मधेसका प्रभावशाली चार महिला : जसले प्रदेशसभामा निकाले सानदार जीत – Nepal Press

मधेसका प्रभावशाली चार महिला : जसले प्रदेशसभामा निकाले सानदार जीत

जनकपुरधाम । मंसिर ४ गते भएको आमनिर्वाचनअन्तर्गत प्रत्यक्षतर्फ चार महिलाले मधेस प्रदेशसभाको यात्रा निश्चित गरेका छन् । महिलालाई टिकट दिन दलहरु पछि हटिरहेका वेला उनीहरुले सानदार जीत निकालेका छन् ।

महोत्तरी १ (१) बाट नेकपा एमालेकी शारदादेवी थापा, सर्लाही १ (२) बाट नेकपा एकीकृत समाजवादीकी वेची लुङ्गेली, महोत्तरी ३ (२) बाट लोकतान्त्रिक समाजवादी पार्टीकी रानीकुमारी तिवारी र महोत्तरी २ (२) बाट स्वतन्त्र सुरिताकुमारी साह प्रदेशसभा सदस्यमा विजयी भएका हुन् । उनीहरु चारैजना पूर्वप्रदेश सांसदसमेत हुन् ।

महोत्तरी १ (१) मा थापाले लोसपाका पिताम्बर महतोलाई ७१९ मतान्तरले पराजित गरिन् । शारदा ८ हजार ३०४ मत ल्याएर विजयी भइन् । उनका प्रतिस्पर्धी महतो ७ हजार ५८५ मतमा रोकिए ।

सर्लाही १ (२) मा लुङ्गेलीले ६ हजार ३८८ मतान्तरले विजयी भइन् । उनी १३ हजार ३०१ मत ल्याएर विजयी हुँदा निकटम प्रतिस्पर्धी नेकपा एमालेकी शान्तिकुमारी लामाले ६ हजार ९१३ मत पाए ।

सत्ता गठबन्धनको साझा उम्मेदवारको रुपमा तिवारी महोत्तरी ३ (२) बाट विजयी भइन् । उनले ४ हजार ४१४ मत पाइन् । उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उज्ज्वल झाले ५ हजार ४८९ मत पाए । यो क्षेत्रमा एमाले उम्मेदवार रामदयाल मण्डलले ४ हजार ५६७ मत ल्याए ।

महोत्तरी २ (२) मा स्वतन्त्र उम्मेदवार बनेर सुरिताकुमारी सानदार जीत निकाल्न सफल भइन् । उनले निकटतम प्रतिस्पर्धी कांग्रेसका नागेश्वर यादवभन्दा झण्डै २ हजार बढी मत पाएकी छन् ।

साहले ८ हजार ५६८ मत ल्याएर विजयी हुँदा निकटतम प्रतिस्पर्धी यादव ६ हजार ८०२ मतमा रोकिए । निर्वाचनअघि साह लोसपामा थिइन् । तर, पार्टीले टिकट नदिएपछि उनले स्वतन्त्र उम्मेदवारी दिइन् र जितेर पनि देखाइन् ।

लोसपाले सत्ता गठबन्धनबाट कांग्रेसका यादवलाई सघाएपछि साह हार्ने धेरैको अनुमान थियो । जनताको त्यो अनुमानलाई उनले फेल गरिन् । जनताको सुखदुःखमा साथ रहने नेता स्वतन्त्र उम्मेदवार बनेर पनि चुनाव जित्न सक्छन् भन्ने सावित उनले गरिदिइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर