्यक्रम सुरु भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले युएस एड र आईओएमको सहकार्यमा सबै पालिकामा सञ्चालन गरिरहेको कार्यक्रमअन्तर्गत काठमाडौँ महानगरका जनप्रतिनिधि र कर्मचारीहरुका लागि आज र भोलि सञ्चालन हुनेछ ।

कार्यक्रममा बोल्दै महानगरकी उपप्रमुख सुनिता डंगोलले, विपद रोक्न नसकिने तर पूर्व तयारी गरेर क्षति घटाउन सकिने भएकोले यसका लागि तालिमले महत्वपूर्ण भूमिका खेल्ने बताइन् । ‘सुरक्षित समुदायका लागि वडा स्तरीय विपद व्यवस्थापन समितिलाई सक्रिय बनाउनु पर्ने अहिलेको आवश्यकता हो । वडा समितिहरुलाई यो संयन्त्र सक्रिय बनाउनु आग्रह गर्दछु’, उपप्रमुख डंगोलले भनिन् ।

कार्यक्रममा प्रवक्ता नविन मानन्धरले हिजोको सिकाई भोलिको सुरक्षाका लागि काम लाग्ने भएकोले हिजो भोगेका देखेका र व्यहारेका कुरालाई क्षमता विकासमा समेट्नुपर्ने बताए । यहाँ सिक्न बाँकी रहेका विषय महानगरले आफैँ पनि तालिममार्फत सूचना र जानकारी दिनेछ । क्षमता विकास गराउनेछ ।

तालिममा विपद सम्बन्धी बुझाई, सरकारका नीति र प्राथमिकता, विपद सुशासन र यसको स्थानीय तहमा भएको अभ्यास, विपद व्यवस्थापन समितिको काम कर्तव्य, विपद कोष सञ्चालन, विपद लेखाजोखालगायतका विषय समेटिएका छन् ।

यस्तै, आपतकालीन कार्य सञ्चालन केन्द्रको प्रावधान, पूर्व चेतावनी प्रणाली, जलबायु उत्थानशील योजना, समावेशी विपद जोखिम न्युनीकरणलाई विकास प्रक्रियामा मूल प्रवाहीकरण, अन्तरपालिका सम्बन्ध, पूर्व तयारी र प्रतिकार्य योजना मानवीय सिद्धान्तहरु र मापदण्ड, लैङ्गिक समानता र सामाजिक समावेशीकरणको सिकाई, खुल्ला क्षेत्रको पहिचान र संरक्षण, शिविर सञ्चालन र व्यवस्थापन तालिमका अन्य विषय हुन् ।

विपदको वित्तिय व्यवस्था र जोखिम हस्तान्तरण संयन्त्र, स्थानीय तहमा जोखिम व्यवस्थापन कार्ययोजनालगायत विषयमा प्रस्तुति छलफल र समूहगत कार्य हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर