माओवादीको ओरालो यात्रा : ‘भोट ट्रान्सफर’ नहुँदा १७ सीटमै खुम्चियो, उपत्यका र सुदूरपश्चिममा शून्य – Nepal Press

माओवादीको ओरालो यात्रा : ‘भोट ट्रान्सफर’ नहुँदा १७ सीटमै खुम्चियो, उपत्यका र सुदूरपश्चिममा शून्य

काठमाडौं । सत्ता गठबन्धनभित्रका दलहरूबीच भोट ट्रान्सफर नहुँदा माओवादी केन्द्रलाई धक्का लागेको छ। ०७४ सालको निर्वाचनमा एमालेसँगको गठबन्धनबाट प्रत्यक्षमै ३६ सीट जितेको माओवादी अहिले १७ सीटमै सीमित बन्न पुगेको हो।

अहिले कांग्रेस नेतृत्वको सत्ता गठबन्धनबाट चुनावमा होमिएको माओवादीलाई गठबन्धन फलिफाप नभएको हो। प्रतिनिधि सभाको १६५ सीटमध्ये माओवादीले ४६ सीटमा मात्रै उम्मेदवारी दिएको थियो।

दश वर्षे जनयुद्धपछि शान्ति प्रक्रिया आएको माओवादीले ०६४ को संविधानसभामा निर्वाचनमा प्रत्यक्षतर्फ ५० प्रतिशत सीट जितेर संसदीय राजनीतिमा उदाएको थियो। तर, ०६४ देखि ०७९ सम्म आइपुग्दा निरन्तर ओरालो यात्रामा छ।

संसदीय राजनीतिमा माओवादी निरन्तर तेस्रो शक्तिको रूपमा स्थापित भएर त्यसको प्रत्यक्ष लाभ लिइराखेको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई धक्का लागेको छ। गठबन्धनको बलमा कम्युनिष्ट घटकको पहिलो दल बनेर एमालेलाई दोस्रोमा झार्ने प्रचण्डको प्रयास विफल भएको छ।

गठबन्धनबाट आफूलाई निर्णायक शक्तिको रूपमा स्थापित गरेर प्रधानमन्त्रीको योजना बनाएका प्रचण्डलाई रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले चुनौती दिएको छ।

निर्वाचनबाट स्वतन्त्र पार्टीको उदयसँगै माओवादीले निर्णायक शक्ति बन्ने अवसर गुमाउने आकलन गर्न थालिएको छ। तर, माओवादीका शर्मा दिनानाथ शर्माले माओवादी नै निर्णायक शक्ति बन्ने दाबी गर्छन्।

उनी भन्छन्, ‘निर्वाचनमा हार र जितलाई स्वाभाविक रूपले लिनुपर्छ। कसैले अपेक्षित रूपमा बढी मत पनि ल्याएका छन्। निर्णय गर्ने न्यायाधीश जनता नै हुने भएकाले हामी सबैले जस्तो परिणाम आउँछ त्यसलाई स्वीकारेर जानुपर्छ।’

उनले निर्वाचनको सबै परिणाम आएपछि सरकारको समीकरणबारे टुंगो लाग्ने बताए। गठबन्धनमा भोट ट्रान्सफर नभएकै कारणले माओवादीले सोचेजस्तो मतपरिणाम ल्याउन नसकेको जिकिर गरे।

उनले भने, ‘वामपन्थीहरूलाई भोट दिन नचाहने कांग्रेसीहरूले पनि विकल्पमा घण्टीलाई रोजेका छन्। कतिपयले पार्टीभित्र नेतृत्वसँगको असन्तुष्टि र आफूले टिकट नपाएको कारणले विकल्पको रूपमा घण्टीलाई भोट हालेका छन्। त्यस विषयमा गठबन्धनमा गम्भीर समीक्षा गर्न आवश्यक छ।’

विचार, सिद्धान्त, नीति र राष्ट्रको लागि भन्दा पनि आक्रोश र असहमतिको रूपमा स्वतन्त्र पार्टीको उदय भएको उनको बुझाइ छ।

नेताहरूको असन्तुष्टि

त्यसो त गठबन्धनबाट आफूहरूले सन्तोषजनक परिणाम पाउन नसकेको प्रचण्डले सार्वजनिक रूपमा अभिव्यक्त गरिसकेका छन्।

शुक्रवार गोरखा पुगेका प्रचण्डको भनेका थिए, ‘हामीले सोचेजस्तो परिणाम भएन भन्ने पनि छ। नसोचेका केही कुरा भए। त्यसैले गठबन्धनको बैठक तुरुन्त बस्नुपर्ने भएको छ। अपेक्षा गरेको जस्तो भएन । गठबन्धन दलहरूले जरुरी गृहकार्य गर्नुपर्ने भएको छ ।’

प्रचण्डले मात्रै नभएर वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, पोलिटब्यूरो सदस्य रामप्रसाद सापकोटा ‘दीपशिखा’सहित केही नेताहरूले गठबन्धनप्रति चर्को असन्तुष्टि व्यक्ति गरिसकेका छन्।

गठबन्धन दलको मुख्य घटक कांग्रेसले माओवादी र नेकपा एकीकृत समाजवादीलाई भोट हाल्नुको सट्टा स्वतन्त्र पार्टी ९घण्टी०मा भोट हालेको माओवादी नेताहरूको आरोप छ।

सबै प्रदेशमा खुम्चियो, सुदूरपश्चिमा शून्य

निर्वाचन परिणामले हच्किएको माओवादी सबै प्रदेशमा खुम्चिएको छ। ०७४ मा ६ सिट जितेको माओवादी अहिले ३ सीटमा सीमित रह्यो। प्रदेश १ बाट मोरङ ४ मा अमन लाल मोदी, खोटाङमा रामकुमार राई, भोजपुर १ मा सुदन किराँतीले मात्रै जित निकाल्न सफल भए।

मधेश प्रदेशमा पनि माओवादी निकै खस्किएको छ। ०७४ को निर्वाचनमा पाँच सीट जितेको माओवादीले अहिले एक सीटमा चित्त बुझाएको छ। सर्लाही २ बाट महिन्द्र राय यादवले जित निकालेर माओवादीको अस्तित्व जोगाए। उनी नेपाल समाजवादी पार्टीका नेता भएपनि माओवादीको चुनाव चिन्हबाट लडेका थिए।

यस्तै, गठबन्धनले सघाएको सघाएको माओवादीका पूर्व नेता प्रभु शाहले पनि रौतहट ३ बाट जित निकाले। एमालेबाट अलग भएका नेता शाहलाई माओवादी आफ्नो कोटाबाट उम्मेदवार बनाएको थियो। स्वतन्त्र उठेर जितेका शाह माओवादीमा फर्किने नफर्किने निश्चित छैन।

यसअघि ७ सीट जितेको बागमती प्रदेशमा माओवादी अहिले ४ सीटमा सीमित बन्न पुगेको छ। माओवादीले सिन्धुपाल्चोक १ बाट माधव सापकोटा सुबोध, नुवाकोट १ मा हितबहादुर तामाङ, सिन्धुली २ मा लेखनाथ दाहाल र काभ्रे १ मा सूर्यमान दोङले मात्रै जिते।

तर, काठमाडौं उपत्यकामा कुनै सीट जित्न सकेन। पम्फा भुसाल, ओनसरी घर्ती, मानुषी यमी जस्ता प्रभावशाली नेतृ अघि सारेको माओवादीले कुनै एक सीटमा जित निकाल्न सकेन।

त्यसो त यसअघि ३ सीट जितेको माओवादीले गण्डकीमा दुई सीट मात्रै जितेको छ। गोरखा २ बाट प्रचण्ड र बागलुङ २ बाट देवेन्द्र पौडेल मात्रै जित्न सफल भए।

यस्तै, लुम्बिनी प्रदेशमा ०७४ मा ७ सीट जितेको माओवादी ३ सीटमा खुम्चिएको छ। माओवादीको तर्फबाट दाङ २ मा रेखा शर्मा, रुकुम पूर्वमा पूर्णबहादुर घर्ती मगर र रोल्पामा वर्षमान पुनले जित निकाले।

कर्णाली प्रदेशमा यसअघि ५ सीट जितेको माओवादीले अहिले ४ सीट जितेको छ। जाजरकोटबाट शक्ति बस्नेत, रुकुम पश्चिमबाट जनार्दन शर्मा, कालिकोटबाट महेन्द्रबहादुर शाही र हुम्लाबाट छिरिङ डम्डुल लामाले जिते।

यस्तै, यसअघि ३ सीट जितेको सुदूरपश्चिममा माओवादी आफ्नो अस्तित्व जोगाउन नसकेर शून्यमै सीमित रह्यो।

पाँच पदाधिकारी जिते, पाँचले हारे

चुनावी प्रतिस्पर्धामा उत्रिएका माओवादीका १० पदाधिकारीमध्ये ५ जनाले मात्रै जित निकाल्न सफल भए। गोरखा २ बाट अध्यक्ष प्रचण्ड, उपमहासचिवहरू रोल्पाबाट पुन, रुकुम पश्चिमबाट शर्मा, जाजरकोटबाट शक्तिबहादुर बस्नेत र बागलुङ २ बाट देवेन्द्र पौडेल विजयी भएका छन्।

यस्तै, माओवादीका महासचिव देव गुरुङसहित पाँच पदाधिकारीले हार व्यहोरे। लमजुङबाट महासचिव गुरुङसहित उपमहासचिवत्रय मातृका यादव धनुषा १ बाट, गिरिराजमणि पोखरेल महोत्तरी १ बाट, पम्फा भुसाल ललितपुर ३ बाट पराजित भए।

यस्तै, कपिलवस्तु १ बाट सचिव चक्रपाणि खनालले पनि पराजय भोगे।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर