विरोध खतिवडा : ‘सूर्य’को साथ रहुन्जेल जिते, ‘कलम’ समाएपछि हारे – Nepal Press

विरोध खतिवडा : ‘सूर्य’को साथ रहुन्जेल जिते, ‘कलम’ समाएपछि हारे

हेटौँडा । नेपालीको संसदीय राजनीतिमा बिरोध खतिवडा निकै चर्चामा आइरहने नाम हुन् । खतिवडाले बोल्दा प्रतिनिधिसभामा चर्चा मात्र हुँदैनथ्यो, राष्ट्रिय मिडियाले पनि महत्वको साथमा स्थान दिने गर्दथे । उनको चर्चाको कारण अर्को पनि थियो ।

एमालेले जति पटक टिकट थियो उनले त्यतिपटक जितेर देखाईदिएका थिए । अर्थात जतिञ्जेल उनको साथमा चुनाव चिन्ह ‘सूर्य’को साथ रह्यो त्यतिन्जेल उनले हारको सामना गर्नु परेन ।

बहुदल स्थापनापछि नेपालमा भएको पहिलो आम निर्वाचन–२०४८ सालमा उनले एमालेबाट पहिलो पटक प्रतिनिधिसभा सदस्यको चुनाव जिते । मकवानपुरबाट चुनाव जितेर काठमाडौँ पुगेका उनलाई त्यसयताको तीनवटा निर्वाचनमा एमालेले विश्वास गर्यो । २०४८ पछि २०५१ र २०५६ मा भएको निर्वाचन पनि उनले टिकट पाए र जितेर देखाईदिए ।

त्यसपछि एमाले राजनीतिमा सक्रिय नभएको आरोप लागेको उनलाई २०६४ र २०७० को दुवै संविधानसभा सदस्यको निर्वाचनमा एमालेले टिकट दिएन । दुई पटक लगातार टिकट नपाएका खतिवडाले आफ्नो राजनीति सक्रियता बढाए र एमालेको केन्द्रीय सदस्य बने ।

संविधान जारी भएको दुईवर्षपछि भएपछि २०७४ मा भने एमालेले पुनः खतिवडालाई मकवानपुर-२ बाट टिकट दियो । बाम गठवन्धनबाट चुनाव लडेका उनले कांग्रेसकी नेतृ महालक्ष्मी उपाध्यय ‘डिना’लाई फराकिलो अन्तरले पराजित गर्दै चौथो पटक सांसद बने ।

तर २०७४ पछि नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपमा भएको विवाद, गुटवन्दीसँगै सर्वोच्च अदालतले ओली र प्रचण्ड नेतृत्वको नेकपालाई वैधानिकता नभएको ठहर गरेसँगै पुनः पुरानै अवस्थामा फर्किएको एमालेमा उनी माधवकुमार नेपालतिर लागे ।

नेकपा विभाजनमा माधवकुमार नेपाललाई साथ दिएकोमा उनलाई नेपाल नेतृत्वको नेकपा एकिकृत समाजवादीले स्थायी कमिटि सदस्य बनाउनुको साथै संघीय मन्त्रीसमेत बनाईदियो ।

एमालेबाट चार पटक विजयी हुँदासमेत मन्त्री हुन नसकेको उनलाई मन्त्री बन्न मात्र समाजवादीमा लागेको आरोप उनको गृहजिल्ला मकवानपुरमा लाग्यो । समाजवादी भएसँगै खतिवडा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सबैभन्दा धेरै गाली गर्ने पात्र बने । मन्त्री बनेसँगै उनलाई कोरोना खोप घोटला लगायतको आरोप पनि लाग्यो ।

सर्वोच्च अदालतको परमादेशबाट निर्माण भएको सरकारले आम निर्वाचन घोषणा गर्यो र सत्ता गठवन्धनको घटकहरु मिलेर निर्वाचनमा जाने निर्णय पनि गर्यो । फलस्वरुप मकवानपुरमा जनाधारनै नभएको समाजवादीको भागमा मकवानपुर-२ पर्न गयो ।

नेकपा एमालेको तर्फबाट सोहि क्षेत्रमा पटक-पटक विजयी भएका खतिवडालाई नेपाली कांग्रेस र माओवादी केन्द्रको सहयोगले यो पटक पनि जित्छु भन्ने पुरापुर ‘कन्फिडेन्ट’ थियो । स्थानीय तहको मत विश्लेषणमा पनि २० हजार धेरै मत गठवन्धनको पक्षमा धेरै थियो ।

तर चार पटक ‘सूर्य’ लिएर चुनाव लडेको उनको साथमा यो पटक ‘कलम’ थियो । ‘सूर्य’ भने उनको प्रतिस्पर्धी तथा उनकै राजनीतिक चेला एमालेका महेश बर्तौलाको साथमा थियो ।

सहज जितको अनुमानको साथमा मैदानमा ओर्लिएका खतिवडाले यो पटक नमिठो हार बेहोर्नुपर्यो । अर्थात जबसम्म खतिवडाको साथमा ‘सुर्य’ थियो तबसम्म उनले जिते, जब उनले ‘कलम’ समाए तब हारे ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर