किटियाको नक्कली फोटोबारे चुङ्बा भन्छन्- ‘यो अपराध हो, हाम्रो मिहेनतमाथि हिलो छ्याप्नु हो’ (भिडिओ) – Nepal Press

किटियाको नक्कली फोटोबारे चुङ्बा भन्छन्- ‘यो अपराध हो, हाम्रो मिहेनतमाथि हिलो छ्याप्नु हो’ (भिडिओ)

काठमाडौं । केही समयअघि अमेरिकी युवती किटिया पावलोस्कीले नेपालको सगरमाथा क्षेत्रमा ५४ सय मिटरमाथि पुगेर खिचिएको भनिएको हिउँ चितुवाको फोटो नक्कली भएको प्रमाणित भएको छ । प्रतिष्ठित अल्पाइन इन्टरनेशनल म्यागजिनले फ्याक्ट चेक गर्दा किटियाको फोटो नक्कली निस्किएको हो ।

रिपोर्टमा हिउँ चितुवा विशेषज्ञ भिसेन्स मुनियरले भनेका छन्, ‘मान्छे र हेलिकोप्टरको निरन्तर आगमन भइरहने ठाउँमा हिउँ चितुवा देखिनु असम्भव प्राय हुन्छ । अर्कातिर यो प्राणी हिमाली भेगमै बस्ने भए पनि ठ्याक्कै हिउँमै जान भने रुचाउँदैन । बरु ढुङ्गाहरू भएको पाखोमा बस्न रुचाउँछ ।’ भिन्सेन्सले यो लजालु प्राणीको फोटो खिच्नै मुस्किल पर्ने पनि बताएका छन् । किटियाले ढुंगामा बसेर चितुवाले सास फेर्दा वाफ पनि निस्किएको देखाइनु ठूलो झुट भएको बताएका छन् ।

तर, पावलोस्कीले गएको असोज २२ गते खिचिएको भनिएको चितुवाको फोटो सामाजिक सञ्जालमा पोस्ट गरेपछि एकाएक भाइरल बनिन् । अगणित प्रशंसा बटुलिन् । अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आईयुसीएन)ले अति दुर्लभ जीवको सूचिमा राखेको नेपाल लगायत १२ मुलुकमा मात्रै पाइने हिउँ चितुवाको तस्बिर खिच्नु दुर्लभ संयोग थियो नै । त्यसमा नेपालमै आएर उक्त फोटो खिचेको बताइँदा उनलाई प्रशंसाको लर्को लाग्यो । नेपालका ठूला मिडियामा उनीबारे प्रशस्त सामाग्री छापिए ।

चुङ्बाले खिचेको त्यो तस्बिर : १६ दिनको यात्रापछि क्यामरामा कैद गरेका थिए हिउँ चितुवा

तर, उनको झुटको फसल दुई महिना पनि राम्रोसँग टिकेन । यसबारे दुई वर्षअघि नै अन्नपूर्ण संरक्षण क्षेत्र मनाङ पुगेर १६ दिनको मिसन बनाएर, जंगलमै टेन्ट लगाएर ४६ सय मिटरमाथि हिउँ चितुवाको फोटो खिचेका सोलुका वाइल्डलाइफ फोटोग्राफर चुङ्बा शेर्पा किटियाले फोटोग्राफीको नाममा अपराध गरेको बताउँछन् । उनी भन्छन्, ‘यो सरसर अपराध हो । दुःख गरेर हिमालमा पुगेर, ज्यानलाई जोखिममा राखेर वाइल्डलाइफ फोटोग्राफी गर्ने फोटोग्राफरहरूको मिहेनतमाथि हिलो छ्यापिदिने भयो भयो ।’

अल्पाइन म्यागजिनले ‘फेक’ भनेपछि किटियाको सर्वत्र आलोचना भइरहेको छ । चुङ्बालाई पनि विदेशी फोटोग्राफरहरूबाट सयौँ म्यासेज आइरहेका छन् । तर, किटियाको फोटोबारे पहिल्यै शंका लागे पनि ‘अटेन्सन सिक गर्न यसो ग¥यो’ भन्ने आरोप लगाउलान् कि भनेर केही नबोलेको बताउँछन् चुङ्बा ।

उनी किटियाको उक्त फोटोबारे भन्छन्, ‘हामी ठूलो लेन्स चलाउनेहरूलाई थाहा हुन्छ । किटियाको फोटोमा चितुवा बसेको पहाड र पछाडिको ब्यागग्राउण्ड सानो लेन्सले खिचेको हो । ठूलो लेन्सले खिच्दा पछाडिको ब्याकग्राण्ड ब्लर हुन्छ । तर, उक्त फोटो यति क्लियर छ कि ठूलो लेन्सबाट त्यो सम्भव नै छैन । लेन्सको फ्रेममा त्यति ठूलो पहाड त्यति स्पष्टसँग आउनै सक्दैन । फोटोमा चितुवाको खुट्टा र त्यति ठूलो स्पेस प्रष्ट देखाइएको छ, जो सम्भव कुरै होइन ।’

‘घोस्ट अफ हिमालय’ नामले परिचित हिउँ चितुवा लजालु स्वभावका हुन्छन् । मान्छेले देख्नलाई पनि निकै कष्ट गर्नुपर्ने हुन्छ । झनै उसको रङ हिउँकैजस्तो हुने भएकाले लरतर देखिँदैन । तथापि हिउँ चितुवाले भने मान्छेलाई देखिरहेको हुने चुङ्बा बताउँछन् ।

चुङ्बा भन्छन्, ‘त्यसो गर्दा अन्ततः आफूलाई नै गाह्रो हुने हो । झुट त एक न एक दिन पक्रिइहाल्छ । तर, उहाँहरूले त्यस्तो हरकत गरिदिँदा दुःख चाहिँ लाग्छ । तर, विदेशीले चाहिँ जे गरे पनि महान् काम ठानेर स्वीकार गर्ने नेपालीहरूको बानी सबै पेशा र क्षेत्रमा छ । यो त एक उदाहरण मात्रै हो ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर