आज विवाह पञ्चमी : सीता-रामको विवाह समारोहमा खचाखच जनकपुरधाम (तस्बिरहरू) – Nepal Press

आज विवाह पञ्चमी : सीता-रामको विवाह समारोहमा खचाखच जनकपुरधाम (तस्बिरहरू)

जनकपुरधाम । आज विवाह पञ्चमी । मार्गशीर्ष शुक्ल पञ्चमीका दिन त्रेता युगमा भगवान् राम र सीताको विवाह भएको सम्झनामा जनकपुरधाममा धुमधामका साथ विवाह पञ्चमी मनाइँदैछ ।

अहिले मधेसको राजधानी जनकपुरधाम, त्रेतायुगमा मिथिलाको राजधानी थियो । मिथिलाका राजा थिए जनक । उनले छोरी सीताको विवाह रामसँग जनकपुरधाममै गरेका थिए । सोही मान्यताका आधारमा जनकपुरमा सप्ताहव्यापी विवाह पञ्चमी आयोजना गरेर सांकेतिक रूपमा सीता-रामको विवाह गर्ने चलन छ ।

त्रेतायुगमा मिथिलाका राजा जनकले छोरी सीताको स्वयंम्वरका लागि राखिएको शिवधनुषलाई अयोध्याका राजा दशरथका जेठा छोरा रामले तीनटुक्रा पारेपछि मङ्सिर शुक्ल पञ्चमीका दिन राम र सीताको विवाह सम्पन्न भएको धार्मिक ग्रन्थ रामायणमा उल्लेख छ ।

जानकी मन्दिरमा हुने सिता-राम विवाह अर्थात् स्वयंम्वरमा अदृष्य रुपमा देवीदेवताको समेत सहभागिता हुने विश्वास जनमानसको छ । त्यसैले हर्षोल्लासका साथ प्रतिछाया जन्तीको आगमनदेखि बिहेसम्ममा लाखौं श्रद्धालु र साधुसन्त सहभागी हुन्छन् ।

विवाह पञ्चमी महोत्सवका क्रममा मिथिलाको संस्कृतिअनुसार मटकोर, तिलकोत्सव, स्वयंवर र विवाह संस्कार सम्पन्न हुन्छ । आज राम मन्दिरबाट बाजागाजा, झाँकीसहित भगवान् रामको प्रतिमालाई विशेषरूपमा निर्मित डोला सिंहासनमा राखी ऐतिहासिक रङ्गभूमिमा पुर्‍याइन्छ । त्यस्तै जानकी मन्दिरबाट पनि सीतालाई विशेष सुसज्जित डोलामा राखी रङ्गभूमिमा लगिन्छ ।

रङ्गभूमिमा स्वयंम्वरविधि, परीक्षणको वैवाहिक विधि सम्पन्न भएपछि सीता-रामलाई जानकी मन्दिरमा ल्याई मिथिला संस्कृतिअनुसार विवाह सम्पन्न गरिन्छ । विवाहका बेला वर र कन्यापक्षबीच हुने गरेको हाँसो, ठट्टा तथा गाउँगाउँबाट आउने गरेको सीता-रामको प्रतीकात्मक झाँकी र लाखौँ सङ्ख्यामा सम्मिलित श्रद्धालुको उत्साहले वास्तविक विवाहको रमितालाई उछिनेको हुन्छ ।

देवताको मानवीयकरणको भावनासँग सम्बद्ध विवाह महोत्सवमा सरिक भएपछि मनोवाञ्छित फल र मोक्ष प्राप्त हुने धार्मिक विश्वास छ । सो विश्वासका साथ सीता-राम विवाह समारोहमा सहभागी हुन टाढा टाढाबाट श्रद्धालु जनकपुरधाम आइपुगेका छन् । श्रद्धालुको सुरक्षाका लागि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर