युवा जोशमा ब्युँतिएकाे स्पेनकाे टिकि टाका ‘आतङ्क’ – Nepal Press

युवा जोशमा ब्युँतिएकाे स्पेनकाे टिकि टाका ‘आतङ्क’

दोहा । ८२ प्रतिशत समय बल नियन्त्रण अनि एक हजार ३ वटा पास। स्पेनिस फुटबलले कतार विश्वकपको आफ्नो पहिलो खेलमा कोस्टारिकाविरुद्ध खेल्दा विश्व फुटबलले सन् २००८ देखि २०१२ सम्मको स्पेनिस दबदबा स्मरण गर्‍याे।

बल नियन्त्रण र पास मात्र उल्लेख्य विषय थिएन, त्योभन्दा बढी महत्वपुर्ण स्पेनले गरेको गोल संख्या रह्याे। गोलको वर्षा भएको खेलमा कोस्टारिका ७–० गोलले पराजित भयो। विश्वकपमा स्पेनले यसअघि यति फराकिलो जित हात पारेको थिएन। कोस्टारिका र स्पेनबीचको यो खेलमा कुनैपनि खेलाडीले रातो कार्ड पाएका थिएनन् । एक गाेल मात्र पेनाल्टीमार्फत भएको थियो।

सन् २००८ देखि २०१२ सम्मको विश्व फुटबलमा छोटो पास खेल्दै बल नियन्त्रणमा राख्ने टिकीटाका शैलीले स्पेन लगातार विजेता बनेको थियो। सन् २००८ र २०१२ मा युरोकप र २०१० म विश्वकप उपाधि स्पेनका कीर्तिमानी सफलता थिए। त्यसअघि लगातार युरोकपको उपाधि रक्षा र विश्वकप जितेको इतिहास थिएन। स्पेन युरोपबाहिर आयोजित विश्वकप जित्ने पहिलो युरोपेली टोली पनि बनेको थियो।

त्यो शैलीले स्पेनले निरन्तरता दिइरह्यो। तर त्यसको प्रभाव विस्तारै घट्दै पनि गयो। लामो समय एउटै टिममा विताएको स्पेनिस पुस्ता छुटिँदै गए। अहिले त्यो पुस्ताका सर्जियो बुस्केट्स मात्र स्पेनिस टोलीमा छन्। अधिकांश युवा खेलाडीको प्रभाव टोलीमा छ। स्पेनिस टोलीका अधिकांश खेलाडीले पहिलोपटक विश्वकप खेल्दैछन्। तर यही टोलीले टिकीटाकाको एक छत्र समय स्मरण गराउँदै शानदार सुरुवात गरेको छ। कोस्टारिकाविरुद्ध ६ जना खेलाडीले गोल गरेका थिए।

गोल गर्ने डानी ओल्मो, गाभी, फेरान टोरेस, कार्लोस सोलर पहिलोपटक विश्वकप खेलिरहेका हुन्। यसको मतलब स्पेनको युुवा पुस्ता टिका टाकामा फिट भइसकेको छ। यही टोली गत वर्ष आयोजना भएको युरोकपमा सेमिफाइनलसम्म पुगेको थियो। स्पेनले अब समूहको दोस्रो खेलमा आइतबार चारपटकको विजेता जर्मनीसँग खेल्दै छ। स्पेनिस टोली र टिकीटाकामा फिट भएको युवा पुस्ताको वास्तविक परिक्षण जर्मनीसँग हुने छ।

जर्मनी पहिलो खेलमा जापानसँग पराजित भएपछि दबाबमा रहेको छ। स्पेनले जित हात पारेको अवस्थामा जर्मनीको यात्रा समाप्त हुन सक्छ। स्पेन त्यही टोली हो जसले सन् २०१९ मा जर्मनीलाई ६–० गोलले हराएको थियो। जर्मनीले सन् १९३१ पछि यति फराकिलो हार ब्यहोरेको थियो। युवा जोशसहित स्पेन जर्मनीविरुद्धको पछिल्लो कीर्तिमानी सफलता दोहोर्‍याउने  प्रयाशमा हुने छ।

स्पेनले पछिल्ला १२ खेलमा ९ जित, दुई बराबरी र एक हारको नतिजा निकालेको छ। जर्मनीको लय खराब छ। उसले पछिल्ला ९ खेलमा दुई जित, ५ बराबरी र २ हार ब्यहोरेको छ। जर्मनी यसअघि लगातार दुईपटक पहिलो चरणबाट बाहिरिएको इतिहास छैन। सन् १९३८ पछि पहिलोपटक गत संस्करणमा मात्र पहिलो चरणमा सिमित भएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *