वसन्त नेम्वाङले किन पाएनन् बिजयी भएको प्रमाणपत्र ? यस्तो रहेछ कारण – Nepal Press

वसन्त नेम्वाङले किन पाएनन् बिजयी भएको प्रमाणपत्र ? यस्तो रहेछ कारण

काठमाडौं । पाँचथरबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेकपा एमालेका वसन्तकुमार नेम्वाङले समानुपातिकको गणना सकिएपछिमात्र विजयको प्रमाणपत्र पाउने भएका छन् । निर्वाचन आयोगले यसअघि निर्वाचित भनेर राखेको वेबसाइटको विवरणमा पनि अग्रतामात्र भनेर सच्याएको छ ।

नेम्वाङले ४७ मत बढी ल्याएर कांग्रेसका भीष्मराज आङदेम्वेलाई पराजित गरेका थिए । उनले ३२ हजार ११० मत पाएर जित्दा भीष्मले ३२ हजार ६३ मत पाएका थिए । तर कांग्रेसले कतिपय मतपत्र समानुपातिकको बाकसमा पनि परेको भन्दै अन्तिम मतपरिणाम अस्वीकार गरेको थियो । एमालेले भने मुख्य निर्वाचन अधिकृतले प्रमाणपत्र दिन आलटाल गरेर षड्यन्त्र गरेको भन्दै असन्तुष्टि जनाएको छ ।

यसैबीच निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले समानुपातिकको पनि गणना सकेपछि एकैपटक घोषणा गर्ने तयारी भइरहेको बताएका छन् । नेपाल प्रेससँग कुरा गर्दै थपलियाले त्यहाँ दलहरुबीचकै सहमति अनुसार अर्को मतपेटिकामा परेका मतपत्र पनि प्रतिनिधि सभाका रहेछन् भन्ने गन्ने भनिएकाले प्रमाणपत्र नदिइएको बताए । यद्यपी मतपरिणाम भने यथावत नै रहेको उनको भनाइ छ ।

यस्तै विषय धनुषा २ मा पनि उठेको थियो । एक सय ५० भन्दा कम मतले पराजित एमालेका उमाशंकर अरगरियाले प्रतिनिधिसभाको एउटा मतपेटिका नै प्रदेशमा भेटिएपछि मतगणना माग गर्दा आयोगले गन्न मानेको छैन ।

थपलियाले भने- पाँचथरको हकमा दलहरुले पहिले नै सहमति गरेका रहेछन्,अर्कोमा भेटियो भने त्यो मतपत्र गन्ने भनेर । तर धनुषाको हकमा प्रतिनिधि सभाको मतपत्र अन्यमा परेको रहेछ भने बदर गर्ने भनेर सहमति गरेको हुनाले घोषणा भएछ । यो विषय कानुन भन्दा पनि सहमतिको पनि कुरा हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर