समानुपातिक मतगणना : जसपाले थ्रेसहोल्ड कटाउने ‘निश्चित’, नेकपा एस र जनमतलाई धौधौ – Nepal Press

समानुपातिक मतगणना : जसपाले थ्रेसहोल्ड कटाउने ‘निश्चित’, नेकपा एस र जनमतलाई धौधौ

काठमाडौं । यसपालिको आमनिर्वाचनमार्फत राष्ट्रिय पार्टीको संख्या बढ्ने निश्चित भएको छ । यसअघि ५ वटा दल राष्ट्रिय पार्टीको रुपमा कायम रहेकोमा यसपालि कम्तिमा ६ वटा पुग्ने भएको छ ।

२०७४ सालको चुनावमा समानुपातिकको थ्रेसहोल्ड कटाएर प्रमुख तीन दलसहित राष्ट्रिय जनता पार्टी (राजपा) र संघीय समाजवादी फोरमले राष्ट्रिय पार्टीको हैसियत कायम गरेका थिए । यसपालिको चुनावमा समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुग्दा पाँच दलले थ्रेस होल्ड कटाइसकेका छन् । थप दुई दल थ्रेसहोल्ड कटाउने बाटोमा देखिन्छन् ।

प्रत्यक्ष निर्वाचनमा धक्का खाएको जनता समाजवादी पार्टी समानुपातिकतर्फ थ्रेस होल्ड कटाएर राष्ट्रिय पार्टीको हैसियत कायम गर्ने निश्चित छ । यो समाचार लेख्दासम्म जसपाले १ लाख ९२ हजार ४२३ मत प्राप्त गरिसकेको छ । समानुपातिकको थ्रेसहोल्ड पार गर्न चुनावमा खसेको मतमध्ये सदर मतको तीन प्रतिशत ल्याउनुपर्ने हुन्छ ।

निर्वाचन आयोगले यसपालि चुनावमा एक करोड ९ लाख मत खसेको जानकारी दिएको थियो । त्यसमा सदर मत एक करोड भयो भने थ्रेसहोल्डका लागि ३ लाख २० हजारभन्दा बढी मत चाहिन्छ । अझै झण्डै करिब २५ लाख मतको गणना बाँकी रहेको अवस्थामा जसपाले राष्ट्रिय पार्टीको हैसियत सुनिश्चित गर्न लागेको हो । जसपाले अहिलेसम्मको गणनामा २ लाख ९२ हजार ४२३ मत ल्याएको छ ।

प्रत्यक्षतर्फ जसपाले अहिलेसम्म ६ सीटमात्रै जित्न सफल भएको छ । पार्टीका अध्यक्ष उपेन्द्र यादव स्वयम् भारी मतान्तरका साथ पराजित भए । यद्यपि, समानुपातिकतर्फ थ्रेसहोल्ड कटाएर राष्ट्रिय पार्टीको हैसियत कायम गर्नु उसका लागि सान्त्वनाको विषय हुनेछ ।

जसपासँग फुटेर बनेको पार्टी लोसपाले भने समानुपातिकको थ्रेसहोल्ड कटाउने देखिँदैन । प्रत्यक्षमा ४ सीट जितेको लोसपाले समानुपातिकतर्फ अहिलेसम्म १ लाख २१ हजार मत पाएको छ । जुन ३ प्रतिशतभन्दा न्यून हो । २०७४ सालको निर्वाचनमा राजपा रहेको यस दलले राष्ट्रिय पार्टीको मान्यता पाएको थियो ।

यता, नेकपा एमालेबाट फुटेर बनेको नेकपा एकीकृत समाजवादीको पनि समानुपातिकतर्फ थ्रेसहोल्ड कटाउने संघर्ष जारी छ । सो पार्टीले अहिलेसम्म ल्याएको मत अनुपातले ३ प्रतिशत कट्ने देखिएको छैन । पछिल्लो मत परिणाममा नेकपा एसले २ लाख २८ हजार ७०२ मत ल्याएको छ, जुन कुल गनिएको मतको २.६५ प्रतिशत हो ।

अब गन्न बाँकी करिब २५ लाख मतबाट नेकपा एसले १ लाख मत पायो भनेमात्रै थ्रेसहोल्ड कटाउन सक्नेछ । त्यसका निम्ति उसले अब आफ्नो मत अनुपात उल्लेख्य बढाउनुपर्छ ।

त्यसो त मतगणना सुरु हुँदादेखि अहिलेसम्म नेकपा एसले आफ्नो मत अनुपात बढाइरहेको छ । यसबाट झस्किएर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समानुपातिकको मतमा यताउता हुन सक्ने भन्दै चनाखो रहन पार्टी पंक्तिलाई निर्देशन दिएका थिए ।

समानुपातिकको पछिल्लो मत परिणाममा नेकपा एमाले सबैभन्दा अगाडि छ । उसले करिब १ लाख मतान्तरले कांग्रेसलाई उछिनिरहेको छ । तेस्रो स्थानमा नेकपा माओवादी र राष्ट्रिय स्वतन्त्र पार्टी संघर्षमा छन् । पछिल्लो परिणाममा रास्वपाभन्दा माओवादी केही मतले अगाडि छ ।

यीबाहेक राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि थ्रेसहोल्ड पार गरेर राष्ट्रिय पार्टीको हैसियत सुनिश्चित गरिसकेको छ ।

सीके राउतको जनमत पार्टी पनि थ्रेस होल्ड कटाउने संघर्षमा छ । समानुपातिकको पछिल्लो मत परिणाममा जनमतले नेकपा एसभन्दा बढी मत ल्याएको छ । नेकपा एसले २ लाख २८ हजार ७०२ मत ल्याउँदा जनमतले २ लाख २९ हजार ३११ मत ल्याउँदै समानुपातिकको सातौं स्थानमा उक्लिएको छ । यो पार्टीले पनि थ्रेस होल्ड कटाउन सहज देखिँदैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर