प्रदेशको सयभन्दा बढी मत संघमा भेटिएपछि उदयपुर १ मा २४ घण्टादेखि गणना स्थगित – Nepal Press

प्रदेशको सयभन्दा बढी मत संघमा भेटिएपछि उदयपुर १ मा २४ घण्टादेखि गणना स्थगित

एमाले, जसपा, राप्रपालगायतका दलले गरे पुन: मतदानको माग

उदयपुर । उदयपुर क्षेत्र नम्बर १ मा सत्तागठबन्धनका घटक माओवादी र कांग्रेसबाहेकका दलले पुन: मतदानको माग गरेका छन् । आइतबार बिहानदेखि यहाँको गणना रोकिएको छ ।

प्रतिनिधिसभाको मतपेटिकामा प्रदेशसभाका सयभन्दा बढी मतपत्र भेटिएपछि नेकपा एमाले, राप्रपा, जसपालगायतका दलले पुन: मतदानको मागसहित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिएका हुन् ।

यहाँ गठबन्धनबाट कांग्रेसका उम्मेदवार परराष्ट्रमन्त्री नारायण खड्का र एमालेबाट मञ्जुकुमारी चौधरीबीच मुख्य प्रतिस्पर्धा छ ।

गणनाका क्रममा पछिल्लोपटक खोलिएको १० वटा ब्यालेट बक्समा उदयपुर १ (२) प्रदेशसभाको एक सयभन्दा बढी मतपत्र भेटिँदा गणना रोकिएको छ ।

६३ हजार ८० मत गणना भइसकेपछि खोलिएको १० वटा मतपेटिकामा प्रदेशसभाको मतपत्र भेटिएको हो । आइतबार बिहान १० बजे र अपरान्ह ४ बजे सर्वदलीय बैठक डाकिएकोमा दलहरूबीच सहमति हुन सकेन ।

अर्को चरणको वार्ताका लागि उम्मेदवार र दलका प्रतिनिधिसमेत साँझ ७ बजे बैठक तय गरिएकोमा एमाले, राप्रपालगायतका दल र उम्मेदवारले पुन: मतदानको माग गर्दै निवेदन दिएका छन् ।

यहाँ प्रदेशसभाको परिणाम सार्वजनिक भइसकेको छ । जसअनुसार प्रदेशसभा क्षेत्र १ मा माओवादी केन्द्रका राजन किराती ‘वासु’ र २ मा कांग्रेसका हिमाल कार्की निर्वाचित भइसकेका छन् ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार यहाँ प्रतिनिधिसभातर्फ ७६७५६ मत खसेको । त्यसमध्ये ६३०८० भोट गनिसकिएको छ । कांग्रेसका नारायण खड्काले १८२५ मतले लिड गरेका छन् । उनले २७४८४ मत ल्याउँदा एमालेकी मञ्जुले २५६५९ मत ल्याएकी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *