चुनाव जितेको ७२ घण्टा नबित्दै सुनिल शर्माले सुरू गरे नि:शुल्क उपचारका लागि ५० शय्याको क्याबिन – Nepal Press

चुनाव जितेको ७२ घण्टा नबित्दै सुनिल शर्माले सुरू गरे नि:शुल्क उपचारका लागि ५० शय्याको क्याबिन

मोरङ । मोरङ ३ मा मतदातामाझ गरेको वाचा पूरा गर्दै नेपाली कांग्रेसका डा. सुनिल शर्मा जितलगत्तै एक्सनमा उत्रिएका छन् । निर्वाचनमा आफूले गरेकाे प्रतिवद्धताअनुसार उनले नोबेल शिक्षण अस्पताल विराटनगरमा निःशुल्क क्याबिन सेवाको उद्घाटन गरेका हुन् ।

चुनावमा मतदातासँग भोट माग्ने क्रममा उनले निर्वाचनमा विजयी भएको प्रमाणपत्र पाएको ७२ घण्टाभित्र ५० शय्या क्याबिन निःशुल्क सञ्चालन गर्ने घोषणा गरेका थिए ।

शनिवार मोरङ ३ को निर्वाचन अधिकृतको कार्यालयबाट प्रमाणपत्र पाएका शर्माले आइतबार नोबेल अस्पतालभित्र क्याबिन निःशुल्क सेवाको शुभारम्भ गरेका हुन् ।

उनले भने, ‘हिजो सिफारिस चाहिन्थ्यो, राजनीतिक रूपमा सम्पर्क नभएकाहरूले सेवा लिन सक्नुहुन्नथियो । अब मोरङ ३ का बिरामीले मतदाता परिचयपत्र देखाएर नै यो सेवा पाउनेछन् ।’

सेवा शुभारम्भ गर्दै शर्माले निर्वाचनमा जनतासामु गरेका हरेक बाचा पूरा गर्ने गरी काम सुरु भएको बताए ।

शर्माले मोरङ ३ बाट पूर्वमन्त्री भानुभक्त ढकाललाई २२ हजार ५५६ को फराकिलो मतान्तरले हराएका थिए । उनी ४८ हजार ६३१ मत प्राप्त गरी विजयी हुँदा निकटतम ढकालले २५ हजार ८९५ मत प्राप्त गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर