कपिलवस्तुमा नयाँ अनुहारको खोजी : तीनवटै क्षेत्रमा यसअघिका सांसदको हार – Nepal Press

कपिलवस्तुमा नयाँ अनुहारको खोजी : तीनवटै क्षेत्रमा यसअघिका सांसदको हार

रूपन्देही । कपिलवस्तुमा ७४ सालमा चुनाव जितेका तीनैजना सांसद यसपटक पराजित भएका छन् । पार्टीभित्र प्रभावशाली नेताहरूको पहिचान बनाएका उनीहरू हारेका हुन् ।

७४ मा क्षेत्र नम्बर १ बाट माओवादी सचिव चक्रपाणी खनाल ‘बलदेव’, २ मा सूर्य चुनाव चिह्न लिएर वृजेशकुमार गुप्ता र ३ मा नेपाली कांग्रेसका अभिषेकप्रताप शाह निर्वाचित भएका थिए । यो निर्वाचनमा जनताले नयाँ अनुहार खोजे ।

१ मा एमालेका बलराम अधिकारीसँग बलदेव १४ हजार ७२७ मतान्तरले पराजित भएका छन् । बलदेवले १६ हजार ७२७ मत पाउँदा अधिकारीले ३१ हजार २१६ मत पाएका छन् ।

खनालले अघिल्लो पटक कांग्रेसका दीपकुमार उपाध्यायलाई हराएका थिए । बलदेव, उपाध्याय र अधिकारी ७० मा एकअर्काका प्रतिस्पर्धी थिए । त्यो निर्वाचनमा अधिकारीले बलदेव र उपाध्यायलाई पराजित गरेका थिए । यीनै अधिकारी पुनः संघीय संसदमा फर्किएका छन् ।

२ मा ५६ देखि लगातार जित्दै आएका वृजेशकुमार गुप्ताको संसद यात्रामा यसपालि कांग्रेस नेता सुरेन्द्र आचार्यले ब्रेक लगाएका छन् । ३१७ मतान्तरले पराजित भएका गुप्ताले आचार्यलाई ७४ सालमा पराजित गरेका थिए ।

०६४ को पहिलो संविधान सभामा सानै उमेरमा चुनाव जितेर चर्चामा आएका अभिषेक प्रताप शाहको लगातारको संसदयात्रा बे्रक लागेको छ । लगातार तीन चुनाव जितेका शाह यो निर्वाचनमा नेकपा (एमाले) का उम्मेदवार मंगल प्रसाद गुप्तासंग पराजित भए । यिनै गुप्तालाई ०७४ सालमा पराजित गरेर संघीय संसदको यात्रा तय गरेका शाह यो निर्वाचनमा ३ हजार ६३६ मतान्तरले हारे ।

०७४ मा शाह गुप्तालाई ४ हजार ४७० मतान्तरले हराएका थिए । अहिले सत्ता गठबन्धनको साथ पाउँदा पनि गतवर्ष एमाले छिरेका मंगल गुप्तासँग जीत निकाल्न सकेनन् । शाहले १८ हजार ९८३ मत ल्याउँदा गुप्ताको २२ हजार ६१९ मत आएको छ ।

एकाएक उम्मेदारी, फराकिलो मतान्तरमा विजयी

क्षेत्र नं १ मा कांग्रेस ठूलो पार्टी भएपनि गठबन्धनको सहमति अनुसार ०७४ मा माओवादीले जितेकाले उसैले टिकट पायो । कमजोर संगठन भएपनि कांग्रेससहित गठबन्धनको मत लिएर चुनाव जित्ने योजनामा माओवादी नेता बलदेव लागे । तर, सुरूदेखि कांग्रेसले दावी गरेको यो क्षेत्रमा गठबन्धनमा नपरेपछि कांग्रेसका स्थानीय नेता कार्यकर्ता असन्तुष्ट बने भने नेकपा एसले प्रदेशमा नपाएपछि असन्तुष्ट बन्यो । एमाले-जसपा तालमेलबाट मनोनयन दर्ता गराउन गएका सहसराम यादव एकाएक कांग्रेसमा प्रवेश गरेर उम्मेदवार बने । उम्मेदवार नै कांग्रेस प्रवेश गरेपछि एमाले-जसपाले अलग अलग उम्मेदारको मनोनयन दर्ता गराए ।

एमालेले लोसपाबाट आएका मधसुदनशरण चौधरीलाई उम्मेदवार बनाएर अन्तिममा दर्ता गराएको थियो । बलियो गठबन्धनसँग एकलरूपमा मैदानमा जान खोजेको एमालेबाट क्षेत्र नं १ प्रतिनिधि सभामा बलराम अधिकारीले दर्ता गरे । यो क्षेत्रमा सहसराम यादवका समेत गरी झण्डै २८ हजार मतान्तरले अगाडि रहेको गठबन्धनले सजिलै चुनाव जित्ने धेरैको अनुमान विपरीत १४७२७ मत बढी ल्याएर अधिकारी विजयी भए ।

अनपेक्षित मत ल्याएर विजयी अधिकारी ०७० मा संविधान सभा सदस्यमा निर्वाचित भएका थिए । ०७४ मा पनि टिकटको दाबी गरिरहेका अधिकारीले तत्कालिन बाम गठबन्धनबाट बलदेवलाई टिकट दिएपछि पाएका थिएनन् ।

सुरूमा अधिकारी आफै प्रतिनिधि सभामा लड्ने मनस्थितिमा थिएनन । विष्णु पन्थीलाई प्रतिनिधि सभा सदस्यमा लडाएर प्रदेश सभाबाट चुनाव लड्ने चाहनामा रहेका अधिकारी एकाएक प्रतिनिधि सभामा चुनाव लड्न तयार भएका थिए । उनै अधिकारीले पार्टीले अपेक्षा गरेभन्दा भारी मतान्तरमा जित निकाले ।

वृजेशको पाँचौं यात्रामा ब्रेक

सबै सर्वेक्षणले क्षेत्र नं २ मा एमालेबाट उम्मेदार बनेका बृजेश गुप्ताले जित्ने देखाएको थियो । गतवर्ष एमाले प्रवेश गरेका गुप्ता आएपछि निकै ठूलो संख्यामा एमाले प्रवेश गराएका थिए । दक्षिणी क्षेत्रमा कमजोर रहेको एमालेलाई बलियो बनाएका थिए तर थोरै मतान्तरले उनी नेपाली कांग्रेसका लुम्बिनी प्रदेश महामन्त्री सुरेन्द्रराज आचार्यसँग पाँचौ पटकको रोकिन पुगे । यसअघि ०५६ देखि लगातार ४ पटक उनी सोही क्षेत्रबाट विजयी भएका थिए । आचार्यले गुप्तालाई ३ सय १७ को मतान्तरले पराजित गरेका हुन् ।

शक्तिशाली शाहलाई सदयात्रामा गुप्ताको पहिलो ब्रेक

पञ्चायतकालदेखि कम्युनिष्टइतरका पार्टीबाट निर्वाचन लडेर पराजित हुँदै आएका कपिलवस्तुका मंगलप्रसाद गुप्ता पहिलो पटक सांसद बन्ने अवसर पाएका छन् ।

गत वर्ष एमालेमा प्रवेश गरेका ७७ वर्षीय गुप्ता पाँचौ पटकमा सांसद बनेका हुन् । पाँच पटक पाँच पार्टीबाट उठेका उनी अहिले बल्ल विजयी भएका हुन् । पञ्चायतकालदेखि संसदीय चुनाव लड्दै आएका गुप्ताले सो क्षेत्रमा शक्तिशाली मानिएका अभिषेक शाहलाई पराजित गरेर चर्चामा आएका छन् । शाहले यसअघि यहाँबाट तीन वटा चुनावमा नियमित जितेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर