राप्रपा नेपाल र विवेकशीललाई अस्तित्व संकट, समानुपातिकमा पनि यस्तो हविगत – Nepal Press

राप्रपा नेपाल र विवेकशीललाई अस्तित्व संकट, समानुपातिकमा पनि यस्तो हविगत

काठमाडौं । यसपालिको निर्वाचन परिणाम लगभग मैझारो हुने क्रममा छ । प्रत्यक्षतर्फ एकाधबाहेक सबै परिणामहरु आइसक्दा यसवेला धेरैको ध्यान समानुपातिकतर्फ छ ।

समानुपातिक मत परिणामले देशका राजनीतिक दलहरुको वास्तविक हैसियत र लोकप्रियता देखाउँछ । करिब ९३ लाख समानुपातिक मतको गणना हुँदा ६ वटा पार्टीले राष्ट्रिय दलको हैसियत सुनिश्चित गरिसकेका छन् भने ३ वटा पार्टी संघर्षमा छन् ।

चुनावअघि थुप्रै दलहरु राष्ट्रिय पार्टी बन्ने लक्ष्यका साथ अगाडि बढेका थिए । जसमध्ये दुई चर्चित दल हुन् राप्रपा नेपाल र विवेकशील साझा । तर, यी दुवै दलको चुनावी नतिजा अत्यन्तै निराशाजनक छ । प्रत्यक्षतर्फ शून्य नतिजा ल्याएका यी दलको समानुपातिकतर्फ पनि उल्लेख्य मत आएको छैन । यो चुनावी परिणामअनुसार यी दुवै दलको अस्तित्व संकटमा देखिन्छ ।

राष्ट्रिय राजनीतिकै एक हस्ती कमल थापाले राप्रपा फुटाएर राप्रपा नेपालको गठन गरेका थिए । राप्रपा छोडेसँगै उनले राजसंस्था पुनःस्थापनाको एजेन्डा पनि बिसाए र हिन्दू राष्ट्रलाई मूल एजेन्डा बनाए । तर, मतदाताले उनको पार्टीलाई तिरस्कार गरिदिएका छन् ।

प्रत्यक्षमा कमल थापा स्वयम् मकवानपुरबाट चुनाव हारे भने अन्यन्त्र कतै पनि उनको पार्टीले उपस्थिति देखाउन सकेन । समानुपातिकले पनि थापालाई निराश तुल्याएको छ । उनले चुनावबाट आफ्नो पार्टीले राष्ट्रिय दलको हैसियत बनाउने दाबी गरेका थिए । तर, त्यो उनको दिवास्वप्नमात्रै हुने भयो ।

समानुपातिकतर्फ पछिल्लो मत परिणाममा राप्रपा नेपाल २३ औं स्थानमा छ । सो पार्टीले हालसम्म देशभरबाट ल्याएको कूल मत हो १० हजार ५८२ । जबकि राष्ट्रिय पार्टीको मान्यता पाउन ३ लाख हाराहारीमा मत ल्याउनुपर्छ ।

समानुपातिकमा सर्वाधिक मत पाउने दलको सूचीमा नामै नसुनिएका केही पार्टी राप्रपा नेपालभन्दा अगाडि छन् । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, नेपाली कांग्रेस (बीपी), बहुजन एकता पार्टी नेपाल, जनता प्रगतिशील पार्टी नेपाल, राष्ट्रिय जनमुक्ति पार्टी, मंगोल नेशनल अर्गनाइजेसनलगायतले राप्रपा नेपालभन्दा बढी भोट ल्याएका छन् ।

यता, विवेकशील साझा पार्टीको झनै दयनीय अवस्था छ । कुनै वेला सम्भावित बैकल्पिक शक्तिका रुपमा समेत हेरिएको यो पार्टी रवीन्द्र मिश्रले छोडेपछि अस्तित्व संकटमा परेको प्राप्त मतबाट देखिन्छ । समानुपातिकतर्फ ४७ वटा राजनीतिक दलको सूचीमा विवेकशील साझा पुछारबाट १२ औं स्थानमा छ । देशभरबाट यो पार्टीले अहिलेसम्म ल्याएको मत हो- ३ हजार ७५९ ।

विवकेशील साझाले यो चुनावबाट त्यति ठूलो अपेक्षा राखेको पनि थिएन । मिश्रको बहिर्गमनपछि यो पार्टी भताभुंग अवस्थामा छ । अहिले नेतृत्व लिएकी समीक्षा बास्कोटाले अब पार्टीलाई नयाँ शिराबाट अघि बढाउनुपर्ने चुनौती आइपरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर