गठबन्धनको निरन्तरता भारतको प्राथमिकता, बहुमतका लागि यस्ता छन् विकल्प – Nepal Press

गठबन्धनको निरन्तरता भारतको प्राथमिकता, बहुमतका लागि यस्ता छन् विकल्प

काठमाडौं । आम निर्वाचनको मतगणना अन्तिम चरणमा पुग्दा नयाँ सरकार गठनका लागि अहिलेकै सत्ता गठबन्धनले कसरत थालेको छ । बहुमतका लागि अपुग हुने केही सीट साना दल र स्वतन्त्रहरू मिलाएर गठबन्धनलाई निरन्तरता दिन शीर्ष नेताहरू सहमत भएका छन् ।

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच गठबन्धनको निरन्तरता दिने सहमति भएको गृहमन्त्री बालकृष्ण खाँणले बताए । उनले गठबन्धनको एकल बहुमत पुग्ने र एकाध सीटको व्यवस्थापन हुने बताए ।

देउवा र प्रचण्डबीच शनिवार नै यसबारेमा छलफल भएको थियो । त्यस लगत्तै प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले अलग अलग भेट गरेर नयाँ सरकार गठनबारे चासो राखेका थिए । भारत यही सत्ता गठबन्धन कायम रहोस् र यसैले सरकार बनाओस् भन्ने चाहन्छ । राजदूतले अबको शक्ति बाँडफाँट र सरकारको नेतृत्वबारे चासो राखेका छन् ।

भारतीय राजदूतसँगको भेटबारे माओवादी अध्यक्ष प्रचण्डले आइतबार बिहान बधाई दिन गएका पार्टीका नेताहरूसँग ब्रिफिङ गर्दै अबको सरकारको नेतृत्व कसले गर्छ र कस्तो सरकार बन्न भन्नेबारे भारतको चासो रहेको सुनाएका थिए । प्रधानमन्त्रीले भारतीय राजदूतसँगको भेटमा यही गठबन्धनले सहमतिका आधारमा ५ वर्ष सरकार चलाउने आश्वासन दिएका छन् ।

चुनाव लगत्तै माओवादी नेता वर्षमान पुनको चीन भ्रमणबारे समेत भारतीय पक्षले चासो राखेको छ ।

विशेष गरी चुनाव लगत्तै माओवादी महासचिव देव गुरुङले वाम एकताबारे दिएको अभिव्यक्ति र माओवादीका अन्य नेताहरूको समेत कांग्रेससँगको गठबन्धनबारे पुनर्विचार गर्नुपर्ने खालका सार्वजनिक टिप्पणीपछि भारतीय राजदूतले शीर्ष नेताहरूसँग भेट गरेका हुन् । चुनाव लगत्तै माओवादी नेता वर्षमान पुनको चीन भ्रमणबारे समेत भारतीय पक्षले चासो राखेको छ ।

पुन: नियमित उपचारका लागि चार्टर विमानबाट बेइजिङ जान लागेको समाचार नेपाल प्रेसले बाहिर ल्याएको थियो । कतै चीनले वामपन्थीहरू मिलाइदिन्छ कि भन्ने आशंका देशभित्र र बाहिरका शक्तिहरूमा छ । त्यसमाथि चुनावी परिणामले माओवादीलाई कांग्रेससँगको गठबन्धन फाइदाजनक नभएको भन्ने बुझाइ माओवादी नेतृत्वमा परेको छ ।

चुनावी सीटको तलमाथिका कारण गठबन्धन टुट्न नदिन प्रधानमन्त्री देउवा गम्भीर रहेको प्रचण्डले नेताहरूलाई बताएका छन् । एमालेसँग तत्काल मिल्न सम्भव नरहेको भन्दै उनले यही गठबन्धनलाई निरन्तरता दिएर सरकारको नेतृत्व आफूले गर्ने वातावरण बनाउने बताएका छन् ।

प्रचण्डनिकट एक नेताले भने–माओवादीले सोचेभन्दा आधा कम सीट पायो,गठबन्धनको मत माओवादीमा पटक्कै आएन । तर पनि जति सीट आए पनि गठबन्धनले ल्याउने समग्र सीट नै हाम्रो शक्ति हो । गठबन्धनको बहुमत पुग्ने र प्रचण्ड प्रधानमन्त्री बन्ने कुरा नै हो । यो गठबन्धनभन्दा बाहिरबाट अरू सरकार गठनको प्रयास हुन्न ।

नेकपा एसको थ्रेसहोल्ड नकट्ने अवस्थामा बहुमतका लागि बाँकी चार पाँच सीटमध्ये प्रभु साह गठबन्धनकै सहयोगमा जितेका हुनाले रौतहत २ स्वतन्त्रको साथ हुनेछ ।

अहिलेको सत्ता गठबन्धनमा नेपाली कांग्रेस,माओवादी केन्द्र,लोकतान्त्रिक समाजवादी पार्टी,नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा छन् । कांग्रेस समानुपातिक र प्रत्यक्षसमेत गरेर ८५ देखि ८७ सीटमा पुग्ने अनुमान छ भने माओवादी पनि ३० सीट कटाउने अवस्थामा छ ।

नेकपा एसको थ्रेसहोल्ड नकट्दा १० सीट हुनेछ भने लोसपाको थ्रेसहोल्ड कट्ने सम्भावना नरहेकाले उसको ४ सीट र राजमोको चार सीट गर्दा सत्ता गठबन्धनसँग कम्तीमा १३२ देखि १३५ सीट पुग्न नेताहरू बताउँछन् । नेकपा एसले थ्रेसहोल्ड नकटाएकोमा गठबन्धनका नेताहरू चिन्तित छन् ।

उसले ३ प्रतिशत मत समानुपातिकमा कटाउनासाथ गठबन्धनको एकल बहुमत पुग्ने भएकाले समानुपातिकको मतगणनामा सत्ताको सकेसम्म प्रयोग गर्न खोजिएको छ । नेकपा एसलाई समानुपातिकको मतगणनामा घारघुर पारेर मत थप्ने खालका कतिपय ठाउँमा हर्कतहरु भएको जानकारी आएपछि शनिवार साँझ एमाले अध्यक्ष केपी शर्मा ओली र राप्रप अध्यक्ष राजेन्द्र लिङदेनले वक्तव्य नै निकालेर कार्यकर्तालाई सजग रहन भनेका हुन् ।

नेकपा एसको थ्रेसहोल्ड नकट्ने अवस्थामा बहुमतका लागि बाँकी चार पाँच सीटमध्ये प्रभु साह गठबन्धनकै सहयोगमा जितेका हुनाले रौतहत २ स्वतन्त्रको साथ हुनेछ । बाँकी २ स्वतन्त्रमध्ये एक जना एमालेका बागी योगी मण्डल र कांग्रेसका बागी अमरेश कुमार सिंह छन् ।

एमाले, जसपा र राप्रपाबाहेकका शक्तिलाई मिलाएर लैजान बाह्य मित्रहरूको पनि सुझाव देउवा र प्रचण्डले पाएकाले त्यही दिशामा अबको राजनीति जाने नेताहरू बताउँछन् ।

सीके राउत उपेन्द्र यादवलाई हराएर आएकाले मधेस प्रदेश र लुम्बिनीमा समेत सरकार बनाउने गरी राउतलाई गठबन्धनमा सामेल गर्ने विकल्पबारे पनि छलफल भइरहेको छ । त्यस्तै ४ सीट रहेको नागरिक उन्मुक्तिसँग पनि गठबन्धनले सुदूरपश्चिम र लुम्बिनी सरकारसहितमा सहकार्य गर्न खोजेको छ ।

कांग्रेस नेताहरू भन्छन्- हाम्रो आँकलन गठबन्धनको एक्लै बहुमत पुग्छ भन्ने मै छ । केही सीटको नतिजा आउन बाँकी छ । सुनसरी, पाँचथरलगायत कतिपय ठाउँमा अलि जोर जबर्जस्ति पनि भइरहेको छ । बाजुरा,दोलखा र स्याङजामा पनि विशेष जोड गरिन्छ । पुगेन भने अरू जुगाड गरेर गठबन्धनकै सरकार बन्छ ।

राष्ट्रपति, प्रधानमन्त्री, उपराष्ट्रपति, सभामुख, उपसभामुख, प्रदेशका मुख्यमन्त्री तथा प्रदेश प्रमुखहरूजस्ता संवैधानिक पदहरूमा समेत भागबन्डा मिलाउने गरी गठबन्धनलाई विस्तार गर्ने प्रयास भइरहेको छ । एमाले, जसपा र राप्रपाबाहेकका शक्तिलाई मिलाएर लैजान बाह्य मित्रहरूको पनि सुझाव देउवा र प्रचण्डले पाएकाले त्यही दिशामा अबको राजनीति जाने नेताहरू बताउँछन् ।

कांग्रेस प्रवक्ता डा.प्रकाश शरण महतले गठबन्धन दायाँबायाँ नहुने र समझदारीका आधारमा चुनावी परिणाम आइसकेपछि गठबन्धनकै सरकार बन्ने बताए । उनले प्रधानमन्त्री को बन्ने बारे अहिले छलफल नै नभएको बताए । गठबन्धनको शीर्ष बैठक चाँडै बस्ने उनले जानकारी दिए ।


प्रतिक्रिया

One thought on “गठबन्धनको निरन्तरता भारतको प्राथमिकता, बहुमतका लागि यस्ता छन् विकल्प

  1. ल गठबन्धनको मालिकले आदेश दियो । अब त मान्नै मर्यो । तर भारतजस्तो विस्तारवादी, हेपाहा र लुटेराले के बुझ्नुपर्छ भने तिमीहरूको आदेश खारृज गर्ने एमाले पनि छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर